ओमीक्रोन ७७ वटा देशमा, अभूतपूर्व दरमा फैलदैछ : डब्ल्यूएचओ

तस्विर : एपी
कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन ७७ वटा देशमा पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । मिडिया ब्रिफिङका क्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोमले ओमीक्रोन भेरियन्ट अभूतपूर्व गतिमा फैलिरहेको बताउनुभयो ।
‘वास्तवमा ओमीक्रोन अरु धेरै देशहरुमा पनि हुनसक्छ, यद्यपी ती देशहरुमा ओमीक्रोनको पुष्टि हुन सकेको छैन, अहिलेसम्म पत्ता लागेको छैन ।’ टेड्रोसले भन्नुभयो - ‘यसको फैलावटको गतिलाई हामीले देख्न सकेका छैनौं, जुन यसअघिका भेरियन्टमा थियो । ’
‘मानिसहरु ओमीक्रोनलाई मध्यम मानेर सचेत भएका छैनन्, हामीले यो भाइरसको जोखिमलाई कम आँकलन गरिरहेका छौ,’ उहाँले सचेत गराउनुभयो ।
उहाँले यसले मानिसलाई कम गम्भिर बनाएपनि यसबाट बनाउने संक्रमितको संख्याले स्वास्थ्य प्रणालीलाई नै ओझेलमा पार्ने बताउनुभयो । खोपले मात्रै कोरोनाको संकटलाई टार्न नसक्ने उहाँको भनाइ छ । जनस्वास्थ्यका मापदण्ड : अनिवार्य मास्क, भौतिक दुरीको पालना, साबुनपानी हात धुनु, सेनेटाइज्ड नगर्ने हो भने खोपले मात्रै महामारी राेक्न नसक्ने उहाँले दोर्याउनुभयो ।
देशहरुबीच खोप वितरणमा ठुलो अन्तर रहेको भन्दै उहाँले ४१ वटा देशले अझैपनि १० प्रतिशत जनसंख्यालाई खोप लगाउन नसकेको तथ्य बताउनुभयो । ९८ प्रतिशत देशले ४० प्रतिशत जनसंख्यासम्म खोप पुर्याउन नसकेको उहाँले जानकारी दिनुभयो ।
उहाँले डब्ल्यूएचओ बुस्टर डोजको विरुद्धमा नरहेकाे भन्दै पहिलो प्राथमिकता सबै ठाउँका जीवनलाई जोगाउनु रहेकाे स्पष्ट पार्नुभयाे। खोप नलगाएकै कारण र धेरै देशमा अस्पताल भर्ना हुने र मृतकको संख्या बढिरहेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत