राष्ट्रिय प्रत्यारोपण केन्द्रको ११ वर्षे यात्रा : के-के गरियो, के गरिँदैछ ?
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले यही बैशाख ११ गर्ते आफ्नो ११ औँ वार्षिक उत्सव मनाउदै छ । एकदमै कम र सीमित स्रोत र साधनको भरमा तातेताते गर्दै अघि बढेको यस केन्द्रले ११औं वार्षिक उत्सव मनाउदै गरेकोमा निकै खुसी लागेको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको यस केन्द्रले स्थापनाको छोटो अवधिमा अंगदान र प्रत्यारोपण क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। साथै यस केन्द्रले अंगदान तथा प्रत्यारोपण कानून परिमार्जनमा भूमिका समेत खेलेको छ । धेरै प्रत्यारोपण गर्ने संस्था मध्येमा रहन सफल भएको छ।
९९ प्रतिशत भन्दा बढी सफलताका साथ मिर्गाैला प्रत्यारोपण गर्नसक्ने श्रेय यस केन्द्रले बनाएको छ। हालसम्म यस केन्द्रले १ हजार ४६ जनाको मिर्गाैला र १० जनाको कलेजो प्रत्यारोपण गरेको छ।
केन्द्रले देशमा पहिलो पटक मस्तिष्कमृत्यु भएका व्यक्तिकाे अंगबाट हुने मिर्गाैला तथा कलेजो प्रत्यारोपण, अंगदान सम्बन्धि व्यापक प्रचार–प्रसार, देशभर डायलाइसिस विस्तार र प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्य गरेको छ।
गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत प्रदेशिक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भइसकेको छ ।
प्रत्यारोपण सेवालाई क्रमश सेती अस्पताल, कैलाली, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान हेटौडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा प्रत्यारोपण सेवा विस्तार गर्ने भई प्रत्यारोपणको तयारी भइरहेको छ ।
केन्द्रले करिब २०० जना स्टाफ नर्स तथा प्रविधिकलाई तालिम दिई डायलाइसिस सेवा देशभर विस्तार गरिरहेकाे छ भने विभिन्न सरकारी तथा निजी अस्पतालमा भएका मिर्गाैला प्रत्यारोपण यही केन्द्रबाट तालिम प्राप्त जनशक्तिबाट भएको छ ।
पछिल्लो डेढ वर्षदेखि फेरि केन्द्रको नेतृत्व गर्ने अवसर मिल्यो । यस अवधिमा २८६ जनाको मिर्गाैला प्रत्यारोपण भएको छ ।
देशमा मात्र हैन विदेशवाट समेत प्रत्यारोपण गर्न आउने यस केन्द्रमा स्थान अभावको कारण क्षमताअनुसार सेवा प्रवाह गर्न सकिएको छैन। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रत्यारोपण सम्बन्धी उच्च स्तरीय दक्ष जनशक्ती उत्पादन गर्ने स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रतिष्ठानको रुपमा विकास गर्ने लक्ष्य सरकारको छ ।
आवश्यक जनशक्ति उत्पादन गरी प्रत्यारोपण सेवासातै प्रदेशमा विस्तार गर्ने योजनालाई कार्यन्वयन गर्ने जिम्मेवारी काँधमा आएको छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवद्वय डा. रोशन पोख्रेल र देवकुमारी गुरागाईँ पनि प्रत्यारोपण केन्द्र विस्तार गर्ने काममा लागि रहनुभएको छ।
हामीले केही महिना पहिला प्रत्यारोपण सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको सम्मेलन सम्पन्न गरेका छौँ। देशका विभिन्न स्थानमा अन्तरक्रिया, गोष्ठी, निशुल्क स्वास्थ्य शिविर तथा अंगदान शिविर नियमित सञ्चालन भइरहेका छन् ।
धेरै नेपालीलाई अंग प्रत्यारोपण सेवा दिनका लागि केन्द्रको छुट्टै भवनसहित विस्तार गर्न पहल भइरहेको छ।
यस केन्द्रलाई अन्तराष्ट्रिय संघ संस्थाहरुसँग आवद्ध गराई विभिन्न खालको शैक्षिक गतिविधि सञ्चालन गर्ने, नयाँ जनशक्ति उत्पादन गरी जिम्मेवारी हस्तान्तरण गर्दै जाने काम भइरहेको छ। केन्द्रबाट १० बटा शोधपत्र तयार गरी प्रकाशन समेत भइसकेको छ । करिब १० वटा प्रकाशन गर्ने तयारीमा छन्।
केन्द्रले डायलाइसिस सेवा ३५ वटा मेसिनबाट दिँदै आएकोमा वृद्धि गरी ७२ वटा मेसिनबाट सेवा दिइरहेको अवस्था छ । यसलाई थप गरी १०० भन्दा बढी मेसिनको डायलाइसिस केन्द्र बनाउने योजना छ ।
अंगदाता नपाएर प्रत्यारोपण गर्न नपाउनेका लागि सहज बनाउन मस्तिष्कमृत्यु पछि अंगदानको विषयलाई व्यापक प्रचार–प्रसार गर्न केन्द्र लागि परिरहेको छ।
धेरै भन्दा धेरै नेपालीले सहज र सहुलीयतमा अंग प्रत्यारोपण सेवा स्वदेशमै पाउन भन्ने लक्ष्यका साथ दिनरात नभनीकन लागि परिरहेको छु।
अंग प्रत्यारोपणमा नेपाल आफैँ सक्षम छ भन्ने कुरा स्थापित गर्नु मेरो मुख्य लक्ष्य हो । राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेतृत्वमा रहेर त्यो लक्ष्य प्राप्ति लागि समर्पित भइरहेको छु।
तपाईँको अभिमत