अबदेखि वीर अस्पतालमा जनरल बेडको पैसा नलाग्ने
अबदेखि वीर अस्पतालमा जनरल बेड प्रयोग गरेवापत् बिरामीले पैसा तिर्न नपर्ने भएको छ ।
यसअघि जनरल बेडकाे प्रतिबेड दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो । वीर अस्पतालमा जम्मा ९६० वटा बेड छन् जसमा ७०० जनरल बेड छन् भने २६० वटा आइसियु, क्याबिन, एचडियु बेड रहेका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को सहकुलपति एवं स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा न्याम्सको कार्यकारी परिषदले जनरल बेड निशुल्क गर्ने निर्णय गरेको हो ।
न्याम्सका उपकुलपति प्राडा.भुपेन्द्र बस्नेतले अस्पतालमा रहेका ९६० बेडमध्ये जनरल बेड निशुल्क गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । क्याबिन र आइसियुको शुल्क भने यथावत राखिएको उहाँले जानकारी दिनुभयो । नागरिकलाई सुलभ स्वास्थ्य दिनपर्ने कुरालाई मध्यनजर गर्दै जनरल बेड निशुल्क गरिएको बस्नेतको भनाइ छ ।
‘वीर अस्पताल गरिब विपन्नको अस्पताल हो, हामीले सरकारसँग सहयोग लिने हो र जनतालाई सुलभ उपचार दिने हो । बस्नेतले भन्नुभयो ‘सहकुलपतिको निर्देशनमा कार्यकारी परिषद्ले जनरल बेड निशुल्क गर्ने निर्णय गरिएको हो ।’
क्याबिनमा सिंगल डबल, ट्रिपल बेड हेरि दैनिक २ हजारदेखि ३ हजार शुल्क तिर्नपर्नेछ भने आइसियको प्रतिदिन ३ हजार शुल्क लाग्नेछ ।
जनरल बेड निशुल्क गर्दा अस्पताललाई वार्षिक झण्डै वार्षिक ७ करोड आर्थिक भार पर्ने र यो भार क्याबिन, आइसियुको शुल्क, अपरेशको संख्या बढाएर व्यवस्थापन गरिने उहाँले बताउनुभयो । आवश्यक परे सरकारसँग पनि आर्थिक सहयोग मागिने बस्नेतले जानकारी दिनुभयो ।
बिहिबार उपकुलपतिमा प्राडा.भुपेन्द्र बस्नेत, रेक्टरमा डा. लोचन कार्की, रजिष्ट्रारमा डा. ज्ञानेन्द्र शाह र डिनमा डा. अशेष ढुंगानालाई नियुक्त हुनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत