कोरोना भाइरसको स्वरुपमा परिवर्तन : के निर्माणाधिन खोपहरुले काम गर्छन् ?
काठमाडौं । डेनमार्कमा भएको एक अध्ययनअनुसार कोरोना भाइरस (सार्स - कोभ - २ ) को नयाँ विशेष स्ट्रेनको जिन (क्लस्टर -५) पत्ता लागेको छ । उक्त स्ट्रेन डेनमार्कमा मात्र पाइएको छ ।
खास परिवर्तित नोवेल जिन पत्ता लागेको हुँदा विश्वमा कोभिड १९ विरुद्धको खोप निर्माणमा भैरहेको होडबाजीमा विश्वलाई नयाँ आयाम र तरंग प्रदान गरिने अड्कलबाजी सुरु भएको छ ।
डेनमार्कमा रहेको मिंक प्रजातिका जनावरमा कोरोनाको विशेष स्ट्रेन पाइएको छ, साथै उक्त मिंकहरुबाट केहि व्यक्तिहरुमा समेत त्यहाँ रहेको १ करोड ७० लाख मिंकलाई मार्ने योजना बनाएको छ ।
उक्त मिंक प्रजाति कोरोना भाइरसको नयाँ परिवर्तित स्ट्रेनको लागि भण्डार गृह साबित भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का आपत्कालीन अधिकारी क्याथरिन स्मलवुडका अनुसार यो परिवर्तित स्वरूप विश्वकै लागि ठूलो खतरा रहेको छ ।
क्याथरिनले मिंक प्रजातिका जनावरले डेनमार्कका जनतालाई नयाँ विशेष स्वरूपको भाइरस सार्नमा मद्दत गरेको र भविष्यमा मानिसबाट मानिसमा फैलिएर भयावह रुप लिनसक्ने बताउनुभएको छ ।
के हाल निर्माणको चरणमा रहेका विभिन्न खोप नयाँ स्वरूपको कोरोना भाइरस बिरुद्ध प्रभावकारी होला त ?
यो नयाँ तथ्य पत्ता लागेसगै हाल बेलायत, अमेरिका, चिन, रुस लगायत अन्य देशमा कोरोना बिरुद्ध खोप निर्माणमा जुटेका वैज्ञानिकहरुमा निर्माणको चरणमा रहेको खोपले नयाँ परिवर्तित स्वरूपको कोरोना भाइरस विरुद्ध प्रभावकारी हुन्छ या हुँदैन भनेर गम्भीर चासो र चिन्ता सृजना भएको छ ।
विकसित देशहरु अर्बौ डलर खर्चेर खोप निर्माणमा जुटेको बेला यो नयाँ स्वरूपको भाइरस विरुद्ध खोपले काम नगरेको खण्डमा खोप निर्माणमा ठूलो धक्का लाग्ने र अरबौँ डलर नोक्सान हुने चिन्ता बढेको छ ।
डब्ल्यूएचओले भने हाल निर्माण भैरहेका खोपहरुले नयाँ स्वरूपको भाइरस विरुद्ध काम गर्न सक्दैन भनेर भन्न हतार गर्न नहुने बताएको छ । डब्ल्यूएचओले परिवर्तित नयाँ स्वरूपको कोरोना भाइरसको विशेष अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्ने बताएको छ ।
साथै, उसले संसारको सबै देशहरुलाइ स्थानिय प्रमाण जुटाउन समग्र जिनोमी सिक्वेन्सिङका लागि सुझाव दिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्वमा नेपालमा कोरोना भाइरसको नोवेल स्ट्रेन छ या छैन भनेर पत्ता लगाउन समग्र जिनोमी सिक्वेन्सिङको कार्य सम्पन्न भै रिपोर्ट प्रकाशन हुने चरणमा छ ।
(लेखक नेपाल जनस्वास्थ्य संघका केन्द्रीय सदस्य तथा कोभिड १९ लगायत विभिन्न स्वास्थ्य अध्ययन अनुसन्धानमा सक्रिय रहनुभएको छ ।)
कमल रानाभाट
तपाईँको अभिमत