अस्पतालहरुमा ननकोभिड र पोष्ट कोभिडका बिरामीको चाप बढ्दो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा बैशाख दोस्रो र तेस्रो साता संक्रमण उच्च भयो । त्यो समय नेपालका लागि निकै कष्टकर बन्यो, नयाँ भेरियन्ट डेल्टाका कारण संक्रमण तिव्र गतिमा फैंलदा देशभर बेड र अक्सिजनको हाहाकार मच्चियो ।
झण्डै एक हप्तासम्म अक्सिजनको चरम अभाव हुन पुग्यो भने बेड नपाउँदा एम्बुलेन्समै कतिको मृत्यु भयो । स्रोत र साधनले धान्नै नसक्नेगरी संक्रमण बढेपछि सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा परिणत गर्यो ।
तर २ सातायता संक्रमण घट्दै गएको छ । परीक्षण गरिएकामध्ये ५१ प्रतिशत भन्दा बढी पुगेको संक्रमणदर अहिले घटेर १७ प्रतिशतमा झरेको छ । अस्पतालहरुमा अहिले ननकोभिड र पोष्ट कोभिडका बिरामीको भीड देखिन थालेको छ । उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएपछि ननकोभिडका बिरामीहरु अस्पताल आउन थालेका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा ३/४ दिनयता ओपीडीमा आउने नयाँ बिरामीको संख्या बढ्न थालेको छ । अस्पतालका निर्देशक डा.रवि शाक्यका अनुसार निषेधाज्ञा खुकुलो भएसँगै ओपीडीमा बिरामीको सख्या दैनिक ५ सय पुगेको छ ।
सामान्य दिनमा ओपीडीमा १५ सय देखि २ हजार बिरामी आउने गरेको यस अस्पतालमा निषेधाज्ञा र कोरोना संक्रमित बढेपछि दिनको डेढ/दुई सय जत्ति बिरामी मात्रै पुग्थे तर अहिले ननकोभिडका बिरामी बढ्दै गएको शाक्यले जानकारी दिनुभयो । निषेधाज्ञा पुरै नखुलेका कारण अझै उपत्यकाबाहिरका बिरामीहरु अस्पताल आउन सकेका छैनन्, अहिले अधिकांस बिरामी उपत्यकाभित्रकै रहेको र ननकोभिडका ३०० जना बिरामी अस्पतालमा भर्ना रहेको शाक्यले बताउनुभयो ।
संक्रमण उच्च बिन्दुमा पुगेका बेला २०० भन्दाबढी संक्रमितको उपचार भएको सो अस्पतालमा अहिले सय जना कोभिडका बिरामी उपचारत छन् जसमध्ये १९ जना आइसियु, र एचडियुमा २२ जनाको उपचार भइरहेको छ ।
यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको ओपीडीमा पनि बिरामीहरुको भीड देख्न सकिन्छ । यसअघि बनाइएका कोभिड वार्डलाई ननकोभिड वार्डमा रुपान्तरण गरिएको छ । थेग्नै नसक्ने गरि संक्रमित बढेपछि वार्ड बाहिरै उपचार गर्न बाध्य भएको शिक्षण अस्पतालमा अहिले कोभिडका १२० जना बिरामी छन् । संक्रमण उच्च बिन्दुमा पुग्दा उक्त अस्पतालमा ३०० भन्दा बढी संक्रमितको उपचार हुने गरेको थियो ।
कोभिड बिरामीको व्यवस्थापनमा खटिनुभएका आइओएमका सहप्राध्यापक एवं छातीरोग विशेषज्ञ डा.निरज बमका अनुसार त्रिवि शिक्षण अस्पतालको ओपीडीमा पोष्ट कोभिड बिरामीको संख्या बढेका छ । उहाँले कोरोना निको भएपछि स्वास्थ्यमा विभिन्न समस्या देखिएर ओपीडी र आकस्मिक सेवामा आउनेको संख्या बढेको जानकारी दिनुभयो ।
कोभिडको बिरामी घटेको छ,ननकोभिडका बिरामी बढिरहेका छन् । कोभिड पश्चात उपचार गरि घर फर्किएकाहरु जसले पहिला अक्सिजन थेरापी गर्नुपर्यो, निमोनिया पश्चात फोक्सोमा दाग देखिएका कतिपय बिरामीहरुमा फेरि भाइरस÷ब्याक्टेरिया संक्रमण भएर अस्पताल आइरहनुभएको छ । बमले भन्नुभयो, उहाँहरु अवसरवादी संक्रमणको शिकारमा पर्नुभएको छ ।
उहाँले ओपीडीमा कोरोना निको भएपछि रिंगटा लाग्ने, बान्ता आउने, निन्द्रा नलाग्ने, टाउको दुख्ने,शरीर दुख्ने पोल्ने, मुटु ढुकढुक हुने, घाँटी खसखस हुने, जोर्नीहरु दुख्ने, भोक नलाग्ने जस्ता समस्या देखिएका बिरामीहरु आइरहेको जानकारी दिनुभयो ।
साथै होम आइसोलेसनमा बसेर सामान्य औषधि खाइ कोरोना जितेकाहरु पनि अस्पतालको सबै सेवा सूचारु भएपछि आफु ढुक्क हुन छातीको एक्सरे गर्न तथा मनोवैज्ञानिक असर देखिएका बिरामीहरु ओपीडीमा परामर्शका लागि आउने क्रम बढेको उहाँले बताउनुभयो ।
पहिला १५/२० दिन अस्पताल भर्ना भई अक्सिजन थेरापी गरेका, आइसियुमा उपचार गरिएका बिरामीहरु भने श्वासप्रश्वासमा समस्या भई, अक्सिजनको लेभल घटेर अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने १०/१५ जना पोष्ट कोभिडका बिरामी भर्ना भएको जानकारी पनि बमले दिनुभयो ।
बन्द केही खुलेसँगै ननकोभिडका बिरामीहरुको भीड बढेको र अहिले कोभिडकोभन्दा ननकोभिडका बिरामीले बेडहरु भरिएका छन् । ‘अस्पतालको सबै सेवाहरु सञ्चालनमा आइसकेकाले अन्य बिरामीहरुको चाप बढेको हो’, बमले सुनाउनुभयो । तर दीर्घ रोगका बिरामीहरु भने कमै मात्र अस्पताल आइरहेको उहाँले बताउनुभयो ।
देशको एकमात्रै सरुवा रोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि २ हप्तादेखि कोभिडका बिरामीहरु घटेका छन् । यद्यपी अझैपनि ९० प्रतिशत बेडमा कोभिडका बिरामीहरु रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार धेरैजसो कोरोना परीक्षणनै नगरेका बिरामीहरु अस्पताल आउने गरेको र परीक्षणपश्चात पोजेटिभ देखिए भर्ना लिने र अन्यलाई अरु अस्पतालमा रिफर गर्ने गरिएको छ । सरकारले कोभिड डेडिकेटेड अस्पताल बनाएपछि हाल सो अस्पतालमा ननकोभिडका बिरामी नरहेको उहाँले बताउनुभयो । तर एचआइभी संक्रमित, हेपाटाइटिस, रेबिजका बिरामीहरु जसलाई अस्पताल भर्ना गर्न पर्दैन उनीहरुको उपचार भइरहेको उहाँले बताउनुभयो ।
गर्मी बढेसँगै पानीजन्य रोगका जस्तै (टाइफाइड, पखाला, छाला)को बिरामी बढ्ने भएकाले अर्को महिनादेखि ननकोभिडको उपचार पनि थाल्ने सोच अस्पतालको छ । हाल ६२ जना संक्रमितको उपचार भइरहेको छ जसमा १७ जना आइसियु र तीमध्ये १४ जना भेन्टिलेटरमा रहेका छन् ।
तपाईँको अभिमत