मातृशिशु स्वास्थ्य सुधार र क्यान्सर उपचार सेवामा डब्ल्यूएचओले सहयोग गर्ने
विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानमले नेपालको स्वास्थ्य सेवा सुधारका लागि थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
नेपाल आएलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री विरोध खतिवडासँग भएको भेटमा अधानोमले डब्ल्यूएचओले नेपाललाई थप सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभएको भेटमा सहभागी स्वास्थ्य सचिव डा.रोशन पोखरेलले जानकारी दिनुभयो ।
मातृशिशु स्वास्थ्य तथा क्यान्सर उपचारमा सुधार ल्याउन सेन्टरहरु स्थापना गर्न डब्ल्यूएचओले सहयोग गर्न तयार रहेको पोखरेलले बताउनुभयो ।

यसैगरी भेटका क्रममा हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रलाई अपग्रेड गर्दै त्यसलाई सुविधासम्पन्न तालिम केन्द्रका रुपमा विकास गर्ने विषयमा समझदारी भएको छ ।
यसैगरी भेटमा कोभिड नियन्त्रणका लागि नेपाललले गरेको कामको प्रशंसा गर्दै महानिर्देशक टेड्रोसले कोभिड खोपको कभरेजप्रति खुशी व्यक्त गर्नुभयो । यस्तै टेड्रोसले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालले समर्थन गरेको पनि पोखरेलले बताउनुभयो ।
उहाँले आगामी मे महिनामा नेपालले समर्थन गर्ने बचन दिएको जानकारी दिनुभयाे । भेटका क्रममा मन्त्री खतिवडाले नेपालले स्वास्थ्य सेवाहरूमा सबैको समतामुलक पहुँच अभिवृद्धि गर्न एकीकृत राष्ट्रिय स्वास्थ्य वित्तीय रणनीति तर्जुमा गर्ने योजना बनाएको सुनाउनुभएकाे थियाे।

भेटमा डब्ल्यूएचओको तर्फबाट दक्षिणपूर्वी एशियाका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंह र अरु उच्च अधिकारीहरुको सहभागिता थियो । करीब ४० मिनेट लामो भेटवार्तामा मन्त्री खतिवडाले डब्ल्यूएचओले नेपालको स्वास्थ्य क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्नुभएकाे थियाे।
उहाँले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०२२-२०३० पनि तर्जुमाको चरणमा रहेको बताउँदै सरकारले संक्रामक र नसर्ने रोगहरूको अध्ययन, अनुसन्धान, निगरानी, रोकथाम, नियन्त्रण, हेरचाह, उन्मूलन र नियमनका लागि राष्ट्रिय स्तरमा एकीकृत संस्था स्थापना गर्ने योजना बनाएको बताउनुभयो ।
टेड्राेसले आजै परराष्ट्रमन्त्री डा.नारायण खड्का, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
शिष्टाचार भेटपछि साँझ ६ बजेदेखि स्वास्थ्यमन्त्री विरोध खतिवडासँग द्वारिका होटलमा आयोजना गर्नुहुने रात्रिभोजमा सहभागी हुनुहुने कार्यक्रम छ । यसैगरी भोली बिहान ९ः३० बजे टेड्रोसले शेरबहादुर देउवा, बिहान १०ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेट गर्ने कार्यसूची रहेको छ ।
टेड्रोसले भोलीनै टाइफाइडविरुद्ध खोप लगाइरहेका विभिन्न विद्यालयहरूमा अवलोकन गर्नुका साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अवलोकन गर्नुहुनेछ । टेड्रोस पर्सि जेनेभा फर्कनु हुनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत