कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताउनुभएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ ।’ उहाँले औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्नसमेत प्रतिष्ठानलाई निर्देशन दिनुभयो ।
साधनस्रोतको अभावका बीचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘बाटोघाटोको असुविधा, दक्ष चिकित्सकहरू र प्राविधिकहरूको अभाव, अन्य साधनस्रोतको अभावजस्ता समस्याहरू छन्, जसले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको छ । आगामी दिनमा यसको सम्बोधनका निम्ति सरकारको तर्फबाट उचित पहल हुनेछ ।’
चिकित्सक, प्राविधिकहरू र कर्मचारीहरूको वृत्तिविकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘तपाईंहरूका मागहरू क्रमशः सम्बोधन गर्दै जाने विश्वाससमेत दिलाउँछु ।’
यसैबीच नवौँ सभालाई सम्बोधन गर्दै उहाँले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।’ उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहरू आउन थालेको जानकारी पाउँदा आफूलाई खुसीको महशुस भएको बताउनुभयो ।
आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानले विपन्नलाई सेवा मात्र दिइरहेको छैन, दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको छ ।’
देश र जनतालाई अप्ठ्यारो परेको अवस्थामा प्रतिष्ठानले महत्त्पूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘कोभिड महामारीको त्रासदीपूर्ण परिस्थितिमा होस् वा हालै गएको विनाशकारी भूकम्पको समयमा होस्, यस प्रतिष्ठानले पूर्ण जिम्मेवारीबोधका साथ पूर्वतयारी, आवश्यक सतर्कता, उद्दार र उपचारका क्षेत्रमा निकै महत्त्वपूर्ण काम गरेको छ ।’
आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार, दक्ष र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्ला वर्षहरूमा प्रतिष्ठानले उल्लेख्य प्रगति गरेको आफूले महशुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तनमा आधारित अध्ययन, अनुसन्धान र आविस्कारमा समेत प्रतिष्ठानले गम्भीरतापूर्वक पहल लिने विश्वास व्यक्त गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत