काठमाडौंका नामुद अस्पतालले १३ हजारमा स्टाफ नर्स नियुक्त गरेका छन् : स्वास्थ्य मन्त्री यादव
नाम चलेका ठूला अस्पतालले नै नर्सको श्रम शोषण गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले बताउनुभएको छ । स्टार अस्पतालले सञ्चालनमा ल्याएको रक्तसञ्चार सेवा केन्द्रको शुक्रबार उद्घाटन गर्दै मन्त्री यादवले उपत्यकाका ‘नामूद’ अस्पतालले नै नर्सहरूको श्रम शोषण गरिरहेको आरोप लगाउनुभएको हो ।
‘सबैलाई त म भन्दिनँ । कतिपय यस्ता निजी अस्पताल छन्, जसले श्रम शोषण गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘उपत्यकाको एक नामुद अस्पतालले १३ हजारमा स्टाफ नर्सलाई नियुक्ति दिएको छ भन्ने जानकारी आएको छ । यो शोषण हो कि होइन ?’
यसरी सरकारले तोकेको न्यूनतम पारिश्रमिक पनि अस्पतालले नदिँदा नर्सहरू निराश भएको मन्त्री यादवको भनाइ छ । नेपालमा राम्रो पारिश्रमिक नहुँदा नर्सहरू विदेशिन बाध्य भइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘स्वदेशमा राम्रो सेवा सुविधा छैन, यसो हुँदा नर्सहरू पासपोर्ट बोकेर किन दूतावासहरूमा नपुगुन् त ?’, उहाँले भन्नुभयो ।
उहाँले डाक्टरले मात्रै अस्पताल सञ्चालन नहुने भन्दै स्टार्फ नर्सलाई पनि सम्मानजनक सेवा सुविधा दिन निजी अस्पतालहरूलाई आग्रह गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत