सातै प्रदेशमा जलन उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका जलनका बिरामीले आफ्नै प्रदेशमा विशेषज्ञ उपचार पाउने व्यवस्था मिलाउन सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा उहाँले जलन उपचार सेवाको पहुँच विस्तारसँगै प्रमुख सरकारी अस्पतालमा सञ्चालित सेवालाई थप प्रभावकारी बनाउन आवश्यक तयारी अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो।
प्रधानमन्त्रीले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने वातावरण बनाउन सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा पनि जोड दिनुभयो।
बैठकमा सहभागी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)का उपकुलपति प्राडा विवेक आचार्यका अनुसार प्रधानमन्त्रीले जलन उपचार कक्ष सञ्चालन गरिरहेका अस्पतालको सेवा थप सुदृढ गर्न र प्रत्येक प्रदेशमा कम्तीमा एउटा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने गरी योजना अघि बढाउन निर्देशन दिनुभएको हो।
उहाँका अनुसार अहिले गम्भीर जलनका अधिकांश बिरामी सीमित अस्पतालमा मात्र उपचारका लागि पुग्न बाध्य छन्। यही अवस्थालाई परिवर्तन गर्न प्रदेशस्तरमै विशेषज्ञ उपचार सेवा विस्तार गर्नुपर्नेमा प्रधानमन्त्रीले विशेष चासो व्यक्त गर्नुभएको थियो।
छलफलका क्रममा प्रधानमन्त्री शाहले अस्पतालको समग्र सेवा सुधारमा पनि जोड दिनुभयो। अस्पतालमा सरसफाइको स्तर सुधार गर्न, बिरामीले सहज रूपमा सेवा पाउने वातावरण बनाउन तथा अनावश्यक भीड व्यवस्थापनका प्रभावकारी उपाय अवलम्बन गर्न उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।
बैठकमा उपकुलपति आचार्यले वीर अस्पतालले भोगिरहेको आर्थिक तथा व्यवस्थापकीय समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो। अस्पतालको आर्थिक अवस्था कमजोर बन्दै जाँदा सेवा सञ्चालनमै असर पर्न सक्ने अवस्था रहेको उहाँले अवगत गराउनुभएको थियो।
छलफलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नविसमानसिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङ तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. स्मृति काफ्ले सहभागी हुनुहुन्थ्यो।
हेल्थपाटी
तपाईँको अभिमत