बेथा एउटै, कथा फरक–फरक
२७ वर्षीय एकबहादुर ठाडा मगर र ५३ वर्षका होमबहादुर पुन अहिले जीवन–मरणको दोसाधबाट उन्मुक्त हुनुभएको छ।
ठाडा र पुनको यही फागनु २ गते भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।
१३ गते अस्पतालबाट डिस्चार्ज भएर ठाडा जोरपाटीस्थित आफन्तको डेरामा र पुन गोंगबुको घरमा आराम गरिरहनु भएको छ।
सिन्धुलीका एकबहादुर र म्याग्दीका होमबहादुर पुनको परिवार केही वर्षदेखि मिर्गौला दान दिने दाताको खोजीका तड्पिरहेको थियो। भौँतारिरहेको थियो।
एउटै समस्याबाट गुज्रिरहेका दुई मगर परिवारको भेटले दुवै पक्षमा आशाको सञ्चार गरायो। त्यो आशाले अहिले मूर्तरुप लिएको छ।
होमबहादुर पुनकी आमा ७१ वर्षीय तुल्सी पुनको मिर्गौला शरीरमा राखेर एकबहादुर तंग्रिदै हुनुहुन्छ। होमबहादुरले एकबहादुरका काका ५६ वर्षीय भीमबहादुर ठाडाको मिर्गौला लिएर नयाँ जीवन पाउनुभएको छ।
मानव शरीरको अंग प्रत्यारोपण ऐनअनुसार यी दुई परिवारबीच अंग साटासाट भएको हो। अंग साटासाटपछि दुवै परिवारमा खुसीको सञ्चार भएको छ। मृत्युको मुखमा पुगेका एकबहादुर र होमबहादुरको जीवन लम्बिएको छ।
एकबहादुर र होमबहादुरको रोग अर्थात् व्यथा एउटै भएपनि कथा भिन्न छ।
काठमाडौं गोंगबुमा आफ्नै घर रहेको पुन परिवारलाई होमबहादुरको जीवन जोगिएपछि अगाडिका चुनौतीहरू फिका भएका छन्।
जीवनको सक्रिय उमेर व्यतीत गरिसक्नुभएका होमबहादुरलाई अब बाँकी जीवन स्वस्थ भएर, परिवारसँग हाँसीखुसी बाँच्न पाए हुने भन्ने छ।
तर भर्खर २७ वर्ष पुगेका एकबहादुरलाई जिन्दगीको मुख्य अध्याय सुरु गर्न बाँकी छ। उपचार गर्दा लागेको ऋणको बोझ अघिल्तिर बाटोमा तेर्सिएको छ। अनि परिवारको जिम्मेवारी।
एकबहादुरको कथा
सिन्धुली मरिन गाउँपालिका–२ का एकबहादुर लगातार ५ दिदी बहिनीपछिका एक्ला छोरा हुनुहुन्छ। अहिले घरमा १०० वर्षीया हजुर आमा र ७५ वर्षकी आमा मात्रै बस्नुहुन्छ।
भविष्यका लागि कमाउने सपना साँचेर उहाँ ७ वर्ष पहिले भिनाजु रामकृष्ण मगरको साथ मलेसिया जानुभएको थियो।
३ वर्षका लागि मलेसिया जानुभएका एकको नियमअनुसार २ वर्षपछि स्वास्थ्य परीक्षण भयो। स्वास्थ्य परीक्षणका क्रममा अस्पतालले मिर्गौलामा खराबी देखिएको रिपोर्ट दियो। अब मेलेसियामा काम गर्न नपाइने भयो।
विश्वास नलागेर एकबहादुरले अर्काे मेडिकलमा परीक्षण गराउनुभयो। त्यहाँ ठिकै रिपोर्ट आयो। पछिल्लो रिपोर्टका आधारमा मेलेसिया बस्न मिल्ने भयो। होटलको काममा जानुभएका एकबहादुरले मलेसियामा ३ वर्ष बिताउनुभयो।
यता नेपालमा बुबा बिरामी। बुबालाई सुगर, क्यान्सर, पत्थरी जस्ता रोगले च्यापिरहेको थियो। एकबहादुरले मलेसियामा कमाएको पैसा बुबाको उपचारमा खर्च भइरहेको थियो। बुबाको उपचारकै लागि अझै मलेसिया बस्नुपर्ने भयो।
त्यसपछि विस्तारै शरीर सुन्निन थाल्यो। ओठ लगायत शरीरका विभिन्न भाग फुटेर रगत आउन थाल्यो। समस्या बल्झिैँदै गएपछि परीक्षण गर्दा मिर्गौला पूरै काम नलाग्ने भएको पत्ता लाग्यो। एक्कासी जीवन अन्धकारमय भयो । सपना आशा सबै बिलाए । केही समय मलेसियामै उहाँको डायलासिस भयो।
उपचारका लागि नेपाल झिकाउन उहाँको परिवार लागिपर्यो। सुन्दर भविष्यको सपना साँचेर मलेसिया जानुभएका एकबहादुर जटिल रोग बोकेर घाँटीमा पाइप हालेकै अवस्थामा २०७५ फागुन ३ गते नेपाल आइपुग्नुभयो।
भिनाजु रामकृष्णले डेरामा ल्याएर राख्नुभयो। कुनै लागु–लगान पोे होकी भनेर एकबहादुरका दिदीहरू कुनै जान्ने झाँक्रीलाई देखाउनु पर्ने जिद्धी गर्न थाले। धेरैले सम्झाउँदा पनि नमानेर उहाँहरू झाँक्रीको खोजीमा हिड्नुभयो। तर कतै त्यस्तो झाँक्री फेला परेन। एकबहादुरलाई रोगले झन च्यापिरहेको थियो।
२ जना आफन्त ललितपुरको किस्ट अस्पतालमा काम गर्ने भएकाले उहाँहरूकै प्रयासमा त्यहाँ भर्ना गरियो।
३ महिनासम्म एकबहादुरको परिवारले आफ्नै खर्चमा डायलासिस गरायो। ‘हप्ताको २ देखि ३ पटक गर्नुपर्थ्यो। एक पटकको ८ हजार खर्च लाग्थ्यो। खर्च धान्नै गाह्रो भयो’, एकबहादुरका भिनाजु कृष्ण सुनाउनु हुन्छ। त्यसपछि भने सरकारी सुविधामा नि:शुल्क डायलासिस गर्ने व्यवस्था भयो।
एकबहादुर नेपाल आउँदा उहाँका बुबा अन्तिम अवस्थामा पुगिसक्नुभएको थियो। उहाँ फर्किएको केही दिनपछि बुबा बित्नुभयो। आफ्नै हालत खराब भएपछि एकबहादुरले विदेशबाट आएर बुबालाई भेट्नै नपाई संसार छाड्नुभयो।
एकबहादुर मृत्युको मुखबाट त उम्किनुभयो। तर अनेकौँ समस्या घेरा हालेको छ। उपचारमा अहिलेसम्म ३० लाख भन्दा बढी खर्च भइसकेको छ। गाउँको जग्गा बेचेर २० लाख आयो। अब बेच्न बाँकी केही छैन।
मिर्गौला प्रत्यारोपणका लागि दान दिने मान्छेको खोजी भइरहेको थियो। आमा दिन तयार हुनुहुन्थ्यो। तर वृद्ध भएकाले मिलेन। दिदीहरूले दिन खोज्दा कसैको भिनाजुले मानेनन्। कसैको भान्जा, भान्जीले। कसैको रक्त समूह मिलेन।
केही दिन चाहने आफन्तहरूको मिलेन। केहीसँग आग्रह गर्दा पैसाको माग गरे। त्यो पनि निकै ठूलो रकम रहेको कबहादुरका भिनाजु रामकृष्ण सुनाउनु हुन्छ।
डायलासिस गर्दै औषधि खाँदै दाता भेटिन्छ कि भनेर खोज्नुको विकल्प थिएन। फेरि आफन्तले मात्रै अंगदान गर्न पाउने कानुनी व्यवस्था छ।
दुई परिवारमा अंग साटासाट गर्न मिल्छ भनेर डाक्टरहरूले भनेपछि त्यस्ता बिरामी पाइन्छकी भनेर खोजी हुन थाल्यो।
एकबहादुरको ब्लडग्रुप बी पोजेटिभ हो। ए पोजेटिभ ब्लडग्रुप भएका उहाँका काका भीम मिर्गौला दिन तयार हुनुहुन्थ्यो। ए पोजेभिट वाला मिर्गौला लिने र बी पोजेटिभ वाला मिर्गौला दिने परिवारको खोजी गर्नुपर्ने थियो।
त्यस्ता बिरामी भक्तपुरको धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हुन सक्छन् भन्ने सुनेर रामकृष्ण त्यहाँ जानुभएको थियो।
कहाँ सोध्ने, कसलाई सोध्ने उहाँलाई थाहा थिएन। अल्मलिएर यतायता गर्दागर्दा एकजनाले गरेको कुराले रामकृष्णको ध्यान खिचियो।
कुरा गर्दै जाँदा खोजे जस्तो व्यक्ति फेला पर्यो। झापाकी एक तामाङ परिवार पनि दाताको खोजीमा थियो। एक महिलाको मिर्गौला खराब भएको थियो। दुवैतर्फ परीक्षण भयो। सबै कुरा मिल्यो।
२०७७ वैशाखको तेस्रो सातातिर प्रत्यारोपणको तयारी थियो। एक्कासी कोरोनाको दोस्रो लहरले स्थिति भयावह बन्यो।
सबै क्षेत्र बन्द भएपछि शल्यक्रिया पछि सर्यो। कोरोना महामारीकै बीच झापाकी ती महिलाको मृत्यु भयो। यो बज्रपात लामा परिवारसँगै एकबहादुरको परिवारमा पनि पर्यो। फेरि अन्योल थपियो।
फेरि त्यस्तै व्यक्तिको खोजी भइरहेको थियो। डायलासिस गर्न जाने क्रममा किस्ट अस्पतालमा अहिलेका पुनको परिवारसँग भेट भएपछि प्रक्रिया अघि बढ्यो। प्रत्यारोपण सफल पनि भयो।
एकबहादुर मृत्युको मुखबाट त उम्किनुभयो। तर अनेकौँ समस्या घेरा हालेको छ। उपचारमा अहिलेसम्म ३० लाख भन्दा बढी खर्च भइसकेको छ। गाउँको जग्गा बेचेर २० लाख आयो। अब बेच्न बाँकी केही छैन। विदेशमा कमाएको बुबाको उपचारमै सकिएको थियो। अझै धेरै महंगा औषधि खाइरहनु पर्नेछ।
निको भएपछि कहाँ जाने के काम गर्ने ऋण धेरै छ। कसरी तिर्ने मनमा कुरा खेलिरहन्छ।
घरमा दुवै जना वृद्ध भइसकेका हजुरआमा र आमा मात्रै छन्। हेर्ने कोही छैनन्। अब बाँचियो। केही गरिएला। बिस्तारै सबै ठिक होला भन्ने आशा र अठोट छ एकबहादुरको मनमा।
होम बहादुर पुनको कथा
४ वर्ष अगाडि होमबहादुरको मिर्गौलामा समस्या देखियो । उहाँलाई ३४ वर्षको उमेरदेखि नै उच्च रक्तचापको समस्या थियो । ४५ वर्षको उमेरमा मधुमेहको समस्या थपियो । यी दुवै रोगले मिर्गौला खराब बनाउन मद्दत गर्छन्।
उच्च रत्तचाप र मधुमेह भएका व्यक्तिले नियमित परीक्षण गराइरहनु पर्थ्यो । होमबहादुरले २ वर्षसम्म कुनै परीक्षण गर्नुभएन । यही कारणले उहाँको मिर्गौला खराब भएको सुरुमा थाहा भएनछ ।
'दुई वर्षअगाडि ठिकै थियो । २ वर्षको बीचमा मिर्गौला बिग्रिएछ । ९० प्रतिशत काम नगर्ने भएछ' होमबहादुर सुनाउनु हुन्छ ।
पानीको जार उद्योग सञ्चालन गर्दै आउनुभएका पुन काम गर्दागर्दै एक्कासी बेहोस हुनुभयो। त्यो दिन २०७५ साल चैत्र १७ गते थियो।त्यसपछि अस्पताल लगियो । उहाँको हातखुट्टा पनि बेस्सरी सुन्निएको थियो । डायलाइसिस गर्नुभन्दा अरू उपाय नभएको निष्कर्ष डाक्टरले सुनाए ।
त्रिवि शिक्षण अपताल महाराजगञ्जमा भर्ना हुनुभएका होमबहादुरको डायलाइसिस गरियो । त्यसको २ घण्टापछि फेरि उहाँ बेहोस हुनुभयो । त्यसपछि डाक्टरले निगरानीमा बस्नुपर्छ भनेपछि १७ दिन अस्पतालमै बस्नुभयो ।
१७ दिनपछि घर जानुभयो । तर खाना अरुचि हुने, हिँड्डुल गर्न नसक्ने, बान्ता हुने समस्या भइरह्यो ।
त्यसपछि निरन्तर डायलाइसिस गर्नुपर्ने भयो । २०७६ सालमा सरकारी अस्पतालमा डायलाइसिस सेवा बन्द भएपछि निजीमा गर्नुपर्यो । यो क्रम करिब एक वर्ष चलिरह्यो।
प्रत्यारोपणको प्रयास
अब होमबहादुरका लागि मिर्गौला प्रत्यारोपणको विकल्प भएन ।
श्रीमती शिरकुमारी पुनसँग रगत समूह मिलेको थियो । त्यसैले शिर कुमारीले नै मिर्गौला दिने निर्णय गर्नुभयो । तर मिर्गाैलामा पत्थरी देखिएपछि उहाँले दिन नमिल्ने भयो।
त्यसपछि सानीआमा तयार हुनुभयो । सानीआमाको मिलेको थियो तर उहाँलाई पनि सुगर देखिएपछि पुन परिवार निराश भयो। पुन परिवारले पनि दुई परिवारबीच साटासाट गर्न मिल्ने कुरा जानकारी पायो । त्यसपछि त्यस्तो बिरामीको खोजी सुरु भयो ।
होमबहादुरकी छोरीको साथी किष्ट अस्पतालमा डाक्टर हुनुहुन्थ्यो। उहाँमार्फत किष्टमा डायलासिस गर्दै आएको एक बिरामी मिर्गौला दाताको खोजीमा रहेको थाहा भयो।
त्यो २०७८ असारको कुरा थियो । अर्काे बिरामी थिए, सिन्धुलीका २७ वर्षीय एकबहादुर ठाडा ।
त्यसपछि दुवै परिवारबीच कुराकानी भयो । एकबहादुरलाई चाहिएको थियो बी पोजेटिभ ब्लड ग्रुप भएको दाता अनि होम बहादुरलाई ए पोजेटिभ भएको । अनि ए पोजेटिभ वाला एकबहादुरका काका मिर्गौला दिन पहिलेदेखि नै तयार हुनुहुन्थ्यो।
एकबहादुरलाई मिर्गौला दिनका लागि बी पोजेटिभ रक्त समूह भएकी होम बहादुरकी ७१ वर्षीया आमा तुल्सी पुन तयार हुनुभयो।
पुन परिवारले निजी अस्पालमै होमबहादुरको मिर्गौला प्रत्यारोपण गर्न चाहेको थियो । तर एकबहादुरको परिवारको आर्थिक अवस्थाका कारण उहाँहरू राष्ट्रिय प्रत्यारोपण केन्द्रमै जानुभयो ।
धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा माघ २४ गते होमबहादुर भर्ना हुनुभएको थियो । फागुन २ गते शल्यक्रिया भयो ।
कुरा गर्दागर्दै बेहोस्
होमबहादुरकी आमा तुल्सीको यसअघि नै २ पटक अप्रेसन भइसकेको थियो । २०५२ सालमा पाठेघर निकाल्नका लागि अप्रेसन गरिएको थियो । २०६७ सालमा पित्तथैलीको अप्रेसन भएको थियो ।
एकबहादुरलाई मिर्गाैला दिनबेला अप्रेशन थियटरमा लगेपछि तुल्सीलाई डाक्टरहरूले कुरा गर्दागर्दै बेहोस बनाए । ‘डाक्टरहरूले यसअघि अपरेशन गर्दा कसरी बेहोस बनाएका थिए भनेर जिस्किदै कुरा गरिरहेका थिए, म त बेहोस भएछु’, तुल्सी भन्नुहुन्छ । तुल्सी र हाेमलाई एकै समयमा अपरेशन थियटरमा लगिएको थियो । तर देखादेख भएको थिएन ।
अप्रेशन सकेर होसमा आएपछि तुल्सीलाई आफ्नो भन्दा छोराको चिन्ताले धेरै पिरोल्यो। के भयो होला ? भनेर छटपटी भइरह्यो । आफन्तहरूले ठिक भने भनेर सुनाउँथे । कहिले भेटौँ भइरहेको थियो । आफू डिस्चार्ज भएर घर आएको ९ दिनपछि छोरा पनि डिस्चार्ज भएर घर आएपछि मात्रै उहाँले छोरालाई भेट्न पाउनुभयो।
तुल्सीलाई आफ्नै मिर्गौला दिएर छोरालाई बचाउने चाहना थियो । तर मिलेन अर्काे व्यक्तिसँग साटेर भएपनि छोराको जीवन रक्षा गर्न सकेकोमा निकै आनन्द महसुस भएको उहाँ सुनाउनु हुन्छ ।
होमबहादुर तुल्सीका जेठा छोरा हुन् । होमबहादुरका एक छोरा र एक छोरी हुनुहुन्छ ।
आफूलाई परेको अप्ठेरो देखेर मिर्गाैला दिने व्यक्तिबारे कानुन खुकुलो बनाउनु पर्ने माग हाेमबहादुरकी पत्नी शीरकुमारीको छ ।
‘हाडनाताबाट मिलेन भने त मान्छे मर्ने रै'छ नि धन्न साट्न मिल्ने भएकाले बचाउन सकियो’, उहाँ भन्नुहुन्छ, नत्र त परिवारमा मिर्गौला दिन कोही थिएन।’
सरकारले अब सजिलो बनाओस् भन्ने उहाँको आग्रह छ ।
२०७२ को संशोधनले सहज
नेपालमा नजिकका केही नातेदारबाहेकले अंग दान दिन नमिल्ने कानुन छ । मानव शरीरको अंग प्रत्यारोपण(नियमित तथा निषेध) ऐन २०५५ ले अंगदानमा बन्देज लगाएको छ ।
यस ऐनको दफा १४ को उपदफा १ मा अंग दान दिनसक्ने व्यक्तिबारे व्यवस्था गरिएको छ ।
परिवारका नजिकको नातेदारको अंग नमिली प्रत्यारोपण हुन नसक्ने अवस्था भएमा र त्यसरी प्रत्यारोपण गर्न खोजिएको अंग अर्को परिवारको सदस्यसाग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रुपमा एक अर्काको परिवारको सदस्यले अंग दिन मिल्ने ऐनमा भनिएको छ ।
यस ऐनमा यो व्यवस्था २०७२ को संशोधन पछि राखिएको धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले बताउनु भयो।
यसले धेरैको जीवन बचाउन मद्दत गरेको उहाँको भनाइ छ । डा.श्रेष्ठका अनुसार यो कानुन लागू भएदेखि यसरी अंगसाटासाट गरेर ३७ जोडिको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
तुलसा घिमिरे
केदार गौतम
तपाईँको अभिमत