विश्वभर कोरोना संक्रमण घट्दो : विश्व स्वास्थ्य संगठन
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) विश्वभर कोरोना भाइरस संक्रमणका केस घटिरहेको बताएको छ । डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस अधानोमले विगत ८ हप्तादेखि संक्रमण, ७ हप्तादेखि मृत्यु संख्या घटिरहेको र यो खुशीको खबर रहेको बताउनुभयो ।
तरपनि संक्रमण र मृत्यु अझैपनि उच्च नै रहेको उहाँको भनाइ छ । गतहप्ता २५ लाख संक्रमित थपिएको र ६४ हजार व्यक्तिको मृत्यु संक्रमणका कारण भएको उहाँले जानकारी दिनुभयो । यो तथ्यांक अनुसार अहिले प्रति मिनेट ६ जनाको मृत्यु कोरोनाका कारण भइरहेको छ भने प्रतिमिनेट २५० जना नयाँ संक्रमित थपिरहेका छन् ।
‘अफ्रिकामा गत हप्ता संक्रमण र मृत्यु दुवै ४० प्रतिशतले बढेको छ, केही देशहरुमा मृत्यु तीन गुणासम्म बढेको छ । टेड्रोसले भन्नुभयो, अधिकांस मृत्यु वेवास्ताका कारण भइरहेको छ । यसरी केस बढ्नुको कारणमा कोरोनाको नयाँ प्रजातीहरु देखिनु, भौतिक दुरी कायम नराख्नु, स्वास्थ्यका अरु मापदण्ड पालना नगर्नु र खोपको असमान वितरण रहेको डब्ल्यूएचओको भनाइ छ ।
उच्च आयस्रोत भएका देशहरुमा खोपको पहुँच धेरै छ तर कम आयस्रोत भएका देशहरुमा त्यसो हुन सकिरहेको छैन, टेड्रोसले ब्रिफिङका क्रममा जानकारी दिनुभयो । हालसम्म विश्वमा १७ करोड ९० लाख ६५ हजार ८२३ जनामा संक्रमण पुष्टि भएको छ भने ३८ लाख ८६ हजार ३४७ जनाको मृत्यु भएको छ । अहिलेसम्म २ अर्ब ६२ करोड ४७ लाख ३३ हजार ७७६ जनाले कोरोना विरुद्धको खोप पाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत