‘मैले जिते कोरोना, म गर्छु प्लाज्मादान’ अभियान सुरु
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट कोरोना संक्रमण भै निको भएका व्यक्तिहरुको प्रयासमा ‘मैले जितेँ कोरोना, म गर्छु (प्लाज्मा) रक्तदान’ अभियान सुरु भएको छ ।
अभियानको शुभारम्भको अवसरमा सिद्दप्रसाद ढुङ्गानाले ओ पोजेटिभ रगत (प्लाज्मा) दान गर्नुभयो । कार्यक्रममा कोरोना जितेकाहरु सांसद यज्ञ बोगटी, युवा नेता नारायण घर्ती, अधिवक्ता राधिका खतिवडा, अस्पतालका प्रशासकिय प्रमुख माधवप्रसाद घिमिरे, प्रवक्ता रामबिक्रम अधिकारी लगायतका २० जना प्लाज्मा दाताहरुको उपस्थिति रहेको थियो ।
सांसद बोगटीले कोरोनालाई त्रासको रुपमा बुझ्न नहुने तथा हेलचेक्राई गर्न नहुने बरु उच्च सावधानीका साथ बस्न सके सजिलै जितिने बताउनुभयो ।
अभियानका संयोजक प्रकाश भुजेलले संक्रमण मुक्त व्यक्तिले जटिल अवस्थामा रहेका संक्रमितहरुलाई उपचारका क्रममा प्लाज्मा थेरापिको लागि दाताको अभाव नबनोस् भनेर जनचेतनामुलक अभियान सुरुवात गरिएको बताउनुभयो ।
‘तत्काल १६ जना दाताहरुले प्रतिबद्धता जनाउनुभएको छ भने ४ जनाले प्लाज्मा दान गरिसकेको संयोजक भुजेलले भन्नुभयो । अभियानमा कोरोना जितेका देशभरका करिब ४० जना जोडिइसकेका भुजेलले बताउनुभयो।
हेल्थपाटी
तपाईँको अभिमत