वडा-वडामा पुगेर ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँचिने
सरकारले ४० वर्ष उमेर माथिका सबै नागरिकको पिसाब परीक्षण गर्ने भएको छ । सरकारले देशका प्रत्येक वडा - वडामा पुगेर उनीहरुको पिसाब जाच्ने जानकारी दिएकाे छ । ४० वर्ष माथिका जनसंख्या झण्डै ६५ लाख ३७ हजार छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौड्यालले बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उक्त जानकारी दिनुभएको हो ।
उहाँका अनुसार मिर्गौला रोगबाट बचाउन पूर्व रोकथामका लागि यो अभियान सुरु गर्न लागिएको हो । पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने उहाँको भनाइ छ । बेलैमा ध्यान दिए नसर्ने रोगबाट बच्ने र बचावटको उपाय सस्तो रहेकाले मिर्गाैला रोगबाट जोगाउन पिसाब जाँचको तयारी भएको उहाँले बताउनुभयो ।
सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ४० वर्ष माथिका नागरिकको रक्तचाप, पिसाब तथा रगतमा ग्लुकोज, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक निःशुल्क जाँचको व्यवस्था गर्ने उल्लेख गरेको छ । सोही नीति कार्यान्वयन स्वरुप ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्न लागिएको हो ।
हाल नेपालमा ४९६ वटा मेशिनबाट हेमाडाइलाइसिस सेवा सञ्चालन भइरहेको र यो वर्ष १५० वटा मेशिन थप्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । हाल ५७९७ जनाले यो सेवा लिइरहेका छन् ।
नसर्ने रोगको प्रकोप अत्याधिक रहेको र अध्ययहरुले ७१ प्रतिशत मृत्यु नसर्ने रोगकै कारण भएकाले ती रोगबाट बचाउन भन्दै सरकारले यस्तो नीति लिएको हो । समिति बैठकमा देशभर डाइलाइसिस र त्यसका क्रममा भइरहेको जटिलता तथा समाधान विषयमा छलफल भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत