दैनिक १४ हजार लिटर, असार मसान्तसम्म ४ अर्व लीटर अक्सिजन आवश्यक
निजि अस्पतालले हात उठाए
काठमाडौं । देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ । अधिकांश कोरोना संक्रमितलाई अक्सिजन आवश्यकता पर्ने देखिए पनि अभाव हुँदा उनीहरूले छटपटाउनुपर्ने बाध्यता आइपरेको छ ।
अक्सिजन अभावमा केही निजी तथा सरकारी अस्पतालले समेत ‘संक्रमित उपचार गर्न नसकिने’ बताइसकेका छन् । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा आइतबार उपचारका लागि पुगेका संक्रमितका आफन्त गोविन्द शर्माले अक्सिजन नहुँदा समस्या भएको गुनासो गर्नु भयो । ‘के गर्ने होला ? अस्पतालमै पनि रहेनछ,’ उहाँ भन्नुहुन्छ, ‘अब कहाँ खोज्न जाने होला ?
ओम अस्पतालले अक्सिजन अभावका कारण नयाँ कोभिड बिरामी भर्ना गर्न नसक्ने स्पष्ट पारेको छ । उसले आइतबार सूचना जारी गर्दै अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको हो ।
सरकारको नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएपछि बिरामी उपचारका लागि तत्पर र तीव्र इच्छा हुँदाहुँदै उपचार गर्न असमर्थ रहेको अस्पतालले जनाएका छन् । ‘अस्पतालले अक्सिजन छैन भन्यो अनि खाली सिलिन्डरसहित अक्सिजन खोज्दै बालाजु औद्योगिक क्षेत्र आएको हुँ,’ संक्रमितका एक आफन्तकाे दुखेसाे ।
यसअघि, अल्का अस्पताल, मेडिकेयर अस्पताल, लिमिटेड, नेपाल भारतमैत्री अस्पताल, दीर्घायु अस्पताल, हेल्पिङ ह्यान्डले अक्सिजन अभाव भएको बताइसकेका छन् ।
अक्सिजन कार्यदल गठन
सरकारले कोरोना संक्रमित उपचारमा आवश्यक अक्सिजन सहज उपलब्ध गराउन कार्यदल गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो ।
कार्यदलमा गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तथा वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पतालका एकएक चिकित्सक छन् ।
सरकारले आगामी असार मसान्तसम्म झण्डै चार अर्व लीटर अक्सिजन खपत हुने अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५ संक्रमितका लागि तीन अर्व ८५ करोड ३२ लाख ९७ हजार ६ सय १७ लीटर अक्सिजन खपत हुने आँकलन छ । स्वास्थ्य मन्त्रालयले मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्वन्धि मापदण्ड २०७८ जारी गर्दै यस्तो अनुमान गरेको हो ।
आइसीयु/भेन्टिलेटरमा बैशाख मसान्तसम्म दुइ हजार दुइ सय ८५ जना, जेठमा तीन हजार २३ र असारमा तीन हजार ६ सय ९८ जना भर्ना भइ मेडिकल अक्सिजनको आवश्यक पर्ने अनुमान गरीएको छ ।
एच.डी.यु.मा बैशाख मसान्तसम्म पाँच हजार तीन सय ३१, जेठ मसान्तसम्म सात हजार ५३ र असार मसान्तसम्म आठ हजार ६ सय २८ जनालाई मेडिकल अक्सिजनको आवश्यकता पर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, बैशाख मसान्तसम्म सात हजार ६ सय १६, जेठ मसान्तसम्म १० हजार ७५ र असार मसान्तसम्म १२ हजार तीन सय २६ जनालाई साधारण अक्सिजन बेड आवश्यक पर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बैशाखमा ९७ करोड ७६ लाख ५६ हजार सात सय ८१ लीटर, जेठमा चालीस करोड ६२ लाख ४० हजार एक सय २८ लीटर, र असारमा ४९ करोड ६९ लाख ८४ हजार तीन सय २० लीटर मेडिकल अक्सिजन खपतको अनुपात गरीएको छ । असारसम्म पाँच लाख ६६ हजार ६ सय ६१ अक्सिजन सिलिण्डर खपत(४६ ली.साइज) खपत हुने अनुमान गरीएको छ ।
यसैबिच, आइसीयू र भेन्टिलेटरमा रहेका कोरोना संक्रमितलाई दैनिक १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइसीयु र भेन्टिलेटरमा राखि उपचार गर्नुपर्ने गम्भिर प्रकृतिका विरामीका लागि प्रति दिन औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने देखिएको छ । १० लिटर प्रति मिनेटका दरले दैनिक १४ हजार लिटर अक्सिजन चाहिने स्वास्थ्य मन्त्रालय बताउँछ ।
स्वास्थ्य मन्त्रालयले मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड २०७८ जारी गरेको छ । जसमा एच.डी.यु.मा राख्नुपर्ने जटिल विरामीका लागि प्रतिदिन औसतमा १२ हजार लिटर अक्सिजन आवश्यक पर्ने उल्लेख छ । आठ लिटर प्रति मिनेटका दरले दैनिक १२ हजार लिटर अक्सिजन चाहिने स्वास्थ्य मन्त्रालय बताउँछ ।
यस्तै, अस्पतालमा अक्सिजन सहित उपचार गर्नुपर्ने विरामीका लागि प्रतिदिन औसतमा १२ हजार लिटर अक्सिजन आवश्यक पर्ने मापदण्डमा उल्लेख छ ।
मेडिकल अक्सिजनको आवश्यकतादर औंल्याउँदा १० जना विरामीलाई आइसीयुमा राखेर उपचार गर्दा प्रतिदिन एक लाख ४० हजार चार सय लीटर अक्सिजन र २१ सिलिन्डर आवश्यक पर्छ । ५० जना विरामीलाई एच.डी.यु.मा राखेर उपचार गर्दा प्रतिदिन ५ लाख ९७ हजार ६ सय लिटर अक्सिजन र ८८ सिलिण्डर आवश्यक पर्छ ।
कोभिड १९ उपचारका लागि तोकिएका अस्पतालहरुले बेड संख्याका आधारमा कम्तिमा सात दिनका लागि मेडिकल अक्सिजन मौज्दात राख्नुपर्ने मापदण्ड बनाइएको छ ।
(वली राजधानी दैनिकमा स्वास्थ्य विषयमा कलम चलाउनुहुन्छ ।)
प्रसान्त वली
तपाईँको अभिमत