औषधिभन्दा बलियो बन्दै जीवाणु, बिरामीको मृत्युदर बढ्दो
एन्टीबायोटिकको दुरुपयोग र अत्याधिक प्रयोग रोक्नु जरुरी
छातीको दुखाइसँगै सास फेर्न गाह्रो भएपछि ४० वर्षका एक युवक आइसीयूमा भर्ना हुन्छन् । संक्रमण फैंलदा उनलाई निमोनिया भइसकेको हुन्छ । त्यतिन्जेलसम्म उनले विभिन्न थरीका एन्टीबायोटिक औषधि खाइसकेका हुन्छन् ।
काठमाडौंको एक ठूलो अस्पतालको आईसियूमा भर्ना भएका ती युवाको अवस्था बिग्रँदै जान्छ । चिकित्सकले बिरामीको रगतको कल्चर गर्न पठाउँछन् । थप अवस्था नबिग्रियोस भनेर चिकित्सकले रिपोर्ट नआउन्जेलसम्म अर्काे एन्टीबायोटिक चलाउँछन् । तर त्यो एन्टीबायोटिकले कुनै प्रतिक्रिया देखाउँदैन । एन्टीबायोटिकको असर शून्य देखिन्छ ।
रिपोर्टमा बिरामीलाई कडा जीवाणुले आक्रमण गरेको देखिन्छ । त्यसपछि चिकित्सकले अन्तिम विकल्पमा कडा खालको एन्टीबायोटिक औषधि चलाउँछन्, त्यसले पनि काम गर्दैन । चिकित्सकले बिरामीलाई जोगाउन हरसम्भव प्रयत्न गर्छन् तर औषधिले नै काम नगरेपछि सबै प्रयास असफल हुन्छ । बिरामीको मृत्यु हुन्छ ।
यस्तो हुनुमा जीवाणु औषधिभन्दा शक्तिशाली बन्नु हाे अथवा एन्टीमाइक्रोबियल रेसिस्टेन्स देखिनु रहेको चिकित्सकको ठहर छ। याे अहिले विश्वव्यापी समस्याका रुपमा छ ।
के हो ? एन्टीमाइक्रोबियल रेसिस्टेन्स
सन् १९२८ मा स्कटल्याण्डका जीव वैज्ञानिक अलेक्जेण्डर फ्लेमिंगले पेनिसिलिन पत्तालगाउनु भएको थियो । पेनिसिलिनले जीवाणुविरुद्ध लड्न सघाउँछ । त्यसयता धेरै एन्टीबायोटिकको विकास भइसकेको छ । एन्टिबायोटिक्स, एन्टिभाइरस, एन्टिफंगस र एन्टिप्यारासाइक्ट औषधि अतिसुक्ष्म र सुक्ष्म जीवाणुहरूबाट हुने संक्रमणको रोकथाम र नियन्त्रणमा प्रयोग गरिन्छ । एन्टीबायोटिकले ब्याक्टेरियालाई मारिदिन्छ या निष्क्रिय पारिदिन्छ र शरीरको प्रतिरक्षा प्रणालीले तिनलाई मारिदिन्छ ।
तर त्यही एन्टीबायोटिकको अतिप्रयोगले औषधिप्रतिरोधी बलिया जीवाणु उत्पन्न भइरहेका छन् । जीवाणुमा प्रतिरोध गर्ने क्षमताको यति धेरै विकास भएको छ कि जसले तिनीहरुलाई शक्तिशाली बनाई मानव स्वास्थ्यमा निकै क्षति पुर्याइरहेको अनुसन्धानकर्ताहरू बताउँछन्
एन्टीबायोटिकको दुरुपयोग र अत्याधिक प्रयोग नै एन्टीमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)को मुख्य जड रहेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)को ठहर छ । जसले गर्दा कुनै जीवाणुले गराएको संक्रमणका लागि प्रयोग गरिँदैआएको औषधि नै ती जीवाणुभन्दा कमजोर हुँदै जाने अवस्थालाई एन्टीमाइक्रोबियल रेसिस्टेन्स भनेर बुझ्नपर्ने चिकित्सकहरू बताउँछन् ।
एन्टीमाइक्रोबियल रेसिस्टेन्सका कारण सामान्य रोग र संक्रमणले मानिसको मृत्यु भइरहेको छ जुन पहिले औषधीले नै निको हुने गर्दथ्यो ।
हरेक वर्ष विश्वमा करीब ७ लाख मानिसको मृत्यु एन्टीमाइक्रोबियल रेसिस्टेन्स अर्थात् औषधिकाे असर नदेखिँदा भइरहेको छ । उपयुक्त कदम नचाले सन् २०५० सम्ममा यो संख्या बढेर हरेक वर्ष १ करोड मानिसकाे मृत्यु हुने र १०० खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने अनुमान गरिएको छ । डब्ल्यूएचओले एएमआर जनस्वास्थ्यमा देखिएको १० शीर्ष खतरामध्ये एक रहेको घोषणा गरिसकेको छ ।
एन्टीमाइक्रोबियल रेसिस्टेन्सको असर आईसियूमा
वीर अस्पतालका प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट एवं इन्टेन्सीभिस्ट प्राडा.रविराम श्रेष्ठ आईसीयूमा भर्ना भएका बिरामीमा अन्यकाे तुलनामा एन्टीमाइक्रोबियल रेसिस्टेन्स अझ बढी देखिरहेको बताउनुहुन्छ । थप संक्रमण हुन नदिन आईसियूका बिरामीमा एन्टीबायोटिक चलाइरहेकै हुन्छ ।
प्रा. डा. श्रेष्ठका अनुसार केही वर्षअघिसम्म अतिसाधारण एन्टीबायोटिकले काम गर्ने गरेकोमा हाल तिनीहरुले काम नगर्दा कडा खालको एन्टीबायोटिक चढाउनुपर्ने बाध्यता छ।
‘जस्तो पहिला पिसाबको संक्रमण भई भर्ना भएका बिरामीलाई सिप्रोफ्लोक्सासिन एन्टीबायोटिकले हुन्थ्यो भने आजभोली त्यसले छुँदैन । त्यो भन्दा कडा खालको एन्टीबायोटिक दिनुपर्छ’ प्राडा.श्रेष्ठ सुनाउनुहुन्छ ।
उहाँका अनुसार चिकित्सा क्षेत्रमा चिकित्सकले बिरामीलाई २ वटा उद्देश्यले एन्टीबायोटिक दिनुपर्ने मान्यता छ । पहिलो, प्रोफाइल एक्सेसको आधारमा । याे मान्यताअनुसार बिरामीलाई संक्रमण नै नहोस् भनेर एन्टीबायोटिक दिने गरिन्छ । जस्ताे अप्रेसन गर्नुभन्दा अगाडि नै बिरामीलाई एन्टीबायोटिक दिनु भनेकाे अप्रेसनपछि हुनसक्ने संक्रमणकाे जाेखिमलाई राेक्ने उद्देश्यले हाे ।
दाेस्राे, संक्रमित भइसकेका बिरामीलाई थप संक्रमण हुनबाट जाेगाएर स्वास्थ्य अवस्था बिग्रन नदिने उद्देश्य रहन्छ।
आईसियूमा सिकिस्त बिरामीहरू भर्ना हुन्छन् । शरीरका विभिन्न अंगहरुले काम नगरेको अवस्थामा हुन्छन् । जीवाणुलाई नमारी बिरामी निको हुँदैनन् । जीवाणु मार्न एन्टीबायोटिक चलाउनुपर्छ' श्रेष्ठ भन्नुहुन्छ, 'तर जीवाणुविरुद्ध एन्टीबायोटिकको असर नदेखिँदा अर्काे कडा एन्टीबायोटिक चलाउनुपर्ने हुन्छ । सकभर कडा एन्टीबायोटिक नचलाउन प्रयत्न गरिन्छ तर बिरामीको स्वास्थ्यमा सुधार नआएपछि बाध्य हुनुपर्छ एन्टीमाइक्रोबियल रेसिस्टेन्सले बिरामीको अस्पताल बसाँइ पनि लामो हुन जान्छ ।'
अस्पतालमा लामो समय बस्दा थप महँगो औषधिको आवश्यकता पर्दछ जुन बिरामीका लागि ठूलो आर्थिक चुनौती बनिरहेको छ । यस्ता घटना आफूले धेरै देखेको प्राडा.श्रेष्ठ बताउनुहुन्छ।
एन्टीबायोटिकका तीन समूह
विश्व स्वास्थ्य संगठनले एन्टीबायोटिलाई ३ समूहमा वर्गीकरण गरेको छ । पहिलो एक्सेस, दोस्रो वाच र तेस्रो रिजर्भड् । हाल विश्वमा १८० वटा एन्टीबायोटिकको प्रयोग भइरहेको छ । जसमध्ये एक्सेस समूहमा ११०, वाच समूहमा ४८ र रिजर्भड् समूहमा २२ वटा एन्टीबायोटिक छन् ।
सहजै पहुँचमा रहेको एन्टीबायोटिकलाई एक्सेस समूहमा राखिएको छ । वाच समूहका एन्टीबायोटिकलाई रोगको प्रकृति हेरेर सोचेर दिने गरिन्छ । एक्सेस ग्रुपको एन्टीबायोटिकले काम गर्ने अवस्थामा वाच ग्रुपको एन्टीबायोटिक दिनुहुँदैन । तेस्रोमा रह्यो रिजर्भड , यो औषधि धेरै महँगो पनि हुन्छ ।
कतिपय बिरामी महँगो औषधि किन्न नसकेर उपचार गर्न नसकेका घटना धेरै छन् । एक्सेस र वाच समूहको एन्टीबायोटिकले काम गरेन भने अन्तिम विकल्पका रुपमा मात्रै रिजर्भड समूहको एन्टीबायोटिक दिनुपर्ने मापदण्ड छ ।
एन्टीमाइक्रोबियल रेसिस्टेन्सका कारण भइरहेको मृत्युको तथ्यांक छैन
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट(माइक्रोबायोलोजी विज्ञ) प्राविधिक ज्योति आचार्य सबैभन्दा धेरै रेसिस्टेन्स वाच ग्रुपको औषधिमा देखिएको बताउनुहुन्छ ।
उहाँका अनुसार एन्टीमाइक्रोबियल रेसिस्टेन्सका कारण विदेशमा मात्रै नभई नेपालमा पनि बिरामीको मृत्युदर बढिरहेको छ । तर नेपालमा मेडिकल रेकर्डमा एन्टीबायोटिकको असरबारे कहीँकतै उल्लेख गर्ने अभ्यास नहुँदा रेसिस्टेन्सका कारण भइरहेको मृत्युको तथ्यांक छैन ।
विदेशमा एन्टीमाइक्रोबियल रेसिस्टेन्सका कारण भएको मृत्युको तथ्यांक स्पष्ट राख्नै पर्ने नियम हुन्छ । तर नेपालमा यस्ताे अभ्यास छैन ।
एन्टीमाइक्रोबियल रेसिस्टेन्सकै कारण बिरामीकाे मृत्यु भएकाे चिकित्सकले ठम्याउछन् तर त्याे मृत्युकाे रेकर्डमा रेसिस्टेन्सकाे कारण नभई राेगकाे कारण भनेर उल्लेख गरिन्छ ।
नेपालमा एन्टीमाइक्रोबियल रेसिस्टेन्स केस रिपोर्टको रुपमा छ । अनुसन्धानको रुपमा छ तर सरकारको तथ्यांकमा छैन । प्रत्येक अस्पतालले मृतकको सम्पूर्ण विवरण राख्नुपर्छ, उक्त विवरण रेकर्ड फारममा औषधिको रेसिस्टेन्सबारे खुलाउन छुट्टै खण्ड छैन । जसका कारण मेडिकल रेकर्डमा एमआरका कारण भइरहेको मृत्युको तथ्यांक राखिँदैन । तथ्यांक नहुँदा रेसिस्टेन्स समस्याकाे हल गर्न जुन रुपमा लाग्नुपर्ने थियाे त्यसरी बढ्न नसकिरहेकाे उहाँकाे ठम्याइ छ ।
रेसिस्टेन्सका सम्बन्धमा बेग्ला बेग्लै अनुसन्धानहरु भइरहेपनि ती अनुसन्धानलाई एकीकृत गरि निष्कर्ष निकाल्न चुकिरहेको आचार्य बताउनुहुन्छ ।
प्रिस्क्राइव नगरी किन्न पाइँदैन
बाहिर देशतिर अस्पतालको छापसहित भेरिफाई गरेरमात्र एन्टीबायोटिक किन्न पाइन्छ । हुनत नेपालमा पनि डाक्टरले प्रिस्क्राइव नगरी एन्टीबायोटिक किन्न पाइँदैन । तर निरीक्षण नहुँदा खुलेआम फार्मेसीमा प्रिस्काइवकबिना किनबेच भएको पाइन्छ । सामान्य रुघा, खोकी, घाँटी दुखेमा सजिलै एन्टीबायोटिक( एजिथ्रोमाइसिन ) किनेर खान्छन् ।
कतिले घरमा कोही बिरामी हुँदा ल्याइएको अगाडिका औषधि नै हचुवाको भरमा प्रयोग गरिरहेका पनि हुन्छन् । त्यसले क्षणिक रुपमा निको भएजस्तो देखिएपनि भविष्यमा त्यसको असर अपुरणीय हुनसक्ने चिकित्सकहरू बताउछन्। डाक्टरलाई जचाएर औषधि खाइहाले कतिले पूरा अवधिभर एन्टीबायोटिक नै खादैनन् ।
एन्टीबायोटिकको दुरुपयोग र अतिप्रयोगमा प्रयोगकर्ताको मात्रै होइन स्वास्थ्यकर्मीको पनि कमजोरी देखिन्छ । सामान्य समस्या लिएर ओपिडीमा पुगेका बिरामीलाई कतिपय चिकित्सकहरुले कल्चर नै नगरी सुरुमै एन्टीबायोटिक लेखिदिने गर्छन् ।
जथाभावी एन्टीबायोटिकको प्रयोग हुँदा जीवाणुले त्यो औषधि चिन्छ र औषधिलाई प्रतिरोध गर्ने क्षमताको विकास गर्छ । एन्टीबायोटिकको बढी प्रयोगले जीवाणु चलाख भइसकेका छन् त्यसैले हामी सबै जीवाणु संक्रमणको जोखिममा छौं ।
एन्टीबायोटिकको जति कम प्रयोग गर्यो जीवाणुले उति नै औषधिको कमजोरी बिर्सँदै जान्छ । तर उनीहरूलाई औषधिको कमजोरी बिर्सन वर्षाैं लाग्छ । त्यसैले अहिलेबाटै एन्टीबायोटिकको कम प्रयोग गर्न सुरु गर्नुपर्ने माइक्रोबायोलोजी विज्ञ आचार्य बताउनुहुन्छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत संक्रामक रोग विशेषज्ञ प्रा.डा.जनक कोइराला एन्टीमाइक्रोबियल रेसिस्टेन्सलाई साइलेन्ट पेन्डामिकको संज्ञा दिनुहुन्छ । रेसिस्टेन्सका कारण स्वास्थ्यमा परिरहेकाे समस्या नदेखिने गरी भित्रभित्र फैलिरहेको छ ।
डाक्टरलाई नजचाई अनावश्यक एन्टीबायोटिक औषधि खाने प्रवृतिले त्यसकाे रेसिस्टेन्स देखिरहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार एन्टीबायोटिकको बारम्बार प्रयोगले जीवाणुले वंशाणुगत परिवर्तन गरी एन्टीबायोटिकसँग लड्न सक्ने क्षमता विस्तार गर्दछ ।
औषधिको जथभावी प्रयोगले सुक्ष्म जीवले प्रतिरोध क्षमता विकास गर्ने र तिनले गराउने रोग निको नहुने तथा बिरामीको मृत्यु हुनसक्ने जाेखिमलाई बढाइरहेकाे उहाँ बताउनुहुन्छ ।
घरमै बसेर सामान्य औषधि खाए निको हुने टाइफाइडको बिरामीलाई बढी डोजसहित सुइ दिनुपर्ने, लामो समय अस्पतालमै भर्ना गर्नुपर्ने देखिएको छ । एन्टिबायोटिकको प्रयोग बढिरहँदा त्यसले बिरामीको मृत्यु नै भएका घटना पनि धेरै देखिएको प्रा.डा.कोइराला भन्नुहुन्छ।
प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु जस्तो, क्यान्सरका बिरामी, अंग प्रत्यारोपण गराएका, डाइलाइसिस गराइरहेका, जलेका बिरामीहरूमा रेसिस्टेन्सको जोखिम धेरै रहने प्रा.डा.कोइलाराले जानकारी दिनुभयो।
जथाभावी एन्टीबायोटिक खादा कालान्तरमा त्यही एन्टीबायोटिकले काम नगर्ने रोग लाग्न सक्छ भन्ने बुझ्न जरुरी रहेको उहाँको भनाइ छ ।
'रोग लागेको छ र सही औषधि प्रयोग गरियो भने त्यो अमृतसरह हुन्छ तर एन्टीबायोटिक दिनै नपर्ने व्यक्तिलाई औषधि दियो भने त्यो विष पनि बन्न जान्छ' कोइराला भन्नुहुन्छ, 'सबै औषधि अमृत हुदैनन् । ठिक रोगको लागि औषधि अमृत हो गलत रोगमा प्रयोग गर्नु विष हो ।'
समाधान के ?
प्राडा.कोइराला अस्पतालमा इन्फेक्सन कन्ट्रोल कमिटीको अवधारणाले पनि एन्टिबायोटिक्सको सही प्रयोगमा सहयोग पुग्ने देख्नुहुन्छ । यो काम हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल महाराजगञ्ज लगायतका अस्पताहरुमा सुरु भएको छ ।
जीवाणु बाँच्न चाहन्छन् । जबजब उनीहरू एन्टीबायोटिक्सको सम्पर्कमा आउँछन् एन्टीबायोटिकको प्रभावहरुको प्रतिरोध गर्न स्मार्ट जीवाणुहरू तरिका अपनाउँछन् । जानी नजानी डाक्टरको पुर्जाबिना एन्टीबायोटिक्स लिँदा त्यसले ब्याक्टेरियाको प्रतिरोधी संयन्त्रलाई सघाइरहेका हुन्छौँ ।
आवश्यक परेका बेलामात्रै उपयुक्त तरिकाले कमभन्दा कम एन्टीबायोटिक प्रयोग गर्ने उपायतर्फ लाग्न उहाँको सुझाव छ ।
जीवाणुलाई निस्क्रिय बनाउन साबुनपानीले हात धुने, सरसफाइमा ध्यान दिए ८० प्रतिशत संक्रमणबाट जोगिन सकिने विज्ञहरू बताउँछन्। संक्रमण नै नभए एन्टीबायोटिक औषधि खानै पर्दैन।
सबै ठाउँमा कल्चरको सविधा छैन
आइसीयूका बिरामीबाहेक अन्य बिरामीलाई कल्चर नगरी एन्टीबायोटिको प्रयोग गर्न नहुने चिकित्सकहरु बताउँछन् । तर नेपालमा धेरै स्थानमा कल्चरकाे सुविधा छैन । सबै जिल्ला अस्पतालमा कल्चरको सुविधा नहुँदा कहिलेकाँही बिरामीकाे राेगकाे लक्षणका आधारमा एन्टीबायाटिक चलाउनुपर्ने बाध्यता आउने गरेकाे स्वास्थ्यकर्मीहरु गुनासाे गर्छन् । सानो अस्पतालमा एउटै मात्रै ल्याब हुन्छ । कल्चर गर्न छुट्टै आइसोलेट कोठा चाहिन्छ ।
तुलसा घिमिरे
तपाईँको अभिमत