चाडबाडमा महिनावारी पर सार्ने औषधिको प्रयोग गर्ने धेरै, स्वास्थ्यलाई गर्छ हानी
हेटौडाकी ३४ वर्षीया कल्पना शिकारी १५ वर्षको उमेरमा पहिलोपटक महिनावारी भइन् । महिनावारी भएको १९ वर्षको बीचमा उनले ५ पटक महिनावारी पर सार्ने औषधि खाएकी छिन् ।
विशेषगरी उनले श्राद्ध, पुजा, दशैं, तिहारको समयमा महिनावारीलाई केही दिन धकेल्न औषधि खाएकी छिन् । उनले यसरी ११ दिनसम्म औषधि खानुपरेको उनी सुनाउँछिन् । २ वर्ष अगाडि घरमा जुठो बार्नु पर्ने भयो । त्यो बेला उनको नियमित महिनावारीको मिति पुगेको थियो । 'मैले त्यसबेला महिनावारीलाई रोक्न ११ दिनसम्म औषधि खाँए' कल्पना सुनाउँछिन, 'तर पछि बेस्सरी गार्हो भयो ।'
औषधि खाएपछि उनको महिनावारी केहीदिन पर त सर्यो तर पछि महिनावारी हुँदा निकै रगत बग्यो, पेट दुख्यो, ढाड दुख्यो । कल्पनालाई महिनावारीपछिकै समस्याले कल्पनालाई ५ दिनसम्म सुतायो ।
औषधि नखाई समयमै महिनावारी हुँदा उनलाई खासै समस्या हुँदैनथ्यो । औषधि आएपछि चक्करसमेत लागेर निकै कमजोरी बनाएको अनुभव कल्पनाले सुनाइन् । यही समस्या डाक्टरलाई सुनाउँदा डाक्टरले महिनावारी पर धकेल्ने औषधिको असर देखिएको भनेको कल्पना बताउँछिन् ।
त्यसपछि उनले त्यसरी महिनावारी पर सार्ने औषधि नखाने निर्णय गरिन् । यस्तो नर्गन अन्य महिलालाई पनि उनी सुझाव दिन्छिन् ।
काठमाडौं बुढानिलकण्ठस्थित साकिरा फार्मेसीमा २५ वर्षकी सीता भट्टचन भेटिइन् । उनी महिनावारी पर सार्ने औषधि लिन मेडिकल पुगेकी थिइन् । उनले ४ दिनका लागि औषधि लिएकी छिन् । उनको दशैंको नवमीको दिन महिना पुग्ने रहेछ । दशैंको समयमा महिनावारी भएर सबैबाट टाढा बस्नुपर्ने चिन्ताका कारण त्यसबाट बच्नका लागि सीता औषधि लिन आएकी हुन् । उनले यो समस्या ४ वर्षअघिको दशैंमा भोगिसकेकी छन् । त्यसैले उनी यसपटक अष्टमीको दिनदेखि टीकाको भोलिपल्टसम्म औषधि खाने तयारीमा छिन् ।
‘दशैंतिहारमा महिनावारी भएर टीका छेक्छ भन्ने पीर मलाई २ महिना अगाडिबाटै लाग्छ' सीता भन्छिन्, 'म असार लागेदेखिनै क्यालेण्डर हेर्छु । सधै एउटै मितिमा हुँदैन कहिले एक हप्ता अगाडि कहिले एक हप्ता पछाडि, कहिले ३/४ पछाडि हुन्छ ।'
४ वर्ष अगाडि सीताको समय भन्दा ४ दिन अगाडि नै महिनावारी भयो । दशैंमा मामाघर र अरु आफन्तकोमा जाने योजना गरेकी थिइन् । नवमीकै दिन महिनावारी भएपछि सीताको त्यो सालको दशैंको रमाइलो गयो । 'घरमा सबैजना रमाइलो गरिरहनुभएको थियो तर म भने छुट्टै कोठामा उहाँहरुबाट टाढा बस्नुपर्यो सीता सुनाउँछिन्, 'वर्षदिनमा आउने महान् चाडमा महिनावारी भयाे भने निकै नरमाइलाे लाग्छ, त्यही भएर यसपटक औषधि खान लागेकी ।’
उनले महिनावारी पर सार्ने औषधि खान लागेकाे यो पहिलो पटक हो । याे औषधि खाँदा स्वास्थ्यमा असर गर्छ भन्ने उनलाई थाहा छ तर छोइछिटोको पीरले औषधि खान बाध्य भएको उनी दुखेसो पोख्छिन् ।
दशैंको बेला महिनावारी हुने चिन्ता सम्झना भट्टराईलाई पनि लाग्छ । ललितपुर बस्ने ३७ वर्षकी सम्झना घरकी जेठी बुहारी हुन् । चाडवाडमा घरमा चाँजोपाजो मिलाउनुपर्ने जिम्मेवारी उनको काँधमा हुन्छ । यसले पनि उनलाई बढी पीर लाग्छ ।
महिनावारीले दशैं छेकिन्छ कि छेकिदैंन भन्ने कुरा सम्झनाले निकै ख्याल गर्छिन् ।
यसअघि २ वर्षको दशैंमा ७ दिनसम्म महिनावारी परसार्ने औषधि खाएको सम्झनाले सुनाइन् ।यसपटकको दशैंमा पनि औषधिको व्यवस्थापन गरिसकेको उनले जानकारी दिइन् ।
'२ वटा वर्ष जुठो परेकाले दशैं मनाइन, तेस्रो वर्षमा बल्ल टीका लगाउन पाइदैँछ । यसपाली ३ दिनका लागि औषधि खानुपर्छ, ।सम्झनाले लजाउँदै भनिन्, 'नियमित हुने प्रक्रियालाई पर सार्न यसपटक पनि बाध्य भएकी छु ।'
जात र समुदायअनुसार महिनावारी बार्ने चलन फरक-फरक छ । बार्नुपर्ने संस्कारले महिलाहरु नियमित प्रक्रृयालाई पर सार्न बाध्य हुन्छन्।
नियमित हुने महिनावारीको प्राकृतिक प्रक्रियालाई रोकेर औषधि खाँदा महिलाको स्वास्थ्यमा गम्भीर असरहरु देखिने जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती बताउनुहुन्छ । धेरै रगत बग्ने, पेट दुख्ने लगायतका समस्या देखिने उहाँको भनाइ छ ।
महिनावारी पर सार्नका लागि भनेर अहिलेसम्म कुनै औषधि नै नबनेको उप्रेती बताउनुहुन्छ ।अहिले महिनावारी पर सार्न भनेर खाइने गरेका सबै औषधि परिवारनियोजनका औषधि भएको उहाँको भनाइ छ ।
'महिलाहरुले महिनावारी पर सार्न जुन औषधि खाइरहनुभएको छ त्यो परिवार नियोजनका लागि प्रयोग हुने औषधि हो, नयाँ औषधि होइन ' उप्रेती भन्नहुन्छ, 'यो औषधि परिवार नियोजन र कुनै विशेष परिस्थितमा मात्रै प्रयोग गर्नुपर्दछ ।' यस्ता औषधिले महिलाको हर्माेन गढबढी गर्ने र पछि गम्भीर असर समेत पर्ने सक्ने दावी उहाँको छ ।
चावहिलस्थित मिरोन फार्मेसीका राम प्रसाद जोशी दशैं तिहारमा महिनावारी परसार्ने औषधिको माग अन्य समयमा भन्दा धेरै हुने बताउनु हुन्छ । १५/१६ वर्षका किशोरीदेखि ४५ वर्षसम्मका महिलाहरूले महिनावारी पर धकेल्ने औषधि किन्ने गरेको जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार २ देखि एक सातासम्मका लागि औषधि लिने गरेका छन् ।
तुलसा घिमिरे
तपाईँको अभिमत