असोज १७ देखि २० गतेसम्म मनसुन सक्रिय हुनसक्ने, यी स्थानमा उच्च सतर्कता अपनाउन आवश्यक
दशैँ लगत्तै मनसुन सक्रिय हुने भन्दै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । असोज १७ देखि २० गतेसम्म मनसुन सक्रिय हुने र भारी वर्षा हुनसक्ने भन्दै सम्भावित क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ ।
‘न्यून चापीय प्रणालीको कारणले नेपालमा जलवाष्प युक्त मनसुनी वायु प्रवेश गरी आगामी असोज १७ गते बाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ’, महाशाखाले प्रेस विज्ञप्तिमार्फत भनेको छ ।
मनसुन सक्रिय भएसँगै पानी पर्न सक्ने विभिन्न नदी तथा खोलानालामा आकस्मि बहावको सम्भावना रहेकाले विशेषगरी असोज १८–२० सम्म सतर्कता अपनाउन भनिएको छ ।
कहाँ हुनसक्छ खतरा ?
महाशाखाका अनुसार देशको नारायणी, बागमती, कमला र कोशी नदी र यी नदीका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने ससाना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।
काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भइ बहने ससाना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको छ ।
आधिकारिक सूचना कसरी पाउने ?
महाशाखाले आधारिक सूचना मात्र ग्रहण गर्न अनुरोध गरेको छ । त्यसका लागि विभागको वेबसाइट, यसका सामाजिक सञ्जाल तथा टोल फ्री सेवा ११५५ मा सम्पर्क गर्न भनेको छ । साथै विभिन्न सञ्चारमाध्यम तथा फोकल व्यक्तिको सूचनालाई आधिकारिक मानेर सोअनुसार सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत