अकुपञ्चर विधिबाट उपचार गर्दा दुखाइ तत्कालै निको हुन्छ (भिडियो)
शरीरका विभिन्न भागमा रहेको दुखाइ तत्काल निको पार्न अकुपञ्चर उपचार विधि निकै प्रभावकारी रहेको अकुपञ्चर विशेषज्ञ डा.विभाकर ठाकुर बताउनुहुन्छ।
अकुपञ्चर पद्धति भनेको सानो सियोले शरीरका विभिन्न भागमा रहेका प्वइन्टमा घोचेर गरिने उपचार विधि रहेको डा.ठाकुरले हेल्थपाटीसँगको कुराकानीमा जानकारी दिनुभयो।
उहाँका अनुसार यस उपचार विधिमा प्रयोग हुने सियोलाई 'फिलिफर्म निडल्स' भनिन्छ। यो निकै नै मसिना सियो हो। त्यसले शरीरका विभिन्न प्वइन्टमा घोचेर उपचार गरिन्छ।
अकुपञ्चर उपचारका लागि शरीरमा ३६० भन्दा बढी प्वइन्टहरू हुने डा.ठाकुर बताउनुहुन्छ। ती प्वइन्टमा दवाव दिएर, उत्तेजित बनाएर उपचार गर्ने पद्धति अकुपञ्चर हो।
रोग र रोगी अनुसार कुन प्वइन्टबाट उपचार गर्ने भन्ने कुरा निर्धारण हुने उहाँले जानकारी दिनुभयो। १६० भन्दा बढी रोगको उपचारमा अकुपञ्चर धेरै नै प्रभावकारी रहेको कुरा विश्व स्वास्थ्य संगठनले भनेको डा.ठाकुरको भनाइ छ।
उहाँका अनुसार विशेषगरी यो विधिबाट शरीरका विभिन्न ठाउँमा हुने दुखाइको उपचार हुन्छ। गर्दनको दुखाइ, ढाडको दुखाइ, घुँडाको दुखाइ, जोर्नी, हात नचल्ने, बाथ र युरिक एसिडका कारण हुने दुखाइ जस्ता समस्याको यसबाट उपचार हुन्छ। कान कराउने, चुरोट, रक्सीको लत छुटाउन, बच्चा नहुने समस्यामा समेत यसबाट उपचार हुने गरेको छ।
प्राय हाड, जोर्नी मांसपेशीका दुखाइमा समस्यामा यो धेरै प्रभावकारी रहेको उहाँले जानकारी दिनुभयो। यो उपचारले तत्कालै काम गर्ने र दुखाइ तत्काल हट्ने दावी डा.ठाकुरको छ।
सियोले घोचेर उपचार गरिने भएपनि यसमा दुखाइ नहुने उहाँले जानकारी दिनुभयो। अकुपञ्चरमा प्रयोग हुने सियो एकदमै सानो हुने भएकाले यसले घोच्दा खासै पीडा नहुने डा.ठाकुर बताउनुहुन्छ।
यसको सियो जुन छ त्यो धेरै नै मसिनो भएको यसले खासै पीडा हुँदैन’ डा.ठाकुर भन्नुहुन्छ, ‘हामीले आफैँले घोचेर आफ्नै उपचार पनि गरेका छौँ।’
अहिले ट्युबबाट घोच्ने प्रविधिसमेत आएकाले योबाट त झन पीडा नै नहुने उहाँको भनाइ छ।
अन्य उपचार गरेर पनि समस्या समाधान नभएका बिरामीले समेत राम्रो लाभ लिइरहेको सेवा लिने बिरामी धेरै भएको डा.ठाकुरले जानकारी दिनुभयो।
उहाँका अनुसार नेपालमा विशेषज्ञबाट यो सेवा सुरु भएको १५ वर्ष जति भएको छ। अहिले नेपालमा अकुपञ्चर विषयमा स्नातकोत्तर गरेका विशेषज्ञ १५ देखि २० जना छन्।
तपाईँको अभिमत