२० वर्ष मुनिका २४ हजार ४४० लाई कोरोना संक्रमण
१० वर्ष उमेर समूहका ६४९४बालबालिकामा संक्रमण

तस्विर दि काठमाडौं पोष्ट
काठमाडौं । केहि दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका भएका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन ।
अहिले अधिकांश विद्यालयमा भौतिक उपस्थितिसहित पठनपाठन भइरहेका छन् । ती विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको पनि पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना अति प्रभावित जिल्लामा ‘विद्यार्थी नपठाउन’ अभिभावकलाई अपिल गरिए पनि कार्यान्वयन हुन सकिरहेको छैन ।
हालसम्म कोरोना संक्रमणबाट १० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ बालबालिका संक्रमित भएका छन् । ० देखि २० वर्ष उमेर समूहका २४ हजार ४ सय ४० मा संक्रमण देखिएको छ । तीमध्ये अधिकांश डिस्चार्ज भइसकेका छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ६ सय १६, प्रदेश २ मा ३ सय ५१ बालबालिका १० वर्ष उमेर समूहका संक्रमित छन् । बाग्मती प्रदेशमा सबैभन्दा बढी ३ हजार ४ सय ८६, गण्डकी प्रदेशका ३ सय ३०, लुम्बिनी प्रदेशका ६ सय ८९, कर्णाली प्रदेशका २ सय २० र सुदूरपश्चिम प्रदेशका ८ सय २ बालबालिकामा संक्रमण देखिएको छ । शुक्रबार देशभर ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार शुक्रबार ० देखि ९ वर्ष समूहका १५ र १० देखि १९ वर्ष समूहका ६६ बालबालिका कोरोना संक्रमित भएका छन् । सरकारले विद्यालय बन्द नगर्ने तर विद्यालयमा जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन रणनीति अघि सारेको छ ।
मन्त्रालयले स्थानीय तहमार्फत विद्यालय बन्द गर्न गरिएको निर्णय कार्यान्वयनमा ल्याउन र स्वास्थ्य मापदण्ड पालनमा आग्रह गरेको छ । शिक्षण संस्थाभित्र सभा तथा भीडभाड नगर्न सुझावसमेत दिइएको छ । शिक्षण संस्थामा मास्क तथा सेनिटाइजर अनिवार्य प्र यो गगर्ने ,साबु नपानीले हात धु ने र व्यक्तिमा सं क्रमण लक्षण पाइए तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्था प्रभावकारी बनाउन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार शिक्षण संस्था सञ्चालन गर्दा भीडभाड नहुनेगरी विद्यार्थी संख्या एवं संस्थाको मौजुदा पूर्वाधार एवं संस्था रहेको स्थान विशेषको संक्रमणको पछिल्लो अवस्थासमेत विचार गरी अघि बढ्न आग्रह गरिएको छ । यसका लागि स्थानीय तहसँग समन्वय एवं परामर्श गरी आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई सम्बन्धित संस्थाले सिकाइ क्रियाकलाप सञ्चालन व्यवस्था मिलाउनुपर्नेछ । तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने कुनै पनि कार्यक्रम आयोजना नगर्न आग्रह गरिएको छ ।
मन्त्रालयले ‘संक्रमण फैलिएको वा संक्रमण जोखिम उच्च भएको’ भनी पहिचान गरेका जिल्ला, सहर वा स्थान विशेषको हकमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णयबमोजिम त्यस्ता विद्यालय बन्द वा तोकिएबमोजिम सञ्चालन गर्न आग्रह गरेको छ ।
त्यस्तै, काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण अवस्था हेरेर विद्यालय बन्द वा सञ्चालन सम्बन्धमा निर्णय गर्ने योजना बनाएको छ । महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको हो ।
कामपामा हाल ९१ सामुदायिक र ६ सय ४५ संस्थागत गरी ७ सय ३६ विद्यालय छन् ।
अभिभावक महासंघ अध्यक्ष सुप्रभात भण्डारीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकाले विद्यालय सञ्चालन गर्न नहुने बताउनुभयो ।
एनप्याब्सन महासचिव सुवास न्यौपानेले वस्तुस्थिति सही मूल्यांकन गरेर सरकारले निर्णय गर्नुपर्नेमा जोड दिनुभएको छ । निजी विद्यालयको छाता संगठन प्याब्सन अध्यक्ष टीकाराम पुरीले अहिल्यै विद्यालय बन्द गर्न‘पर्ने अवस्था नरहेको भन्दै विकराल अवस्था आउनुअघि नै सबै मापदण्ड व्यवस्था गर्ने र नियमपालन गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, देशभर शुक्रबार थप ९ सय जनामा संक्रमण देखिएको छ ।
(पत्रकार वली राजधानी दैनिकमा कार्यरत हुनुहुन्छ । )
प्रसान्त वली
तपाईँको अभिमत