स्वास्थ्य क्षेत्रमा जुनियरले सिनियरलाई काम लगाउन गाह्रै हुन्छ (भिडियो)
आठौँ तहमा हुँदा म गाइनोको डाक्टरलाई गाइनो समूहमा नराखी जनरल हेल्थ समूहमा राखियो। जनरल हेल्थ समूहमा भएपछि नवौँ तहमा गाइनोमा जान पाइँदैनथ्यो। नवौँ तहमा गाइनोमा जानका लागि मलाई ३ वर्ष बढी समय लाग्यो। त्यही काराणले म हरेक कुरामा ३ वर्ष पछि भएँ। यही ढिलाइले गर्दा सचिव बन्नबाट रोकिएँ।
चाहेर नै मलाई व्यक्तिगत रुपमा पीडित बनाउनकै लागि जनरल हेल्थ समूहमा हालेके जस्तो त लाग्दैन। तर यो स्वास्थ्य मन्त्रालयको अदूरदर्शिता हो। भविष्यमा के असर गर्न भन्ने कुराको हेक्का नभएर गरेको हो। यो कुराले कसैलाई व्यक्तिगत फाइदा पुग्ने जस्तो पनि थिएन। जो सचिव भएर आउनुभयो। उहाँलाई चाहिँ फाइदा पुग्यो। अहिले सचिव हुनुहुन्छ नि डा.रोशन पोखरेल, म सरासर जान पाएको भए उहाँहरू म भन्दा पछि हुनुहुन्थ्यो।
स्वास्थ्य सेवामा धेरै बेथिति हुन्छ। यो क्षेत्रमा के हुन्छ भने ठूलो पोस्टमा पुगेपनि सिनियरलाई सिनियर र जुनियरलाई जुनियरको व्यवहार हुन्छ।
सिनियर हुँदाहुँदै किन जुनियरलाई जिम्मेवारी दिन्छन् भन्दा त्यसमा मन्त्रालयका सचिव, मन्त्री अझ प्रधानमन्त्री समेतलाई आफू अनुकूलको मान्छे चाहिएको हुन्छ। त्यसका लागि जुनियरलाई जिम्मेवारी दिनुपर्ने हुन्छ। आफू अनुकूलको हुँदा विभिन्न फाइदा लिन पाइयो। राजनीतिक रुपमा आफ्नो दलमा आवद्धताका आधारमा पनि सिनियर छाडेर जुनियरलाई जिम्मेवारी दिइन्छ।
कतिपय अवस्थामा कस्तो हुन्छ भने ११औँ तहको कर्मचारी त्यहीँ हुन्छ तर १०औँ तहकालाई ल्याएर हाकिम बनाइन्छ। यस्तोमा काम लगाउन र गर्न समस्या हुन्छ ।
जति नै तगडा व्यक्ति भएपनि जुनियरले सिनियरलाई काम लगाउन गाह्रै हुन्छ। हाम्रो पेशामा त्यति सजिलो छैन।
जस्तो म प्रसूति गृहमा निर्देशक भएर जाने बेलामा त्यहाँ म भन्दा सिनियर पुष्पा चौधरी मेडम हुनुहुन्थ्यो। मैले उहाँलाई परिवार स्वास्थ्य महाशाखाको निर्देशक बनाउन मन्त्री ज्यूसँग आग्रह गरेँ। उहाँलाई परिवार स्वास्थ्य महाशाखाको निर्देशक बनाएर पठाएपछि मात्रै म खाली भएको पोस्टमा गएको थिएँ।
मैले कहिल्यै पनि सिनियरहरूलाई पेलेर आफ्नो अण्डरमा राखेर काम गरिनँ। त्यस्तो ठाउँमा जाँदै गइन। म प्रसूति गृहमा आउँदै आउँदिन, जुनबेला सिनियर हुन्छु, त्यो बेला मात्रै आउँछु भनेर १६ वर्ष काठमाडौं बाहिर बसेँ। पालो पर्खिएर बसिरहेको थिएँ ।
सिनियरलाई जिम्मेवारी दिनुपर्छ र जुनियरलाई अण्डरमा राख्नुपर्छ। कति वर्ष काम गरेपछि कुन पोस्टमा पुग्छु भन्ने थाहा हुनुपर्छ अनि बल्ल सरकारी कामको चाम हुन्छ।
९औँ, १०औँ तहको डाक्टरलाई फुत्त ल्याएर ११औँ तहको माथि राखिन्छ। उसलाई पनि काम गर्न गाह्रो, अनि त्यहाँ भएकामा पनि निराशा छाउँछ।
निजामतिमा चाहिँ एकै दिन रिजल्ट आएको छ भनेपनि अगाडि नाम निकाल्ने व्यक्ति सिनियर हुन्छ। स्वास्थ्यमा त्यस्तो केही पनि छैन। यो अव्यवस्था त अहिले स्वास्थ्य मन्त्रालयमा गएर हेर्यो भने देखिन्छ। कति व्यवस्थापन गर्न कोसिस गर्दा पनि विभिन्न मान्छेको स्वार्थले गर्दा हामीले गर्न सकेनौँ।
म कोभिड युनिफाइड अस्पतालको प्रमुख कार्यकारी अधिकारी रहेका बेला म भन्दा धेरै कनिष्ठ डाक्टरलाई निमित्त बनाएर मलाई फिर्ता गरियो।
मलाई जतिबेला वीर अस्पतालबाट प्रसूतिगृह फिर्ता गरियो त्यतिबेला त्यहाँ निर्देशक डाक्टर संगीता मिश्र हुनुहुन्थ्यो। उहाँसँग मेरो व्यक्तिगत सम्बन्ध कुनै नराम्रो थिएन। उहाँ त्यहाँ सल्लाहमै आउनुभएको हो। म मन्त्रालय जाने उहाँ निर्देशक भएर आउने भनेर सल्लाहमै आएको। त्यसपछि मन्त्रालय जब मलाई वीर अस्पतालबाट हटाइयो, मलाई राख्न सक्ने त २०औँ ठाउँ थिए नि । जहाँ मलाई प्रमुख बनाएरै राख्न सकिन्थ्यो। प्रसूति गृह पठाउनु पर्दैनथ्यो। मन्त्रालयमै राख्न सकिन्थ्यो, विभागहरू थिए, कति अस्पताल थिए, समितिहरू थिए। तर मलाई टिट फर ट्याट गरियो।
पुरानो सरकारको पालामा वीर अस्पतालको प्रशासकीय अधिकारी भएको, विशेष खालको अध्यादेश ल्याएर अलि शक्तिशाली पोस्ट बनाएर आएको यसलाई चाहिँ ठिक पार्नुपर्छ, यसलाई सजाय दिनैपर्छ भनेर प्रतिशोधको भावनाले गरिएको थियो।
त्यतिबेला स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ हुनुुहन्थ्यो। उहाँसँग सम्बन्ध कुनै नराम्रो थिएन। २५औँ वर्षदेखि राम्रो सम्बन्ध थियो। अहिले पनि राम्रो छ। उहाँले गरेको होइन याे। सिधै बालुवाटारले गरेको हो। त्यो बेला शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँकै वरिपरिका मान्छेको दवावले उहाँले गर्नुभयो। त्यो बेला स्वास्थ्य मन्त्री पनि प्रधानमन्त्री नै हुनुहुन्थ्यो।
यस्तो गरिन्छ । मेरो मात्रै होइन थुप्रै साथीभाइलाई अहिले पनि यसै गरिएको छ। यसो गर्नाले स्वास्थ्यमा दिने सेवाको स्तर कहिले पनि राम्रो हुन सक्दैन।
आज म नेपाल सरकारको जागिरमा छैन। तर मैले त भन्छु नि त। राम्रो नलागेको, मन नपरेको कुरा म भन्छु। अरु साथीहरूले पनि भनिराख्नु भएको छ।
कति राम्रो काम गर्ने डाक्टर आज कोपभाजनमा छन्। राम्रो काम गर्यो कि त्यसलाई कतै लगेर कुर्सी, टेबल पनि नदिएर सिध्याउने गरिएको छ। त्यस्तो गर्नुहुँदैन। क्यालेण्डर बनाउनुपर्छ। कति वर्षपछि को निर्देशक हुन्छ, को कुन पदमा हुन्छ भन्ने कुरा लिस्ट बनाएर राखिदियो भने त आफसे आफ मान्छे खुसी हुन्छ। भोलि म यो ठाउँमा पुग्छु काम गर्छु भन्ने हुन्छ। जागिरमा पनि सुन्तुष्टि हुन्छ। बिरामीलाई दिने सेवा पनि स्तरीय दिन्छ। जिम्मेवारी बोध हुन्छ। जहिले पायो त्यहीले, जहा पायो त्यहीँ पठाइ दिएपछि कसरी राम्रो हुन्छ ?
जस्तो-पवनजंग रायमाझी डा.साब प्रसूति गृहको निर्देशक हुनुहुन्थ्यो। उहाँलाई मन्त्रालय फिर्ता गरियो। त्यत्तिकै राखिदियो। पछि भरतपुर अस्पताल पठाउने भनियो। अहिले नेपालगन्ज पठाइएको छ।
स्थायित्व नै छैन। पक्कै उहाँ खुसी हुनुहुन्न । मान्छेलाई त्यति साह्रो सजाय पनि दिनु हुँदैन। जिम्मेवारी हेरफेर हुनुपर्छ। तर स्तर अनुसारको जिम्मेवारी चाहिँ दिनुपर्छ।
आफू त्यही ठाउँमा हाकिम भएर काम गरेको ठाउँमा अर्काे हाकिम बनेर आयो भने २ वटा केन्द्र जस्तो हुन्छ। मान्छे ५–६ वर्ष हाकिम भएर बस्दा सेटअफ हुन्छ नि त यसको। त्यही खालको सम्बन्ध हुन्छ। त्यसले गर्दा दाहोर केन्द्र हुन्छ। अर्काे कुरा पहिले त्यही हाकिम भएर बसेको डाक्टरलाई नयाँ हाकिमले काम लगाउन पनि अप्ठ्यारो हुन्छ। पहिलाको हाकिमलाई एक किसिमको स्वतन्त्रता हुन्छ।
जो मान्छे हाकिम नभएर बसेको छ। उसलाई काम नगर्दा पनि हुने हुन्छ। अनि जुनियर माथि छ भनेर चिन्ता पनि हुन्छ। अनि त्यहीँका कर्मचारी सबै अस्पतालमा कर्मचारीका युनियन छन्। युनियससँग डाइलग भइरहेको हुन्छ।
हाकिमको र कर्मचारीको त प्रतिस्पर्धा हुन्छ नि त डाइलगमा, अब पहिला हाकिम भएको व्यक्ति पनि त्यही कर्मचारीकै लाइनमा उभिनुपर्ने अवस्था आइपर्छ।
मन्त्रालय सिंहदरबार तिर पुरानो हाकिमले जुन सम्बन्ध बनाएको हुन्छ, त्यो कायमै हुन्छ। त्यसले गर्दा काममा बाधाहरू आइपर्छन्।
अस्पताल राम्रो चल्द–चल्दैन, मन्त्रालय राम्रो चल्छ–चल्दैन भन्ने कुराले नै जनताले पाउने सेवामा राम्रो नराम्रो हुने हो। कसले तलब खान्छ, कसले खाँदैन कसले सही गर्छ, कसले–कसले गर्दैन भन्नु कुरा महत्वपूर्ण होइन।
यस्तो वातावरण हुँदा सेवाग्राही गुणस्तरीय सेवा पाउनबाट वञ्चित हुन्छन्।
(कुराकानीमा आधारित)

प्रा.डा. जागेश्वर गौतम
तपाईँको अभिमत