नेपालमा उत्पादित एन्टीबायोटिक औषधिको खोलमा रातो धर्सा कोरिदै, किन ?
एन्टीबायोटिक औषधिको जथाभावी प्रयोगलाई रोक्न सरकारले औषधिको खोलमा रातो धर्सा (रेड लाइन) कोर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ।
रातो धर्सा भनेको चेतावनी स्वरुप कोरिने विशेष संकेत हो । रातो धर्साको संकेतले डाक्टरको सुझाव वा प्रेस्क्रिप्सनबिना खान नहुने औषधि भनेर बुझ्न पर्दछ ।
जथाभावी एन्टीबायोटिकको प्रयोग हुँदा औषधिको प्रतिरोध क्षमतामा ह्रास आइरहेको विषयमा चिन्ता व्यक्त हुँदै आएको छ। यसै कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन र औषधि सल्लाहाकार समितिको सिफारिसमा औषधि व्यवस्था विभागले यस्तो व्यवस्था लागू गर्न लागेको हो ।
माइक्रोबियल रेसिस्टेन्सको समस्यालाई कम गर्न स्वास्थ्य मन्त्रालय र औषधि सल्लाहाकार समितिले एन्टीबायोटिक औषधिको खोलमा रातो धर्सा कोर्न भनेका थिए ।
अब स्वदेशी औषधि उत्पादकहरूले एन्टीबायोटिकको औषधिको खोलमा रातो धर्सा प्रिन्टसहित प्याकिङ गर्नुपर्नेछ । तयारी अन्तिम चरणमा पुगेकाले रातो धर्सासहितको प्याकिङ व्यवस्था छिट्टै कार्यान्वयनमा आउने विभागका वरिष्ठ औषधि व्यवस्थापक एवं सूचना अधिकारी सन्तोष केसीले जानकारी दिनुभयो ।
रातो धर्सा भएको औषधि, मेडिकल पसलहरूमा डाक्टरको सल्लाहबिना किन्न, बेच्न पाइँदैन । हुनत अहिले पनि एन्टीबायोटिक औषधि डाक्टरको प्रिस्क्रिप्सनबिना किनबेच गर्न नपाउने नियम छ । तर औषधिको नाम बताएको भरमा फार्मेसीबाट खुलेआम किनबेच हुने प्रवृत्ति अत्याधिक छ ।
प्रयोगकर्तालाई सचेत बनाउन र डाक्टरको प्रिस्क्रिप्सनबिना एन्टीबायोटिक औषधि किन्न र बेच्न नदिन रातो धर्सा व्यवस्थाको मुख्य उद्देश्य रहेको वरिष्ठ औषधि व्यवस्थापक केसीको भनाइ छ ।
यो व्यवस्थापछि जथाभावी एन्टीबायोटिक औषधि किन्ने प्रवृत्ति घट्ने र यसले माइक्रोबियल रेसिस्टेन्सको समस्या कम हुने विश्वास केसीको छ।उहाँका अनुसार अब नेपालमा उत्पादित सबै प्रकारका एन्टीबायोटिक औषधिको खोलमा जेनरिक नाम, ब्राण्ड नाम स्पष्ट देखिने गरी रातो धर्सा कोरेको हुनुपर्छ ।
हाल नेपालमा ९८ किसिमका एन्टीबायोटिक औषधिको प्रयोग भइरहेको छ । ‘रुघाखोकी तथा घाँटी दुखेमा पनि प्रयोगकर्ताले औषधिको नाम बताएर औषधि किन्ने गर्छन् । फार्मेसीहरूले प्रिस्क्राइवबिनै एन्टीबायोटिक औषधि बेच्छन्' केसीले भन्नुभयो ‘एन्टीबायोटिक जथाभावी खाने औषधि होइन । डाक्टरलाई नजचाँइ खानै हुँदैन । अब हामीले रातो धर्सा भएको औषधि डाक्टरले नभनी खान हुन्न है भनेर प्रयोगकर्तालाई बुझाउन सक्छौँ ।’
स्वास्थ्य मन्त्रालयले एक वर्ष अगाडिनै नेपालमा उत्पादित सबैखाले एन्टीबायोटिक औषधिको खोलमा रातो धर्सा कोर्न निर्देशनसहित विभागलाई परिपत्र गरेको थियो ।
केसीका अनुसार स्वदेशी उत्पादकहरूले औषधि निर्माणका लागि कच्चा पदार्थसँगै प्याकेजिङलाई आवश्यक पर्ने सामाग्री पनि ल्याउने भएकाले रातो धर्साको प्रावधान लागू गर्न उद्योगीहरूले विभागसँग केही समय मागेका थिए ।
तुरुन्तै रातो धर्साको प्रावधान लागू गरे प्याकेजिङको सामानमा गरिएको लगानी खेर जाने भएकाले पनि उद्योगीहरुले केही समय मागेका थिए ।
नेपालमा भारत र बंगलादेशबाट औषधिको आयात हुने गरेको छ । भारतको हिस्सा धेरै छ । भारतबाट आयातित एन्टीबायोटिक औषधिको खोलमा रातो धर्सा हुन्छ तर बंगलादेशबाट ल्याइने औषधिमा रातो धर्सा कोरिएको हुँदैन ।
तुरुन्तै रातो धर्साको प्रावधान कार्यान्वयन गर्दा क्रिटीकल औषधिहरूको पहुँच सहज नहुने हो की भन्ने अन्यौलता पनि कायम थियो । रातो धर्साको प्रावधान लागू भएपछि औषधिको सहजता र सम्भाव्यताबारे विभागले अध्ययन गर्दा खासै फरक नपर्ने देखेपछि विभाग रातो धर्सा प्रावधानको कार्यान्वयनको अन्तिम तयारीमा लागेको छ ।
विश्व स्वास्थ्य संगठन(डब्लयूएचओ)ले एन्टीमाइक्रोबियल रेसिस्टेन्सलाई प्रमुख १० स्वास्थ्य समस्यामध्ये एकमा राखेको छ । डब्ल्यूएचओले विश्वव्यापी रुपमा देखिएको रेसिस्टेन्सको समस्यालाई कम गर्न आफ्ना सदस्य राष्ट्रलाई एक्सन प्लान बनाउन सुझाव दिइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि डब्ल्यूएचओले भनेअनुसार एक्सन प्लान बनाएको छ । एक्सन प्लान क्याबिनेटमा लगिएको छैन ।
नेपाली औषधि बजारमा स्वदेशी उत्पादनले ५० प्रतिशत हिस्सा ओगटेको छ । त्यसपछि भारत र तेस्रोमा बंगलादेशको औषधि बजारमा छ।
विश्व स्वास्थ्य संगठनले एन्टीबायोटिक औषधिलाई एक्सेस, वाच र रिजभर्ड गु्रपमा वर्गीकरण गरेको छ । एन्टीबायोटिक औषधिको उपभोगका हिसाबले एक्सेस ग्रुपको औषधि वाच र रिजर्भडको तुलनामा धेरै प्रयोग हुनुपर्छ भनी डब्लयूएचओले भनेको छ । उसका अनुसार एक्सेस ग्रुपको औषधि प्रयोगको हिस्सा ६० प्रतिशत हुनुपर्छ । तर नेपालमा वाच र रिजर्भड ग्रुपको औषधिको प्रयोग अधिक भइरहेको छ।
एक्सेस, वाच र रिजर्भड ग्रुपबारे जानकारी लिन यो लिंकमा थिच्नुहोस् ।
एन्टीबायोटिक औषधिको जथाभावी प्रयोग, अति प्रयोगका कारण जुन किटाणु, जीवाणुका कारण संक्रमण भएको हो सोही किटाणु जिवाणुविरुद्ध चढाइएको औषधिले काम नगर्ने अवस्था सृजना भएको छ । यो समस्याका कारण सामान्य रोगमा पनि कडा खालको औषधि चढाउनपर्ने बाध्यता निम्तिएको छ । कतिपय अवस्थामा औषधिले काम नगरेर बिरामीको मृत्युसमेत हुने गरेको छ ।
तुलसा घिमिरे
तपाईँको अभिमत