नेपालको २५ प्रतिशत स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा
विश्व स्वास्थ्य संगठनमा कार्यरत मनोचिकित्सक डा. केदार मरहठ्ठाले नेपालमा रहेका स्वास्थ्य संस्थाहरुमध्ये एक चौथाई अर्थात् २५ प्रतिशत स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा प्रवाह भइरहेको जानकारी दिनुभएको छ ।
मानसिक स्वास्थ्य सेवा दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सो जानकारी दिँदै प्राथमिक स्वास्थ्य संस्थादेखि अस्पतालसम्म मानसिक स्वास्थ्य सेवाको विस्तार गर्नपर्ने आवश्यक रहेको बताउनुभयो ।
उहाँले मानसिक स्वास्थ्यका विषयमा राष्ट्रिय स्तरमा बहस र प्रतिवद्धताहरु भइरहेपनि त्यो व्यवहारमा लागू गर्न नसकिरहेको बताउनुभयो । विश्व स्वास्थ्य संगठनले अधिकारमा आधारित मानसिक स्वास्थ्य कार्यक्रम अघि बढाउन लागेको पनि डा.मरहठ्ठाले जानकारी दिनुभयो ।
यस्तै कार्यक्रममा कोशिश नामक संस्थाका कार्यकारी निर्देशक मातृकाप्रसाद देवकोटाले मानसिक स्वास्थ्यप्रति हेर्ने समाजको दृष्टिकोणलाई परिवर्तन गर्न सचेतनामूलक कार्यक्रमहरु गर्नपर्ने आवश्यकता औल्याउनुभयो ।
उहाँले मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएर पुर्नस्थापना हुन खोज्दा समाजबाट अवरोध हुने गरेको बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य समस्यामा रहेका व्यक्तिलाई सामाजिक पुर्नस्थापनाको आवश्यक रहेको बताउनुभयो ।
मानसिक स्वास्थ्य रोकथाम र प्रवद्र्धनमा वजेट नछुट्याइएको उहाँले बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य रोकथाम र प्रवद्र्धनका लागि स्वास्थ्य मन्त्रालयमा उच्चस्तरीय संयन्त्र बनाउनु जरुरी रहेको बताउनुभयो ।
टिपिओ नेपालका कार्यकारी निर्देशक डा.कमल गौतमले भुकम्पपछि नेपालमा मानसिक स्वास्थ्य समस्या बढिरहेको देखिएको बताउनुभयो । मानसिक स्वास्थ्य सेवालाई आधारभुत सेवामा राखिएपनि सबै स्वास्थ्य संस्थामा यो सेवा नरहेको बताउनुभयो । मानसिक स्वास्थ्यलाई उपचारमात्रै नभई प्रवद्र्धन कार्यक्रम तर्फपनि केन्द्रित हुनपर्नेमा जोड दिनुभयो ।
मानसिक स्वास्थ्यमा मनोचिकित्सकमात्रै नभई मनोसामाजिक परामर्शदाता, थेरापिष्टहरुको दरबन्दी पनि थप्नपर्ने कार्यक्रममा सहभागीहरुले सरकारलाई सुझाव दिएका छन् ।
आज अक्टुवर १०, विश्व मानसिक स्वास्थ्य दिवस । मानसिक स्वास्थ्य सबैको अधिकार भन्ने नाराका साथ देशभर विभिन्न सचेतनामूलक कार्यक्रम गरि मनाइदैंछ ।
नसर्ने रोगमध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ। आत्महत्या गर्नेमध्ये ८० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको पाइन्छ। यसमा डिप्रेशन मुख्य कारक रहेको छ ।
नेपालले मानसिक स्वास्थ्यलाई ५ वर्ष अगाडि मात्रै जनस्वास्थ्य समस्याका रुपमा राख्यो । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाको स्थापना गरेको थियो ।
प्रहरीले इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखालाई उपलव्ध गराएको आत्महत्याको तथ्यांक अनुसार विगत ५ वर्षदेखि नेपालमा आत्महत्याको दर बढिरहेको छ । नेपालमा दिनमा कम्तिमा १७ जनाले आत्महत्या गरिरहेका छन् । वर्षमा झण्डै ७ हजार जनाको मृत्यु आत्महत्याका कारण भइरहेको छ ।
तपाईँको अभिमत