‘एशिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क सम्मेलन २०२५’ काठमाडौंमा सम्पन्न, जेरियाट्रिक सेवा विस्तारमा क्षेत्रीय विशेषज्ञहरूको साझा प्रतिबद्धता
‘एशिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) सम्मेलन २०२५’ काठमाडौंमा सम्पन्न भएको छ । जेरियाट्रिक सोसाइटी अफ नेपाल (जीएसएन) र एपीजीएनको संयुक्त आयोजनामा भएको एकदिने सम्मेलनमा विज्ञहरूले जेरियाट्रिक अर्थात् बुढ्यौली स्वास्थ्यमा सेवा विस्तार गर्न क्षेत्रीय सहयोग आदानप्रदान हुनुपर्नेमा प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सम्मेलन ‘फ्रम ओसियन टु द हिमालयजः ट्रान्सफर्मिङ जेरियाट्रिक केयर टुगेदर’ थिममा सम्पन्न भएको हो।
डिमेन्सिया, कग्निसन, मूभमेन्ट डिसअर्डर्स, स्ट्रोक, दीर्घरोग व्यवस्थापन, समुदाय–आधारित जेरियाट्रिक्स, नर्सिङ, फ्रेल्टी तथा ज्येष्ठ नागरिक हेरचाह जस्ता प्रमुख विषयमा अन्तर्राष्ट्रिय विज्ञहरूले प्रस्तुति दिएका थिए। नेपालसहित २० भन्दा बढी मुलुकका विशेषज्ञ, अनुसन्धानकर्ता र विश्वविद्यालय प्राध्यापकसहित १५० भन्दा बढी सहभागी उपस्थित थिए।
प्रधानमन्त्री शुशिला कार्कीले पठाएको शुभकामना सन्देशमा नेपालमा पहिलोपटक आयोजना भएको सम्मेलनले स्वस्थ र सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न क्षेत्रीय सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरिएको थियो। सरकारले ६२ अस्पतालमा जेरियाट्रिक सेवा विस्तार गरिरहेको तथा नीतिगत सुधारलाई प्राथमिकता दिएको पनि उहाँले सन्देशमा जानकारी गराउनुभएको थियो ।
सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले जेरियाट्रिक सेवा, ज्येष्ठ नागरिक–मैत्री संरचना र समुदाय–आधारित हेरचाह प्रणालीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एपीजीएनका अध्यक्ष प्रा. लिओन फ्लिकरलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको सम्मेलनमा फ्रेल्टी रोकथाम,‘मेडिसिन ३.०’, स्ट्रोक रिह्याबिलिटेसन, घरमै जेरियाट्रिक सेवा तथा न्यून–आय मुलुकमा लागू गर्न सकिने हेरचाह मोडलहरूबारे पनि महत्त्वपूर्ण छलफल भएको थियो।
जीएसएनका अध्यक्ष डा. उमेश बोगटीले स्वस्थ, सम्मानजनक र अर्थपूर्ण बुढ्यौलीका लागि क्षेत्रीय सहकार्य अत्यावश्यक रहेको बताउँदै नेपालले यस सम्मेलनमार्फत जेरियाट्रिक सेवा विकासमा महत्वपूर्ण कदम अघि बढाएको बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत