दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्टको नाम 'ओमीक्रोन', अन्य देशमा पनि फैलिँदै
विश्व स्वास्थ्य संगठनले केही दिनअघि दक्षिण अफ्रिकामा पत्ता लागेको कोभिड–१९ को नयाँ भेरियन्टलाई ओमीक्रोन नाम दिएको छ ।
सुरुमा यसलाई बी.१.१.५२९ नाम दिइएको थियो । यो भेरियन्ट अन्य देशमा पनि भेटिएको छ । पछिल्लो समय इजरायल र बेल्जियममा पनि बी.१.१.५२९ भेरियन्टको कोरोना फेला परेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । यसअघि हङकङ र बोत्सवानामा फेला परेको थियो ।
विश्व स्वास्थ्य संगठनले शुक्रबार दिएको जानकारी अनुसार दक्षिण अफ्रिकाका सबै प्रान्तमा नयाँ भेरियन्टको भाइरस फेला परेको छ । यो भेरियन्टको म्युटेसन धेरै रहेको संयुक्त राष्ट्रसंघको जन स्वास्थ्य निकायले जारी गरेको एक वक्तव्यमा भनिएको छ ।
दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट अन्य देशमा पनि फैलिएको पाइएपछि थुप्रै देशहरुले अफ्रिकी देशहरुबाट आवत–जावत बन्द गर्ने निर्णय गरेका छन् ।
बीबीसीले दिएको खबर अनुसार अमेरिकाले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामीबिया, लेसोथो, इस्वातिनी, मोजाम्बिक लगायतका मुलुकमा सोमबारबाट उडान बन्द गर्ने भएको छ ।
बेलायतले पनि अफ्रिकी देशहरुबाट प्रवेशमा प्रतिबन्द लगाउने भएको छ । जापानले आइतबारदेखि अफ्रिकी मुलुकबाट आउनलेलाई १० दिनको क्वारेन्टाइन र परीक्षण अनिवार्य गर्नुपर्ने नियम तोकेको छ ।
इरानले अफ्रिकाका ६ देशबाट यात्रामा प्रतिबन्ध लगाएको छ । ब्राजिलले पनि यात्रामा कडाइ गरिसकेको छ ।
भारतले दक्षिण अफ्रिका, हङकङ, बोत्सवाना लगायतका मुलुकबाट प्रवेश गर्नेलाई परीक्षणमा कडाई गर्न निर्देशन दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत