बच्चा हुर्काउँदा हुने सानो गल्तीले निम्तिन सक्छ ठूलो दुर्घटना(भिडियो)
बच्चा हुर्काउने क्रममा सचेत रहँदा-रहँदै पनि कहिलेकाँही केही कमजोरी हुनजान्छ। जसले बच्चालाई मृत्युको मुखसम्म पुर्याउन सक्छ।
अभिभावकबाट हुने सामान्य गल्ती र कमजोरीका कारण बच्चाको स्वास्थ्यमा ठूलो दुर्घटना निम्तन सक्ने नाक, कान, घाँटी रोग विशेषज्ञ डा.योगेश न्यौपाने बताउनुहुन्छ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत डा.न्यौपानेले हेल्थपाटीसँगको कुराकानीका क्रममा अभिभावकलाई यसबारे सचेत गराउनुभएको छ।
अभिभावकको आँखै अगाडि होस् या एक्लै उनीहरुले खानेकुरा खाने र खेल्ने क्रममा सानो कमजोरीका कारण बालबालिकाहरु गम्भीर अवस्थामा पुग्ने उहाँको भनाइ छ।
तरकारी केलाउने बेला, खाना खाँदा, खेल्ने क्रममा बालबालिकालाई दिइने तथा उनीहरूले सजिलै भेट्ने सामानका विषयमा अभिभावकहरू चनाखो रहनुपर्ने उहाँको सुझाव छ । अन्यथा नाक, कान, घाँटीमा खानेकुरा एवं स-साना वस्तुहरू अड्किएमा बालबालिकाकाे अवस्था जटिल हुन पुग्दछ।
‘अभिभावकहरूलाई बच्चाको दाँत छ भनेर केराऊ, बदाम, भटमास जस्ता खानेकुरा खान दिने गर्नुहुन्छ' डा.न्यौपाने भन्नुहुन्छ, 'तर बच्चाले नचपाई निल्ने सम्भावना धेरै रहन्छ, जसले मृत्युसमेत गराउन सक्छ ।’
सिक्का, मालाका गेडाहरू, मासुकाे हड्डी, इरेजर, डट्पेनको बिर्काे, कानमा लगाउने इयर रिंग, फुली, ब्याट्रीहरू जस्ता वस्तुअड्किएर उपचारमा आउने बालबालिका धेरै रहेको उहाँ सुनाउनुहुन्छ ।
सुन्दा सामान्य लाग्ने तर यसले निम्त्याउने असर असामान्य र जटिल हुनसक्ने तर्फ उहाँले सचेत गराउनुभयो। ‘खाना खाने नलीमा अड्किएका वस्तुहरु निकाल्न गाह्रो हुँदैन तर फोक्सोमा गए निकै खतरनाक हुन्छु' डा.न्यौपाने भन्नुहुन्छ, ‘यस्तो अवस्थामा व्यक्तिको शल्यक्रिया नै गर्नुपर्छ र यो निकै जोखिमपूर्ण हुन्छ।’
अभिभावकहरु चनाखो नहुँदा बच्चाको घाँटीमा मात्रै नभइ नाक र कानमा पनि गेडागुडी, धान, चामल, इरेजर जस्ता वस्तुहरु छिर्ने जोखिम रहेको उहाँ बताउनुहुन्छ।
बालबालिकाको हुकाईमा अभिभावकले ध्यान दिनुपर्ने विषय अन्तर्गत नाक, कान, घाँटीका विषयमा कुरा गरेका छौँ। बच्चाहरुले खाँदा, खेल्दा हुने सामान्य कमजोरीका कारण नाक, कान र घाँटीमा देखिनसक्ने जटिलताका विषयमा हेल्थपाटीका लागि तुलसा घिमिरेले नाक, कान, घाँटीरोग विशेषज्ञ डा.योगेश न्यौपानेसँग कुराकानी गर्नुभएको छ।

हेल्थपाटी
तपाईँको अभिमत