चिकित्सा शिक्षा आयोग र सीटीइभीटीको विवादबारे संसदीय समितिमा छलफल
चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीइभीटी)बीचको विवादका विषयमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको छ।
बिहीबार आयोगका पदाधिकारी र (सीटीइभीटी) का पदाधिकारीलाई राखेर समितिमा छलफल भएको हो । दुवै निकायका पदाधिकारीले ऐनका आधार आफ्ना कामलाई अघि खोज्दा क्षेत्राधिकारमा हस्तक्षेप भएको बताएका छन्।
सिंहदरबारमा बसेको समिति बैठकमा उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले आफ्नो संस्थाको ऐनका आधारमा काम गर्दा आयोगले हस्तक्षेप गरेको आरोप लगाउनुभयो।
दुई निकायको बुझाईमा एकरुपता नआउदा विवाद उत्पन्न भएको अधिकारीको भनाइ छ। चिकित्सा शिक्षामा सीटीइभीटीलाई आयोगमातहत ल्याउने प्रयास हुँदा समस्या भएको अधिकारीले बताउनुभयो।
आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले पनि आयोगले ऐनअनुसार काम गरेको दावी गर्नुभयो।चिकित्सा शिक्षाका बारेमा सीटीइभीटीलाई प्रश्न गरिएको तर हस्तक्षेप नगरेको गिरीले बताउनुभयो।
बैठकमा समिति सदस्यहरुले दुई निकायहरुले क्षेत्राधिकारमा स्पष्ट भएर गुणस्तरीय शिक्षा दिनुपर्ने धारणा राखेका थिए। दुई निकायबीच लामो समय विवाद हुँदा शिक्षामन्त्रालय मौन बस्दा समस्या लम्बिदै गएको भन्दै तत्काल राज्यले निकास दिनुपर्ने सुझाव दिएका थिए।
समितिका सभापति भानुभक्त जोशीले समस्या समाधान खोज्न शुक्रबारको बैठकमा यस विषयमा निरन्तर छलफल हुने बताउनुभयो।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी भएपछि पिसिएल नर्सिङलगायत चिकित्सा शिक्षा सबै सो कानुनको परिधिबाट सञ्चालन हुनुपर्ने आयोगको तर्क र आफ्नो बेग्लै कानुनका आधारमा विगतदेखि सञ्चालित नर्सिङ शिक्षालाई आयोगले हस्तक्षेप गर्न नहुने सीटीइभीटीको अडानका कारण दुई निकायबीच विवाद हुँदै आएको छ।
हेल्थपाटी
तपाईँको अभिमत