आज काठमाडौं अत्याधिक प्रदुषित, आँखा तथा श्वासप्रश्वासमा समस्या
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदुषण बढेको छ । केहीदिन यता धुम्म देखिएको काठमाडौंमा प्रदुषण बढ्दा सर्वसाधरणहरुले आँखा पोलेको महसुस गरेका छन् । प्रदुषण बढेसँगै सर्वसाधरणको आँखा पोल्ने चिलाउने साथै घाँटी खस खस गर्ने र श्वाश्प्रश्वासमा समस्या देखिएको छ ।
वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको छ । वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्र एक्यूआईले जोखिमको तह नाघेको बताएको छ ।
केन्द्रका अनुसार ललितपुरको भैंसेपाटीमा वायुको गुणस्तर सूचकांक ४७०, भक्तपुरमा ३०५ र सिमरामा २४८ पुगेको छ । एक्युआई ३ सय नाघे विपद्को रूप लिने भनिएको छ । एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।
विज्ञहरुका अनुसार एक्यूआई बढ्दै गएपछि जोखिम पनि बढ्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ ।
देशका धेरै स्थानमा एकैपटक डढेलो लागेको र लामो समयदेखिको खडेरीका कारण वायुमण्डलमा प्रदूषण बढ्न गएको विज्ञहरुले बताएका छन् । बिहीबार एकैदिन ४७९ स्थानमा डढेलो लागेको थियो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रदूषणका कारण भिजिबिलिटीसमेत घटेको र वर्षा नभएसम्म यो प्रदूषणको तह नघट्ने जनाएको छ । विज्ञहरुले प्रदूषण नघटेसम्म अनावश्यक घरबाट बाहिर ननिस्कन सर्वसाधरणलाई आग्रह गरेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत