'नेपाली औषधि उद्योग विदेशी उद्योगसँग प्रतिस्पर्धा गर्न सक्षम छन्'

नेपाल औषधि उत्पादक संघले चितवनमा यहि फागुन २५ देखि २७ गतेसम्म नबौ नेपाल फर्मा एक्स्पो हुँदैछ। एक्स्पोको तयारी एक्स्पोमा १६० भन्दा बढी स्टल राखिने छ। यही सन्दर्भमा नेपाल औषधि उत्पादक संघ (एपोन)का महासचिव सुर्दशन खेगुलीसँग गरिएको कुराकानी
नेपालमा औषधि उद्योगको अवस्था कस्तो छ ?
नेपाल औषधि अवस्था अहिलेसम्म राम्रै भन्नुपर्छ । आर्थिक मन्दीको अवस्था रहेकोले औषधिको बजार पनि खस्कँदो अवस्थामा छ।
नेपालमा ९० अर्ब रुपियाँ बराबरको औषधीको बजार छ। त्यसमध्ये नेपाली औषधिको ३४ देखि ३५ अर्ब बराबरको बजार रहेको छ। समग्र औषधिको हिसाब गर्ने हो भने ५० प्रतिशत औषधिको हिस्सा नेपालमै उत्पादन भएका औषधिहरुको छ।
हामी अहिले सरकारको सहयोगबिना नै आफ्नै प्रयासले नेपाली औषधि उद्योगलाई अगाडि बढाइरहेका छौँ।
नेपाली औषधि उद्योगले मुलुकका लागि आवश्यक ७० देखि ८० प्रतिशत औषधि उत्पादन गर्ने क्षमता राख्छन् । तर उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैन। अहिले ३० देखि ३५ प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेका छन्।
सरकारले नेपाली औषधि उद्योगका लागि के गर्नु आवश्यक छ ?
नेपाली औषधि उद्योगमैत्री खालका कार्यक्रम सरकारले ल्याउनु पर्छ। निजी उद्योगले एक हदसम्म लगानी गरिरहेका छन्।
अर्को कुरा बाहिरी मुलुकबाट औषधि नेपाल आइरहेका छन्। त्यसैगरी सरकारले बाहिरी मुलुकमा पनि हामीलाई औषधि निर्यात गर्न सक्ने वातावरण बनाइदिनु पर्छ।
सरकारी तवरबाट औषधि खरिद गर्दा भएसम्म स्वदेशी औषधि मात्रै खरियो भने हामीलाई उद्योग सञ्चालन गर्न सहज हुन्छ । मुलुकलाई चाहिने औषधि पनि उत्पादन गर्न सक्छौँ।
नेपाल फर्मा एक्स्पो किन आवश्यक पर्यो ?
एक्स्पोको मुख्य उद्देश्य नेपाली औषधिलाई चिनाउने नै हो। नेपालमा करिब ८४ वटा औषधि उद्योग छन्। नेपाली उद्योगले गुणस्तर, असरदार र सस्तोमा औषधि उत्पादन गर्दछन् भनेर सर्वसाधारणलाई जानकारी दिनका हामीले हरेक दुई–दुई वर्षमा एक्स्पो गर्न थालेका हौँ।
नेपाली औषधि विदेशी औषधिको तुलनामा कत्तिको गुणस्तरीय र सस्ता छन् ?
कुनै पनि नेपाली उद्योगले उत्पादन गरेका औषधि नराम्रा छैनन्। यहाँका औषधि विश्व स्वास्थ्य संगठनको जिएमपीमा नै रहेका छन्। नेपाली उद्योग कुनै पनि विदेश उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य छन्।
यस्तै अहिले औषधिको बजारभाउ धेरै नै माथि पुगिसकेको छ। तर हामीले पुरानै मूल्यमा सस्तो दरमा औषधि उपलब्ध गराइरहेका छौँ । २०६४ सालदेखि हामीले औषधिको मूल्य समायोजन गर्न पाएका छैनौँ। हामीले मुलुकको अवस्था हेरेर अहिले सस्तो दरमा औषधि उपलब्ध गराएका छौँ। यहाँका सर्वसाधारणको पर क्यापिटा इनकम हेरेर र भारतसँग दाँजेर नै हामीले सस्तोमा औषधि उपलब्ध गराएका हौँ।
भारतमा एक अर्ब ३० करोड मानिस छन्। भारतले त्यही अनुपातमा औषधि उत्पादन गर्दछ। तर पनि महंगोमा नै बेच्ने गर्दछ। हामी तीन करोड जनसंख्यालाई लक्षित गरेर औषधि उत्पादन गर्छौँ तर पनि हामी सस्तो र गुणस्तरीय औषधि उत्पादन गरिरहेका छौ।
औषधि व्यवस्था विभागबाट हाम्रो बारम्बार अनुगमन हुन्छ। विभागको मापदण्ड विश्वस्तरीय छ। त्यसैले हामीले गुणस्तरमा ध्यान दिन्छौँ। हाम्रो औषधिका गुणस्तर विश्वका अन्य औषधिको तुलनामा राम्रै छ।
औषधि खाएपछि त्यो औषधिले काम गर्नुपर्दछ। त्यसैले हामीले गुणस्तरसँगै प्रभावकरी औषधि बनाएका छौँ। नेपालका औषधि गुणस्तरीय, किन्ने सक्ने र प्रभावकारी छन्। यी तीनै कुरामा हामीले ध्यान दिएका छौँ।
उद्योगहरु किन बन्द भएका होलान् ?
हाम्रा आफ्नै पनि केही कमजोरी रहेका छन्। उद्योग बन्द हुनुमा विभिन्न अरु पनि आफ्नै कारण होलान्। तर मार्केटमा अहिले आर्थिक मन्दी छ। त्यसले गर्दा हामी प्रतिस्पर्धा गर्न सकेका छैनौँ। कतिपय अवस्थामा सबैका एकै किसिमका उत्पादन छन् । नयाँ–नयाँ प्रविधि ल्याउन सकेका छैनौँ।
हाम्रो अरुले जे गर्यो त्यही गर्ने बानी छ। औषधि उद्योगमा पनि एकै खालका औषधि उत्पादनले समस्या परेको छ। हामी अलि फरक ढंगले उद्योगलाई लैजाने कोसिस गरिरहेका हुन्छौ तर केही कारण हुन सक्दैन। दोष हामी आफैँमा छ अरुलाई दिनुहुँदैन।
अनि अर्को कुरा सरकारले पनि हामी उद्योगीलाई संरक्षण गर्ने खालका नीति ल्याउनु पर्दछ। सरकारले खरिद गर्ने औषधि स्वदेशी उत्पादनका औषधि खरिद गरिदिने हो भने हामीलाई उद्योग बचाउन सजिलो हुन्छ।
सरकारको सहयोग किन भइरहेको छैन ?
सरकारले हामीलाई हेर्ने नजरमा परिवर्तन गरोस भनेर नै फर्मा एक्स्पो गर्न थालेका हौ। सरकारलाई हाम्रा कुरा सवै थाहा छैन। हामी आफैलाई पनि सवै थाहा छैन। विस्तारै बुझ्दै छौ। सरकार समक्ष हामीले हाम्रा कुरा पुर्याउन सकेनौ जस्तो लाग्छ। हामीले आफ्ना कुरा आफैले सरकार समक्ष राख्नुपर्यो। हो त्यही कुरा सरकारलाई पुर्याउनका लागि एक्स्पो गर्न थालेका हौँ।
नयाँ औषधि ऐन आउँदैछ। नयाँ ऐनमा नेपाली औषधि उद्योगका लागि कस्तो व्यवस्था गर्नुपर्छ ?
नयाँ बन्न थालेको औषधि ऐनमा धेरै राम्रा कुरा रहेका छन्। मूल्य समिति गठन गरेर औषधिको मूल्य समायोजन गरिने कुरा राखेको सुनेको छु। त्यो एकदम राम्रो हो। विगत १६ वर्षदेखि औषधिको मूल्य समायोजन हुन सकेको थिएन। पुरानो औषधि ऐनमा कुनै वाधा अडचन छ भनेर नयाँ बन्न थालेको औषधि ऐनमा फुकाउनुपर्दछ ।
तपाईँको अभिमत