क्लिनिकल फेलोसिप सुरु गर्न राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई स्विकृति प्रदान
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा क्लिनिकल फेलोसिप कार्यक्रम सञ्चालन हुने भएको छ ।
नेपाल मेडिकल काउन्सिलले निरीक्षण गरी फेलोसिप कार्यक्रम सञ्चालनको स्विकृति दिएको छ । काउन्सिलले प्रत्यारोपण केन्द्रलाई स्विकृति पत्र २०८१ कार्तिक ४ गते प्रदान गरेको छ ।
स्विकृत कार्यक्रम अनुसार किड्नी ट्रान्सप्लान्ट सर्जरी (मिर्गाैला प्रत्यारोपण शल्यक्रिया) र रेनल ट्रान्सप्लान्ट मेडिसिन (मिर्गाैला प्रत्यारोपण औषधि)मा एक / एक वटा फेलोसिप रहेको छ । फेलोसिप कार्यक्रम एक वर्षको रहेको छ ।
प्रत्यारोपण केन्द्रले फेलोसिप कार्यक्रम सञ्चालनका लागि काउन्सिललाई प्रस्ताव गरेको थियो । केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले कार्यक्षमता र गतिविधिलाई मूल्याङ्कन गरेर स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पहलमा फेलोसिप कार्यक्रम सञ्चालन हुन लागेको जानकारी दिनुभयो ।
श्रेष्ठले केन्द्रलाई प्रतिष्ठानका रूपमा विकास गरी जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले हेल्थपाटीसँगको कुराकानीमा नेपालमा प्रत्यारोपण अनुपातमा जनशक्ति कम रहेको बताउँदै उपचारात्मक प्रत्यारोपण सेवामा आवश्यकता अनुसार जनशक्ति अभिवृद्धि गराउन फेलोसिप कार्यक्रम जरुरी रहेको बताउनुभयो ।
उहाँले फेलोसिप कार्यक्रमपछि प्रत्यारोपण सेवालाई सातै प्रदेशमा विस्तार गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफू मन्त्री भएदेखिनै केन्द्रलाई जग्गा उपलव्ध गराउन लागि परिरहेको बताउँदै त्यसका लागि प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।
केन्द्रमा अहिलेसम्म १ हजार ३१६ मिर्गाैला र ३० वटा कलेजो प्रत्यारोपण भइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत