'भाइरस फोटोकपी'मा गल्ती हुँदा नयाँ भेरियन्ट, ओमीक्रोन कति खतरनाक ?
विश्व स्वास्थ्य संगठन(WHO)ले मार्च २०२० (२०७६ चैत) मा कोरोना भाइरस SARS-CoV-2 महामारी घोषणा गर्यो।
त्यसयता सम्पूर्ण मानव समुदाय आपतकालीन स्वास्थ्य स्थितिबाट गुज्रिएको २० महिनाभन्दा बढी भइसकेको छ। महामारीले चुनौती र त्रास सिर्जना गरेपछि यसबाट कसरी पार पाउने भन्ने वियषमा वैज्ञानिकहरु अध्ययन, अनुसन्धान, खोजमा लागे।
यही क्रममा कोरोना भाइरसविरुद्ध खोपको विकास, प्रयोग, प्रमाणीकरण र स्वीकृति अनि बजारीकरण पनि द्रूत गतिमा भयो। महामारीको एक वर्ष नबित्दै विभिन्न खोपहरू उपलब्ध भए। यसले गर्दा खोपलाई महामारी नियन्त्रण र अन्त्य गर्ने मुख्य आधार मानेर खोप अभियान सुरु भयो।
अहिलेसम्म संसारमा करिब ९ अर्ब डोज कोरोना खोप लगाइसकिएको छ। तर खोपको उपलब्धतामा भने व्यापक असमानता छ।
केही दिनअगाडिको आँकडाअनुसार उच्च र उच्चमध्यम आय हुने देशहरूमा करिब ७० प्रतिशतले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।
निम्नमध्यम आय हुने देशहरूमा यो संख्या झण्डै ३५ प्रतिशत र निम्न आय हुने देशहरूमा १० प्रतिशतभन्दा कम छ। विश्वभर खोपको पहुँच सहजीकरणका लागि केही अन्तर्राष्ट्रिय पहलहरू जारी छन्। जसले हाम्रोजस्ता न्यून वा मध्यम आय भएका देशहरूमा पनि खोपदर बढाउन सहयोग पुर्याइरहेका छन्।
ठूलो मात्रामा खोप उत्पादन, ढुवानी, वितरण, भण्डारणजस्ता व्यवहारिक चुनौति त छँदैछन्, महामारी नियन्त्रणमा खोपसँग सम्बन्धित् केही विशेष चुनौतिहरू पनि छन्। हालै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन फैलिरहेको छ। अहिले लगाइँदै आएको खोप र नयाँ भेरियन्टबारे जान्नु जरुरी छ।
के हो नयाँ भेरियन्ट ?
खोपको सफलताका लागि भाइरसका नयाँ भेरियन्ट ठूलो चुनौति बन्न सक्छन्। भेरियन्टलाई एकै भाइरसका विभिन्न प्रजाति भनेर बुझ्न सकिन्छ।
जुन बनावटमा धेरथोर फरक हुन्छन्। भाइरस संक्रमित व्यक्तिमा फैलिन्छ र भाइरसका संख्या बढ्छन्। एउटै भाइरसबाट फोटोकपी गरेजस्तै थुप्रै भाइरसहरू निस्किन्छन्। यस्तो 'भाइरस फोटोकपी' प्रक्रियामा सानाठूला गल्ती भइरहन्छन्।
तीमध्ये कुनै गल्तीले भाइरसलाई कमजोर पारिदिन्छन् भने कुनैले भाइरसलाई तन्दुरूस्त र झन् प्रभावकारी बनाउँछन्। 'भाइरस फोटोकपी'को गल्तीबाट निस्कने भाइरसहरू नै नयाँ भेरियन्ट हुन्।
भाइरस भेरियन्टहरूको उद्भव कोरोना भाइरसको प्राकृतिक जीवनचक्रको एक पाटो हो। अतः कोरोनाभाइरस-रोग (कोविड) लागेका दुई फरक व्यक्तिमा रोग गराउने SARS-CoV-2 कोरोना भाइरस ठ्याक्कै उस्तै नहुन सक्छन्।
एकै व्यक्तिमा पनि एकैपटक विभिन्न भेरियन्टको संक्रमण हुनसक्छ। यसबाट नयाँ भेरियन्टको उदय हुनसक्छ। महामारीको शुरुवात गराउने भाइरस र महामारीलाई निरन्तरता दिइरहेका भाइरसहरू सबै SARS-CoV-2 हुन् तर भेरियन्ट फरक।
जनमानसमा सञ्चारमा रहेका धेरै भेरियन्टहरू मध्येबाट एक वा दुईले जनसंख्यामा आफ्नो प्रभुत्व कायम गर्दछन्। SARS-CoV-2 भेरियन्टहरूलाई ग्रीक वर्णमालाका अक्षरबाट नामाकरण गर्ने गरिएको छ। पहिलो भेरियन्ट अल्फा थियो, त्यसपछि बिटा र डेल्टा हुँदै हामी यतिखेर ओमीक्रोनको विस्तार देखिरहेका छौं।
मानिस-मानिसबीच भेरियन्ट सर्ने गति, भेरियन्टहरूले गर्दा लाग्ने रोग, त्यसका घातक पक्षका आधारमा भेरियन्टहरू भिन्न रहन्छन्।
अत: भेरियन्टहरू व्यक्ति र सार्वजनिक स्वास्थ्यका लागि सरोकारका विषय हुन्। जब नयाँ भेरियन्टहरू पहिचान हुन्छन्, WHO ले तिनीहरूको मूल्यांकन गर्दछ र सरोकारको गम्भीरता निर्धारण गर्दछ। उदाहरणका लागि डेल्टा भेरियन्ट एक सरोकारको भेरियन्ट हो। यो अघिल्ला भेरियन्टहरू भन्दा धेरै छिटो सर्ने पाइयो। भारतमा दोस्रो लहर फैलनु र धेरै क्षति हुनुमा डेल्टालाई जिम्मेवार मानिएको छ।
खोप र भेरियन्ट
खोप भनेको सामान्यतया रोग गराउन सक्ने किटाणु/जीवाणुको कुनै ठूलो/सानो अंश हाम्रो शरीरभित्र पुर्याउने प्रक्रिया हो। यसो हुँदा हाम्रो शरीरको प्रतिरोधात्मक प्रणालीले जीवाणुका भागहरु पहिचान गर्न र जीवाणुसँग जुध्न सक्ने हुन तालिम पाउँछन्।
जब यसरी सही तालिम प्राप्त शरीरमा जीवाणु पस्छन्, शरीरको प्रतिरोधात्मक प्रणालीले पहिले प्राप्त तालिमको आधारमा जीवाणुलाई चिनेर निस्क्रिय बनाइदिन्छ। हाल उपलब्ध कोरोना खोपहरूले स्पाइक नाम दिइएको कोरोना भाइरसको एक प्रोटिनलाई हाम्रो शरीरको प्रतिरोधात्मक प्रणालीसम्म पुर्याउँछ । स्पाइक प्रोटिन कोरोना भाइरसका चित्रहरूमा सतहबाट बाहिर काँडा निस्किएको जसरी फैलिएको देखिन्छ।
हाम्रो शरीरको प्रतिरोधात्मक प्रणालीले विभिन्न तरिकाबाट स्पाइक प्रोटिनविरुद्ध जुध्न सिक्छ । शरीरले खोप प्राप्त गरेपछि स्पाइक प्रोटिन विरूद्ध बनाउने एन्टिबडीहरू महत्वपूर्ण मानिन्छन् । किनकि भाइरसलाई निष्क्रिय-पार्ने (न्यूट्रलाइजिङ) एन्टिबडीहरू स्पाइक प्रोटिनसँग टाँसिन्छन्।
सतहका स्पाइक प्रोटिनमा न्यूट्रलाइजिङ एन्टिबडी टाँसिएपछि स्पाइक प्रोटिन निकम्मा बन्छ र भाइरस मानव कोषभित्र छिर्न र फैलनबाट रोकिन्छ।
नयाँ भेरियन्टमा नयाँ खालको अथवा भ्याक्सिनको स्पाइक प्रोटिन भन्दा फरक छ भने त्यसलाई खोपले नरोक्न सक्छ।
बेलायतले कोरोनाविरुद्धको खोपबारे साप्ताहिक खोप निगरानी डाटा प्रकाशित गर्छ। जसमा कोरोना संक्रमण, संक्रमितको खोप विवरण, आपतकालीन अस्पताल सेवाको आवश्यकता र कोरोना पोजिटिभमा हुने मृत्यु सूचीवद्ध हुन्छन्।
इजरायललगायत अन्य देशहरूले पनि खोपको प्रभावकारिता बारेको हाम्रो बुझाइमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
इजरायलमा मुख्यत: फाइजर बायोन्टेक खोप प्रयोग भयो। जसमा प्रतिरोध तालिमका लागि स्पाइक प्रोटिन शरीरभित्र पुर्याउने उपाय नेपालमा हालसम्म धेरै प्रयोग भएका खोपहरूमा भन्दा धेरै फरक छ।
नेपालमा सबैभन्दा धेरै चिनियाँ खोप भेरोसेल लगाइएको छ। केही दिनअघि हङकङमा गरिएको एक अध्ययनले भेरोसेलका दुई वा तीन डोजले पनि ओमीक्रोनलाई निस्क्रिय पार्न नसक्ने देखाएको छ।
भेरोसेलपछि नेपालमा धेरैले भारतीय खोप कोभिशिल्ड लगाएका छन्। यो अक्सफोर्ड विश्वविध्यालय, बेलायतमा विकसित, एस्ट्राजेनेका कम्पनीको खोपको भारतीय संस्करण हो। अमेरिकी जन्सन एण्ड जन्सन खोप र कोभिशिल्ड एक अर्कासँग मिल्दाजुल्दा छन्।
दुवैले स्पाइक प्रोटिन शरीरमा पुर्याउन उस्तै तरिका प्रयोग गर्छन्। बेलायतले शुरुमा एस्ट्राजेनेका खोप धेरै मात्रामा प्रयोग गरेकाले त्यहाँको खोप उपादेयता डाटा हाम्रो लागि सान्दर्भिक हुनसक्छ।
एस्ट्राजेनेका खोपका लागि २०२१ को ५१औं हप्ताको रिपोर्ट अनुसार बिनालक्षण कोरोना-डेल्टा संक्रमण र लक्षणसहितको रोगविरूद्ध खोपको प्रभावकारिता ७०%को हाराहारी अनुमान गरिएको छ।
१८ वर्षसम्मकामा कोरोना पोजिटिभ आउने दर खोप नलगाएकामा भन्दा खोप लगाएकामा निकै कम भेटिएको छ। तर १८ वर्ष माथिकामा भने संक्रमण दर खोप नलगाएकामा भन्दा खोप पूरा गरेकामा बढी देखिन्छ।
यसो भए पनि डेल्टा भेरियन्टविरुद्ध एस्ट्राजेनेका खोपको दुई मात्राको प्रभावकारिता अस्पताल भर्ना र मृत्युदरलाई रोक्नमा चाहिँ ९०% भन्दा बढी भएको आँकलन गरिएको छ। यसको मतलब सबै सङ्क्रमण रोक्न नसके पनि गम्भीर रोग र मृत्युबाट जोगाउनमा खोप प्रभावकारी छ।
एस्ट्राजेनेका खोप दुई मात्रा पूरा भएको १५ हप्ता पछिदेखि खोपले ओमिक्रोनविरूध्द दिने सुरक्षा नगन्य हुने रिपोर्टले देखाएको छ।
त्यसो त हाल उपलब्ध सबै खोपहरु डेल्टाविरूध्द पनि त्यति प्रभावकारी देखिँदैनन्, जति डेल्टा अगाडिकाभेरियन्टविरूध्द देखिन्थे।
विभिन्न देशमा दुई मात्रा खोप लगाइ सकेकालाई पनि थप खोप लगाउने काम भइरहेको छ। यो थप मात्रा लगाएका व्यक्तिमा डेल्टाविरुद्ध मात्र हैन ओमिक्रोन विरूध्द पनि काम गर्ने रिपोर्टहरु आइरहेका छन्।
ओमिक्रोन भरियन्टअहिले हाराहारी करिर १०० देशमा देखिइसकेको छ। यसले विश्वभरडेल्टालाई प्रतिस्थापन गर्ने चरणमा रहेको बुझिन्छ। भारतीय वैग्यानिकहरूले भारतमा २०२२ फेब्रूअरीमा ओमीक्रोन संक्रमण उत्कर्षमा पुग्ने आँकलन गरेका छन्।
ओमीक्रोनको प्रसार तीब्र
ओमीक्रोन कुन गतिमा सर्छ भन्ने बुझ्न अमेरिकाको रोग निरूपण तथा रोकथाम केन्द्र (सीडीसी)को पछिल्लो साप्ताहिक रिपोर्टले सघाउन सक्छ।
जम्मा पोजिटिभ मध्ये ७३% पुगिसकेको अनुमान गरेको छ। यो संख्या ११ डिसेम्बरसम्मको हप्तामा २.९% र त्यस अघिको हप्तामा ०.४% रहेको सीडीसीले भनेको छ। अमेरिकामा दुई हप्ता अगाडि कोरोना सकंमणका केसमध्ये हरेक १ हजारमा ४ जनामा देखिएको थियो। यो बढेर प्रतिहजार ७३० को हाराहारी पुग्यो।
ओमिक्रोन फैलिएका बेलायत, जर्मनी लगयत उत्तर ध्रुवीय मुलुकहरु जहाँ हाल जाडो मौसम छ। त्यहाँ घाम पनि चिसो मौसममा महामारी नहुँदा पनि श्वास-प्रश्वास सम्बन्धी रोगहरू बढ्ने गर्छ। यस कारण यहाँ नयाँ भेरियन्टले प्रभावित बनाएको छ।
संक्रमणको त्रासका कारण युरोपियनलगायत विश्वका अन्य कैयौं मुलुकहरुले विभिन्न खाले प्रतिबन्धहरु लगाइरहेका छन्। यसो गर्नुको मुख्य कारणमा, खोप लगाएका व्यक्तिहरूमा पनि ओमीक्रोन संक्रमण देखिइरहनु भएको बुझिन्छ। कुनै-कुनै अथ्ययनले त बुष्टर खोप नलगाएका तर दुई मात्रा खोप लगाएकामा कोरोना पोजिटिभ देखिने सम्भावना खोप नलगाएकामाभन्दा बढी हुने संकेत देखाएका छन्।
ओमिक्रोनको अध्ययन बढ्दै गर्दा यसले व्यक्तिगत र सार्वजनिक स्वास्थ्य अनि महामारीको भविष्यमा पार्ने प्रभावहरु स्पष्ट हुँदै जानेछन्। दक्षिण अफ्रिका जहाँ ओमिक्रोन नोभेम्बर महिनाको अन्त्यतिर देखिएको थियो, त्यहाँ अहिलेसम्म कोरोना पोजेटिभदेखिएका मध्ये ९५% भन्दा बढीमा ओमिक्रोन देखिएको छ।
यो भेरियन्ट नेपालमा पनि फैलने निश्चित्प्राय: छ। छोटो समयमा हामी धेरै जना बिरामी परियो, धेरैलाई सास फेर्न अक्सिजन वा मेशिन सहयोग चाहिने भयो भने अस्पतालहरूले थेग्न नसक्ने स्थिति नआउला भन्न सकिँदैन।
हालसम्म ओमीक्रोनको एउटा सकारात्मक पक्ष के देखिन्छ भने, यो डेल्टाभन्दा यो कम घातक देखिएको छ।
दक्षिण अफ्रिकामा महामारीका पहिला तीन संक्रमण लहरका बेला त्यहाँ दैनिक मृत्युदर उत्कर्षमा पुग्दा दैनिक ६०० देखि ८०० को हाराहारीमा मनिसहरू मरे। ओमीक्रोन शुरु भएदेखि अहिलेसम्म, करिब एक महिनामा दैनिक मृत्यु ५० र कहिलेकहीँ १०० हाराहारी पुगेको देखिन्छ।
ओमीक्रोनबाट आत्तिनुपर्ने स्थिति नभए पनि जोखिमबाट बच्न सचेत भने हुनैपर्ने हुन्छ। लक्षण देखिए छुट्टै बस्ने, परीक्षण गर्ने र उपचारमा लागिहाल्नु उपयुक्त हुन्छ।संक्रमणबट बच्न यसअघि अपनाइएक सावधानीका उपायलाई पालना गर्नुमै कल्याण देखिन्छ।
(डा. दिनेश अधिकारीले Virology र Immunology Research मा विद्यावारिधि गर्नुभएको छ।) [email protected].
तपाईँको अभिमत