भारतबाट आएर डाक्टर पढ्दै पशुपतिमा चिया बेचिरहेकी सौम्या (भिडियो)
दुवै हातमा थर्मस बोकेर बिहान–बिहान पशुपतिको मृगस्थलीमा यताउता डुलिरहेकी हुन्छिन् एक युवती । 'दाइ चिया खानुहुन्छ ? दिदी चिया खानुहुन्छ ?' मर्निकवाकमा आउने धेरैलाई यही प्रश्न गर्दै उनी घुमिरहेकी हुन्छिन् ।
कोही उनको चिया पिउन तयार हुन्छन्, कोही खिस्स हाँसेर मुन्टो हल्लाउँदै अघि बढ्छन् । 'ओहो ! एमबीबीएस पढ्ने नानी भनेको तिमी नै हो ?', उत्सुक मुद्रामा उनलाई हेर्दै थप प्रश्न तेर्स्याउने पनि धेरै भेटिन्छन् ।
करिब एक महिनादेखि यो क्षेत्रमा आएर चिया बेचिरहेकी यी युवतीले एक खालको चर्चा पाइसकेकी छिन् । उनी हुन्- भारतको दिल्ली निवासी सौम्या मिश्रा।
सौम्या नेपाल बस्न थालेको चार वर्ष भयो । उनी काठमाडौं मेडिकल कलेजमा एमबीबीएस पढ्दैछिन् ।
भर्खरै उनले एमबीबीएस तेस्रो वर्षको परीक्षा सक्काइन् ।
नेपाल आउनुभन्दा पहिला सौम्यालाई थाहा थिएन, पशुपतिनाथ नेपालमै छ भनेर । पशुपतिबाट सबैभन्दा नजिकको मेडिकल कलेजमै आफू पढ्न आएको थाहा पाउँदा उनी निकै हर्षित भइन् । यसलाई आफ्नो भाग्य ठान्छिन् सौम्या ।
भारतमा भन्दा नेपालमा सिट पाउनका लागि प्रतिस्पर्धा कम हुने र शुल्क समेत सस्तो हुने जानकारी पाएर उनी यहाँ पढ्न आएकी हुन् ।
दुई वर्ष दुवाकोट पढेर तेस्रो वर्षमा सिनामंगल आएपछि उनी बेला-बेला पशुपति गइरहन्थिन् ।
बिहान–बिहान जाँदा उनले धेरैले चिया बेचिरहेको, चिया खान मान्छे भीड लागेको देखिन् । उनलाई लाग्यो– म पनि ट्राइ गर्छु । ‘यहाँ कुनै पार्टटाइम काम गर्न पाए हुने भन्ने सोचिरहेकी पनि थिएँ' सौम्या भन्छिन्, 'पशुपतिमा चिया बेच्न सकिँदो रहेछ भन्ने थाहा भयो । एक पटक ट्राइ गर्छु भन्ने लाग्यो ।’
सौम्या एउटा थर्मसमा चिया, एउटामा कफी बोकेर आइन् । अलमलिएको देखेर कुन ठाउँमा चिया बिक्छ भनेर सुझाव दिए धेरैले । कफी दूध चिया बिक्दैन, कालो चिया, ग्रीन टी बेच्नुपर्छ भनेर पनि सुझाव दिए ।
सुझाव दिनेले जे–जे भन्दै गए, उनले त्यसै गर्दै गइन् अनि उनको व्यापार बढ्न थाल्यो ।
सबै चिया बिक्री हुँदा दैनिक ८–९ सय कमाइ हुने सौम्या सुनाउँछिन् । पढाइ खर्च जुटाउनकै लागि उनले चिया बेचेकी भने होइनन् । उनलाई आवश्यक खर्च अभिभावकले पठाइरहेका छन् । कमाएको पैसा कुनै खर्च नगरी बचत गरेर राखेकी छिन् ।
आफूले चिया बेचेको उनले घरमा कसैलाई जानकारी दिएकी छैनन् । पढाइ सकेर घर फर्किएपछि जम्मा गरेको पैसा बुबा, आमालाई दिएर सर्प्राइज दिने उनको धोको छ ।
‘म चाहन्छु यो कुरा मेरा अभिभावकलाई थाहा नहोस्’ सौम्या भन्छिन्, ‘मेरो पहिलो कमाइको रुपमा उहाँहरूलाई सप्राइज दिने मन छ।’
केही दिनअघि एक महिलाले उनको भिडियो खिचेर सामाजिक सञ्जालमा हालिदिइन् । त्यसपछि सौम्या केही भाइरल भइन् ।
‘एमबीबीएस पढ्ने तिमी नै हो ? मैले तिम्रो भिडियो हेरेको थिएँ’ भन्नेहरू धेरै भइसके।
उनीसँगै पढ्ने साथीहरूले पनि यो कुरा थाहा पाए । मिल्ने साथी भएर पनि चिया बेचेको कुरा आफूलाई नभनेको भनेर केही साथीले सौम्यासँग गुनासो पनि गरे ।
चार वर्ष यहाँ बस्दा उनले अलिअलि नेपाली बोल्न पनि सिकेकी छिन् । नेपाली बोलेरै उनी चिया बेच्छिन् ।
सुत्ने समय केही बचाएर चिया बेच्न आउने गरेकोले पढाइमा असर नपर्ने सौम्या सुनाउँछिन् । परीक्षा भएका बेला भने उनी चिया बेच्न आइनन् ।
बिहान ४ बजे पशुपति आउने उनी साढे ७ बजेसम्म बस्छिन् ।
मेडिकल विषय पढ्न थालेपछि कम सुत्ने बानी परिसकेकोले सहज भएको सौम्या बताउँछिन् ।
जोसुकै व्यक्तिले जस्तो काम गर्न पनि मिल्छ, काम सानो ठूलो हुँदैन भन्छिन् उनी । 'डाक्टर पढ्नेले पनि किन यस्तो काम गरेको' पनि भन्छन् कसैकसैले ।
धेरैले चाहिँ हौसला दिइरहेको, प्रोत्साहन गरिरहेको उनी सुनाउँछिन् । नेपालीले दिएको हौसला, माया र सहयोगप्रति उनी निकै आभारी छिन् ।
तपाईँको अभिमत