डिल्लीबजार र बालाजुमा पनि हैजा देखियो, बागबजारको पानीमा हैजाको जीवाणु
काठमाडौंमा थप २ जनालाई हैजा संक्रमण पुष्टि भएको छ । काठमाडौं बालाजु र डिल्लीबजारका एक /एक जनालाई हैजा संक्रमण पुष्टि भएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.चुमनलाल दासले जानकारी दिनुभयो ।
दुबै जनाकाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । यो सँगै हैजा संक्रमण पुष्टि हुनेको संख्या ६ पुगेको छ । यसअघि बागबजारका २, पाटन र कपनका एक/ एक जनालाई हैजा संक्रमण पुष्टि भइसकेको दासले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म हैजा पुष्टि भएका व्यक्तिहरु निम्न आय भएकाहरु छन् । ठाउँ -ठाउँमा हैजा देखिन थालेकाले पानी उमालेरमात्रै खान उहाँले आग्रह गर्नुभयो ।
गर्मी तथा वर्षायाममा झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाई बिशेष गरी ९हातको सरसफाई० तथा खानेकुराको सरसफाईलाई ध्यान दिन दासले आग्रह गर्नुभयो ।
उहाँले हैजा देखिएका बिरामी बसोबास गरेका स्थानका पानीको नमुना जाँच गर्ने काम चलिरहेको बताउनुभयो ।
उहाँका अनुसार बागबजारको धारा र ट्युवेलको पानीमा हैजा फैलाउने जीवाणु इकाउली र कोलीफर्म देखिएको छ । बागबजारका २ दिदिबहिनीलाई हैजा पुष्टि भएपछि उनीहरुले स्टोर गरेर राखेको पानीको नमुना जाँच्दा हैजा फैलाउने जीवाणु भेटिएको दासले जानकारी दिनुभयो ।
हैजा फैलाउने जीवाणु देखिएपछि खानेपानी विभागलाई पानीको स्रोत पहिचान गरि त्यहाँको नमुनाको पनि परीक्षण गर्न भनिएको उहाँले बताउनुभयो । हैजा देखिएका क्षेत्रहरुमा सावधानी अपनाइसकेको र नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गरिरहेको उहाँको भनाइ छ ।
चिकित्सकका अनुसार दिसामा पाइने जीवाणु कोलीफर्म तथा इकाउली भएको पानी पिउँदा मानिसका स्वास्थ्यमा गम्भीर असर पर्छ । दिसामा पाइने जीवाणुले आउँ, झाडापखाला, जण्डिस लगायतका समस्या देखा पर्नुका साथै मिर्गौला तथा कलेजोमा पनि असर गर्छ ।
इकाउली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो ।
हेल्थपाटी
तपाईँको अभिमत