अस्पतालको भीड व्यवस्थापन गर्न के-के काम भयो ? स्वास्थ्य मन्त्री र अस्पताल प्रमुखबीच छलफल
अस्पतालको भीड व्यवस्थापन र सेवा सुधारबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले अस्पताल प्रमुखस्रँग छलफल गरेका छन् ।
शुक्रबार बिहान मन्त्री पौडेलले भर्चुअल मिटिङ आयोजना गरी देशभरका मुख्य अस्पतालहरुसँग छलफल गरेका हुन् । भर्चुअल मिटिङमा मन्त्री पौडेलले अस्पतालको भीड व्यवस्थापन गर्न के–के योजना अगाडि बढ्यो भनेर अस्पताल प्रमुखहरुसँग जानकारी माग गरेका थिए ।
भर्चुअल मिटिङ बिहान ९:३० बजेबाट १०:३० बजेसम्म चलेको थियो ।
मन्त्री पौडेलले यही साउन ४ गते संघीय अस्पताललाई भीड व्यवस्थापनका लागि ९ बुँदे सर्कुलर जारी गरेका थिए। उक्त सर्कुलर कार्यान्वयन भए नभएको र थप योजना के–के लागू भयो भन्नेबारे मन्त्री पौडेलले जानकारी लिएका थिए।
‘सेवा प्रवाह गर्न भएका प्रयास के के भए ?, 'निर्णयबमोजिम नागरिकलाई सहज तरिकाले सेवा प्रवाहका लागि कुन-कुन विषय कार्यान्वयन गर्नुभयो ? तपाईंहरूका कार्यक्रम के–के छन् ? ९ बुँदे बाहेक सेवा प्रवाह सहज बनाउन के-के विषयमा सेवा थप गर्नुभयो ? जानकारी गराइदिनु होला’ मन्त्री पौडेलले अस्पताल प्रमुखहरूलाई आग्रह गरेका थिए ।
अस्पताल प्रमुखहरुले सेवा प्रवाह सहज बनाउन आ–आफ्ना अस्पतालमा गरिएका प्रयासबारे मन्त्रीलाई जानकारी गराएका थिए ।
जसमा आधिकांश अस्पतालहरूले दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गरेको, केही अस्पतालमा बिस्तारित सेवा लागू गरेको, चिकित्सकको राउण्ड, बिरामी भर्ना, डिस्चार्जमा समय व्यवस्थापन गरि सहजीकरण सुरु गरेको, ओपीडी र शल्य क्रियाहरूमा युनिट थप गरेको जानकारी गराएका थिए ।
स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै अस्पतालमा औषधिको उपलब्धता कम भएको र औषधिको गुणस्तर समेत कम रहेको हुँदा थप चुनौती बढेको गुनासो पनि अस्पताल प्रमुखहरूको थियो।
भीड व्यवस्थापनका लागि काम सुरु गरेको, काउन्टर थप गरेको, टोकन प्रणाली लागू गरेको, अनलाइन टिकट व्यवस्थापन गरेको, विद्युतीय भुक्तानी प्रणाली व्यवस्थित गरेको, स्वयंसेवक परिचालन गरी सूचना तथा जानकारी सहज बनाउने प्रक्रिया सुरु गरिएको, सोधपुछ तथा गुनासो सुन्ने कक्ष व्यवस्थित गरेको जस्ता विषय मन्त्रीसमक्ष जानकारी गराएका थिए ।
अस्पताल प्रमुखहरूको ब्रिफिङपछि मन्त्री पौडेलले विभिन्न विषयमा अनुरोध तथा निर्देशन दिएका थिए । 'सरकारी अस्पतालप्रति आम नागरिकको गुनासो बढेको बढ्यै छ, अस्पताल सफा हुन्न, सफा खाने पानी छैन, लाइन लामो हुन्छ, अपरेसनको पालो एक वर्षपछि आँउछ भन्नेजस्ता सामान्य कुरामा पनि नेगेटिभ कुरा धेरै भयो, अत्यन्तै गम्भीर भएर व्यवस्थापन गरिदिनुस्' मन्त्रीले निर्देशन दिएका थिए।
डिउटीको समयमा अनिवार्य अस्पतालमै रहन, यसलाई कडाइका साथ लागू गर्न उनले निर्देशन पनि दिए। 'हामीसँग साधन स्रोत भौतिक संरचना, जनशक्ति पनि कम छ' मन्त्री पौडेलले भनेका थिए, 'यो दीर्घकालीन योजना अन्तर्गत रहेर, थप छलफल गरेर कार्यान्वयन गर्नुपर्छ । तर, अहिलेलाइ उपलब्ध साधन स्रोत र भौतिक संरचना जे जस्तो छ त्यहीभित्र पनि सुधारको काम हामीले गर्नुपर्छ।'
ल्याब रिपोर्ट लिने, टोकन लिने लगायतका सबै सेवालाई अनलाइन गर्न मन्त्रीले निर्देशन दिए ।अस्पतालको पेज वा कुनै अनलाइन माध्यमबाट आवश्यक सूचना तथा जानकारी दिन पनि उनले आग्रह गरे । अस्पतालमा कति बेड छ ? अपरेसनको समय उपलब्धता कस्तो छ ? आइसीको अवस्था लगायतका विषयमा सूचना राख्न आग्रह पनि मन्त्री पौडेलले दिए ।
'आम नागरिकलाइ सहज हुने जुनसुकै महवपूर्ण कुरा सार्वजनिक गरौँ र पारदर्शी बनाऔ' मन्त्री पौडेलले भने, ' समग्र सरकारी अस्पतालको फार्मेसीलाई व्यवस्थित बनाऔं, गुण्स्तर औषधीको उपलब्धतालाई सुनिश्वित गरेर निशुल्क स्वास्थको दायित्व पुरा हुने अवस्था बनाऔं”
सचिव रोशन पोखरेलले सर्जरीका लागि लामो लाइन हुने, सर्जरीहरू अर्जेन्ट हुदैनन्, अर्जेन्टबाहेक रूटिन सर्जरीहरू कुर्न सकिने कुरा बिरामी र आफन्तहरुलाई राम्ररी बुझाइदिन अनुरोध गरे । आकस्मिक कक्षमा कसरी क्षमता बढाउन सकिन्छ भन्नेमा प्रयास गर्न अनुरोध पनि पोखरेलले गरे। अस्पतालको फार्मेसीमा सबै औषधी उपलब्ध गराउन अनुरोध समेत उनले गरे ।
भर्चुअल मिटिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, अतिरिक्त स्वास्थ्य सचिव, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख लगयतको सहभागिता थियो।
हेल्थपाटी
तपाईँको अभिमत