नेपालमा प्रत्येक वर्ष क्षयरोगबाट करिब १६ हजार जनाको मृत्यु
नेपालमा प्रत्येक वर्ष क्षयरोग(टिबी)का कारण करिब १६ हजार जनाको मृत्यु हुने गरेको सरकारी तथ्यांक रहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको छ । साथै, हरेक वर्ष करिब १६ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको छ । प्रत्येक वर्ष मार्च २४ लाई विश्व क्षयरोग दिवसको रुपमा मनाउने गरिन्छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भुवन पौडेलले नेपालमा वार्षिक रूपमा करिब ६९ हजार मानिस क्षयरोगबाट प्रभावित हुने गरेको र तीमध्ये करिब १६ हजार जनाको हरेक वर्ष मृत्यु हुने गरेको जानकारी दिनुभयो ।
नेपालले सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने तथा सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने लक्ष्य लिएको छ । तर अहिले पनि ४२ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन सकेका छैनन् । विज्ञहरुका अनुसार नेपालमा क्षयरोग अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको देखिएको छ ।
नेपालमा क्षयरोगको प्रकोप चुनौतीपूर्ण रहेको र यसको रोकथामका लागि व्यक्तिगत सतर्कता, सरसफाई तथा पौष्टिक आहारको सेवन महत्वपूर्ण रहेको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन्। विशेषगरी धुम्रपान र मध्यपानबाट टाढा रहनुका साथै भीडभाड हुने स्थानमा मास्कको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।
क्षयरोगबाट बच्ने मुख्य उपायहरूः
– धुम्रपान र मध्यपानका वस्तुहरूको सेवन नगर्ने।
– भीडभाड हुने ठाउँहरूमा जाँदा मास्कको प्रयोग गर्ने।
– खोकिरहेको व्यक्तिको नजिकबाट बच्ने।
– व्यक्तिगत सरसफाईमा ध्यान दिने र पौष्टिक आहारको सेवन गर्ने।
– धुलो र धुवाँबाट बच्ने, किनकि यसले फोक्सोको रोग प्रतिरोधात्मक क्षमता ९इम्युनिटी पावर० कमजोर बनाउँछ र टिबीका किटाणुहरूलाई बढ्न मद्दत गर्दछ।
– क्षयरोगको शङ्का लागेमा वा रोग पत्ता लागेमा समयमै स्वास्थ्य संस्थामा गएर औषधि सुरु गर्ने। औषधि सुरु गरेपछि यो सर्ने सम्भावना कम हुँदै जान्छ र अरूलाई सर्दैन।
– परिवार, व्यक्ति र समाज सबै तहबाट सतर्कता अपनाउनुपर्छ र यसमा राज्यको मात्र भर पर्नु हुँदैन।
जोखिममा रहेका वर्ग र स्थानहरूः
अहिलेको तथ्याङ्क अनुसार, नेपालमा विशेषगरी वृद्धवृद्धाहरूमा यसको प्रकोप बढी देखिएको छ। एचआइभी सङ्क्रमित, मधुमेहका बिरामी र क्षयरोगका बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूमा पनि यसको जोखिम उच्च हुन्छ। सानो कोठामा धेरै मानिस बस्ने स्थानहरू जस्तै गार्मेन्ट उद्योग, गलैँचा कारखाना, गुम्बा, होस्टल र वृद्धाश्रमहरूमा पनि क्षयरोगको प्रकोप चुनौतीपूर्ण रहेको छ। नेपालमा, काठमाडौं उपत्यका जनसङ्ख्याको हिसाबले सबैभन्दा बढी प्रकोप भएको जिल्ला मानिन्छ।
क्षयरोगका लक्षण र निदानः
क्षयरोगका मुख्य लक्षणहरूमा खोकी लाग्ने, साँझपख पसिना आउने, हल्का ज्वरो आउने, खान मन नलाग्ने, तौल घट्दै जाने र कसैकसैमा खकारसँग रगत पनि आउने हुन्छ। सन् २०१९ को राष्ट्रव्यापी सर्वेक्षणले ७० प्रतिशतमा लक्षण नभएको अवस्थामा पनि क्षयरोग देखिएको थियो, जसलाई सबक्लिनिकल स्टेज भनिन्छ। छातीको एक्स–रे क्षयरोग पत्ता लगाउने एक उत्तम प्रविधि मानिन्छ, किनभने यसले सबक्लिनिकल चरणमा पनि रोग पत्ता लगाउन मद्दत गर्दछ।
हेल्थपाटी
तपाईँको अभिमत