कोरोनाको खोप ल्याउन नेपालमा के-के गरिदैछ ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको खोप ल्याउन द्रुत गतिमा काम भइरहेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विज्ञप्ति निकालेर खोपका सम्बन्धमा सरकारबाट हालसम्म भएका गतिविधिबारे जानकारी गराउँदै अन्तर्राष्ट्रिय निकायहरुलाई खोप प्राप्तिका लागि पत्राचार भइसकेको उल्लेख गर्नुभएको छ ।
साथै, ती निकायहरुलाई कोभिड १९ खोप प्राविधिक सहयोग र कोभ्याक्स कोल्डचेन उपकरणका लागि पनि अनरोध गरिएको पनि प्रवक्ता गौतमले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।
उहाँका अनुसार खोपका सम्बन्धमा निम्न कामहरु भएका छन् :
-काेभिड -१९ खोप सम्बन्धी प्राविधिक सुझाव दिन विज्ञ सल्लाहकार समिति गठन ।
-हालको जनसंख्याको ७२ प्रतिशतलाई कोभिड १९ खोप लगाउने उद्देश्यका साथ कार्य गर्न भ्याक्सिनको द्रूत कार्ययोजना बनाई विभिन्न आठ कार्यक्षेत्रहरू (खोप सचिवालयको गठन, खोपको प्राविधिक कार्यपत्रलाई पूर्णता दिने, पूर्वाधार एसेसमेन्ट (उपकरण, भण्डारण र आपूर्ति), आवश्यकता आकलन (सार्वजनिक र नीजि), सेवाग्राहीको व्याख्या सहितको प्राथमिकीकरण (संस्थाको हकमा विद्युतिय प्रणालीबाट तथा अन्य व्यक्तिको हकमा स्थानिय तह मार्फत गर्ने), डिप्लोयमेन्ट प्लान (जनशक्ति, तालिम, निर्देशिका), खोप कोषको प्रस्ताव आव्हान, संचालन, सार्वजनिक सूचना प्रवाह निर्देशिका साझेदारहरूसँग संवाद, अनुगमन, नियमन, अनुसन्धान तथा क्लिनिकल व्यवस्थापन) पहिचान गरी कार्यदल बनाई कार्यहरु भईरहेको छ ।
-कोभ्याक्स्को मार्गदर्शनमा आधारित भएर श्रोत परिचालन र लक्षित जनसंख्याको कार्ययोजना नेपाल सरकार (मन्त्रिपरिषद्)बाट स्वीकृत भइ कार्यहरु अगाडि बढेका छन् ।
-आकस्मिक अवस्थामा औषधि तथा खोप दर्ता व्यवस्थाको लागि औषधि ऐन, २०३५ अध्यादेश मार्फत संशोधन गरिएको छ । त्यस्तै, कोभ्याक्स् सुविधामा खोप प्राप्तिका लागि खोप सम्बन्धी कार्य गर्ने अन्तर्राष्ट्रिय निकायहरुमा पत्राचार गरिसकिएको छ ।
-ती निकायहरुलाई कोभिड १९ खोप प्राविधिक सहयोग र कोभ्याक्स कोल्डचेन उपकरणका लागि पनि अनुरोध गरिएको छ । खोपको भण्डारण र सुरक्षाको लागि आवश्यक क्षमता मूल्यांकन लगायतका आवश्यक कार्यहरु सम्पन्न गरिएको छ ।
-आवश्यक चिस्यान भण्डारण विस्तारका लागि प्रस्ताव तयार भईसकेको छ । कोभिड - १९ खोप सम्बन्धी प्राविधिक कार्ययोजना तयार भई राष्ट्रिय खोप सल्लाहकार समितिमा छलफल भई आवश्यक कार्यहरु भइरहेका छन् ।
-खोप खरिद गर्न आवश्यक पर्ने रकमको व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाई सकिएको छ । खोपको आवश्यक व्यवस्थापनका लागि सबै तहका जिम्मेवार निकायहरु तयारी अवस्थामा रहने व्यवस्था गरिएको छ ।
तपाईँको अभिमत