फोलिक एसिड नखाँदा बच्चामा देखिने स्पाइना बिफिडा के हो ?
स्पाइना बिफिडा एक जन्मजात समस्या हो, जुन गर्भावस्थाको समयमा हुन्छ । विशेषगरी मेरुदण्डको सबैभन्दा तल्लो भागमा स्पाइना बिफिडाको समस्या देखिन्छ ।
मेरुदण्डको विकास नभएको अवस्थालाई स्पाइना बिफिडा भनिन्छ । यो एक प्रकारको न्यूरल ट्यूब दोष डिफेक्ट हो । न्यूरल ट्यूब दोषले मेरुदण्डको हड्डी वा स्नायुको जराहरू लाई असर गर्नसक्छ । जरा, जुन मेरुदण्डबाट शरीरमा फैलिन्छ । शिशुको मेरुदण्डको विकास राम्रोसँग हुन नसकेको अवस्थालाई न्यूरनल ट्युव दोष भन्ने बुझिन्छ ।
न्यूरल ट्युबको दोष देखिनुको प्रमुख कारणमा गर्भावस्थामा फोलिक एसिड नखानु हो । फोलिक एसिडले स्नायु नली बनाउन मद्दत गर्छ । साथै फोलिक एसिडले डीएनए आनुवंशिक उत्पादन पनि गर्छ ।
फोलिक एसिडले नै शिशुको मस्तिष्कमा एनेस्सेफाली र मेरुदण्डमा स्पाइन बिफिडाको समस्या रोक्छ । पछिल्लो स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा १० हजार शिशुको जन्ममा ४ जनामा स्पाइना बिफिडाको समस्या देखिएको पाइएको छ ।
के हो ? फोलिक एसिड ?
फोलिक एसिड भिटामिन बी ९ हो । यसले शरीरका नयाँ कोसिका निर्माणमा सघाउँछ । फोलिक एसिड हामीले खानेकुरामा पनि पाउन सक्छौँ ।
फोलिक एसिड प्रजनन उमेरका महिलालाई प्रत्येक दिन ४०० माइक्रोग्राम चाहिन्छ। भात, पास्ता, रोटी, सागसब्जी, ब्रोकाउली बदाम, सूर्यमुखीको बिऊ लगायतमा फोलिक एसिड पाइन्छ ।
गर्भ रहेको ३ /४ महिनामै शिशुको दिमाग र मेरुदण्डको विकास हुने भएकाले फोलिक एसिड सन्तानको योजना बनाउनुभन्दा २ /३ महिनाअगावै खान उत्तम हुन्छ । किनकी धेरैजसो गर्भवती ३ महिनापछि मात्रै डाक्टरलाई जचाउँन पुग्छन्, जतिबेला फोलिक एसिड खाने समय पार भइसकेको हुन्छ र स्पाइना बिफिडाको जोखिम भित्रिसकेको हुन्छ ।
फोलिक एसिड औषधि स्वास्थ्य चौकीहरुमा निःशुल्क पाइन्छ । तर पनि गर्भवतीहरू नखाने समस्या छ । फोलिक एसिड र यो औषधि नखाँदा देखिनसक्ने जोखिमबारे गर्भवती तथा परिवार अनविज्ञ हुँदा नखाने गरिएको पाइन्छ । दोस्रो कुरा, यसबारे थाहा पाइहाले पनि फोलिक एसिड नियमित खान हेलच्याँक्राइ गरिन्छ ।
गर्भवतीहरू अल्ट्रासाउण्डमा बढी केन्द्रित हुने गरेको देख्छु । अल्ट्रासाउण्ड गर्ने बेलामात्रै स्वास्थ्य संस्था पुग्ने गर्छन् । जसका कारण उनीहरू ले बेलैमा गर्भावस्थामा ध्यान दिनुपर्ने विषयमा जानकारी पाउँदैनन् । फोलिक एसिड सामान्य लाग्छ तर यो औषधि नखाए जटिल समस्या देखिन सक्छ । तर हामी यो जटिल समस्यालाई रोक्न सक्छौ, यदि डाक्टरको सल्लाह अनुसार गर्भ रहेको ३ महिनासम्म फोलिक एसिड खायो भने यो जटिल समस्यालाई रोक्न सकिन्छ ।
फोलिक एसिड प्रजनन उमेरका महिलालाई प्रत्येक दिन ४०० माइक्रोग्राम चाहिन्छ । केहीले गर्भवतीले अल्ट्रासाउण्ड पनि बेला बेलामा नगर्ने हुँदा रोगको निदानमा कठिनाई हुन्छ । गर्भ रहेको ५ महिनामा एनोम्याली परीक्षण गर्नुपर्छ तर धेरैले यो परीक्षण गराएको पाइँदैन । यो परीक्षण जन्मपूर्व आनुवंशिक अवस्थाहरूको निदानका लागि गरिन्छ । साथै स्पाइना बिफिडा भए नभएको थाहा पाउन सक्छौं ।
स्पाइना बिफिडा गर्भमा छँदै या शिशु जन्मिसकेपछिको अवस्थामा अपरेशन गरेर उपचार गर्न सकिन्छ । नेपालमा भने जन्मिसकेपछि मात्रै अपरेशनको सहजता छ । स्पाइना बिफिडाको प्रकार अनुसार उपचारमा नतिजा निस्किन्छ ।
स्पाइना बिफिडाका प्रकार
१.स्पाइना बिफिडा ओकुल्टा
यो सबैभन्दा सामान्य र हल्का रुप हो । मेरुदण्डको जोर्नीहरूका बीचमा सानो खाली ठाँउ हुन्छ । यस किसिमको स्पाइना बिफिडा भएका शिशुहरुमा कुनै लक्षण नदेखिन पनि सक्छ वा मध्यम लक्षण देखिन्छन् । त्यस्ता लक्षणमा मेरुदण्डको भागमा कालो दाग देखिने वा पछाडि पट्टी सुन्निने हुन्छ । यो अवस्थामा शिशुमा दीर्घकालीन समस्या वा अशक्तता हुँदैन ।
स्पाइना बिफिडा अकुल्टामा कुनै लक्षण नदेखिने भएकाले बाल्यवस्था, युवावस्था वा कहिल्यै थाहा नहुन पनि सक्छ ।
२. मेनिङ गोसिल
यसलार्ई स्पाइना बिफिडाको मध्यम अवस्था मानिन्छ। यस प्रकारको स्पाइना बिफिडामा मेरुदण्डको पछाडि पट्टी पानीको फोका जस्तो देखिन्छ जुन सजिलै फुट्न सक्छ । यो अवस्थामा शिशुलाई सामान्य अशक्त बनाउन सक्छ ।
३. मेनिंगोमाइलोसिल अर्थात् खुला स्पाइना बिफिडा
स्पाइना बिफिडाको सबैभन्दा गम्भीर अवस्थालाई मेनिंगोमाइलोसिल भनिन्छ । मेरुदण्डको सबैभन्दा तल्लो भागमा छालाले ढाकिएको गाँठो जस्तो हुन्छ । यो गाँठोमा तन्तु र स्नायु हुन्छ । मेनिंगोमाइलोसिल भएको शिशुको मेरुदण्डमा क्षति पुगेको हुन्छ । यस्ता शिशुहरू हिड्न सक्दैनन् भने उनीहरुले दिसा पिसाबलाइ नियन्त्रण गर्न सक्दैनन् ।
रोगको निदान
स्पाइना बिफिडा गर्भावस्थाको समयमा वा शिशु जन्मेपछि पनि निदान गर्न सकिन्छ । गर्भावस्थाको समयमा स्पाइना बिफिडा वा अन्य जन्मदोषहरू जाँच गर्न स्क्रिनिङ परीक्षण गर्नुपर्छ।
(डा. अधिकारीसँग कुराकानीमा आधारित तयार पारिएको सामग्री)
हेल्थपाटी
तपाईँको अभिमत