प्रयोगशाला सम्बद्ध पेसाकर्मीको पाँचौँ सम्मेलन राजधानीमा सुरु

प्रयोगशाला सम्बद्ध पेसाकर्मीहरूको पाँचौँ एनएसीसी सम्मेलन राजधानीमा सुरु भएको छ । आइबारसम्म चल्ने सम्मेलनको उद्घाटन शनिबार गरिएको हो ।
प्रत्येक वर्ष नेप्लिज एसोसिएसन फर क्लिनिकल केमिस्ट्री (एनएसीसी) को आयोजनामा हुँदै आइरहेको सम्मेलनले ल्याब क्षेत्रमा नयाँ प्रविधिबारे जानकारी लिने गरिएको छ । एनएसीसीका महासचिव डा. रामविनोद महतोका अनुसार सोहीअनुरूपमा यस वर्ष पनि सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलनमा पाँच मुलुकका विज्ञहरू सहभागी हुनुहुन्छ । नेपालसहित अमेरिका, भारत, बंगादेश र चीनका विज्ञ एवम् ल्याबसँग सम्बन्धित विद्यार्थी तथा सरोकारवाला सम्मेलनमा सहभागी हुनुभएको हो । पाँच मुलुकका गरी १५० जना सहभागी रहेको डा. महतोले जानकारी दिनुभयो ।
‘क्लिनिकल केमेस्ट्री : ट्रान्स्फर्मिङ प्यासन्ट केयर’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा १५ वटा मौखिक प्रस्तुति र ५० बढी पोस्टर प्रस्तुति रहेका छन् । शनिबार अमेरिकामा कार्यरत विज्ञहरूको प्रस्तुति रहनेछ भने आइतबार अन्य मुलुकका विज्ञहरूले प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
महासचिव डा. महतोका अनुसार सम्मेलनपछि एनएसीसीले नीतिगत सरोकारवालाई लिखित रूपमा सम्मेलनबाट प्राप्त हुने सुझावहरू प्रदान गर्नेछ ।
तपाईँको अभिमत