एक मात्रा लगाए पुग्ने कोरोनाविरुद्धको अमेरिकी खोप आइपुग्यो नेपाल
काठमाडौं । एक मात्रा मात्रै लगाए पुग्ने कोरोनाविरुद्धको अमेरिकी खोप नेपाल ल्याइएको छ ।
जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार ८५० डोज जेनसेन खोप कतार एयरबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

सो खोप स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले हस्तान्तरण गर्नुभएको छ ।
जोनसन एन्ड जोनसनको ‘जेनसेन’ खोप एक मात्रा लगाए पुग्छ । एक डोज लगाए पुग्ने सो खोप झन्डै १५ लाख मानिसलाई पुग्ने छ।
उक्त खोप कसलाई र कुन उमेर समूहलाई लगाउने भन्ने विषय टुंगो लागिसकेको छैन । यद्यपी विभिन्न कामले विदेश जानपर्ने व्यक्ति तथा शिक्षकहरुलाई दिने विषयमा छलफल चलिरहेको अधिकारीहरूले बताएका छन् । खोपबिना वैदेशिक रोजजारीमा जान नमिल्ने अवस्था आइरहेकाले उक्त खोप वैदेशिक रोजगराीलगायत अन्य कामका लागि विदेश जानेहरुलाई पनि दिन सक्नेबारे छलफल चलिरहेको बताइएको छ ।
जोन्सनको ‘जेन्सेन एडी २६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । जेन्सेन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।
यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।
विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ । अहिले नेपालमा कोभिशिल्ड र भेरोसिल खोपको प्रयोग भइरहेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत