'नछुने नहुँदा चाहिँ भगवानलाई छुनु हुँदैन' (भिडियो)
नेपाली समाजका अधिकांश महिला महिनावारीका चाडपर्व, धार्मिक, सामाजिक समारोहहरूमा सहभागी हुनबाट वञ्चित हुने गरेका छन् ।
दशैं, तिहारजस्ता पर्व विवाह, ब्रतबन्ध, श्राद्ध, पूजापाठ आदिमा सहभागी हुन नपाइने पीरले महिनावारी पछाडि वा अगाडि सार्न औषधि खाने गरेको पाइन्छ ।
यो औषधि डाक्टरको प्रिस्क्राइबविनै मेडिकलहरूमा सजिलै किन्न पाइने भएकाले धेरैले यसको प्रयोग गरेको पाइन्छ । तर जथाभावी औषधि खाँदा स्वास्थ्यमा असर पर्ने प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरु बताउँछन् । यस सन्दर्भमा हामीले वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.चन्दा कार्कीसँग कुरा गरेका छौं ।
महिनावारी र औषधिबारे जानकारी उहाँकै शब्दमा :
महिनावारी भनेको सामान्य कुरा हो । जसरी हामीलाई रुघा लाग्छ, ज्वरो आउँछ, आँसु बग्छ, सिँगान आउँछ त्यस्तैगरी महिनावारी पनि भगवानले दिएको जीवनको एउटा सामान्य चक्र हो ।
महिनावारीलाई पछाडि सार्ने, अगाडि सार्ने भन्नेकुरा अन्धविश्वास हो । नछुने भनेको खराब कुरा हो भन्ने सोचाइ एक अन्धविश्वास हो । नामै नछुने भनेर राखिएको छ । त्यो मनस्थितिबाट हामी बाहिर निस्कनुपर्छ । नछुने भयो भनेर भगवानलाई छुनु हुदैन भन्ने कुसंस्कार छ । तर नछुने भएन भने चाँहि भगवानलाई छुन हुँदैन भनेर भन्छु म।
नछुने हुनु त भगवानले दिएको बरदान हो, बरदानलाई ग्रहण गर्नुसक्नुपर्छ । महिनावारी भएका बेला नुहाइ धुवाइ गरी सरसफाइ गरेर सबै काम गर्न मिल्छ भन्ने सन्देश दिन चाहन्छु ।
साधारणतया पूजाआजा, चाडवाडलाई भनेर नै महिलाहरुले महिनावारी पर सार्ने औषधि खाने गरेको पाइन्छ । औषधि हरेक महिनामा महिलाको शरीरमा हर्माेनहरुको प्रतिक्रियाबाट हुने एक प्रक्रिया हो। औषधि खाएर महिनावारी अगाडि पछाडि सार्न त मिल्छ तर अनावश्यक औषधि खान हुँदैन । महिनावारी भनेको महिलालाई बच्चा जन्माउन सजिलो बनाउने प्रक्रिया हो । अझ भन्नुपर्दा प्रजननको एउटा प्रक्रिया हो।
हर्माेनकै प्रयोग गरेर महिनावारीलाई अगाडि पछाडि सार्न सकिन्छ । तर त्यसको जरुरत छैन । हामीले हाम्रो सोचलाई बदल्नुपर्छ । नियमित हुने प्रक्रियालाई अगाडि-पछाडि सार्न अनावश्यक औषधि खानुहुँदैन ।
प्रोजेस्टोरोन हर्माेन प्रयोग गरेर बेला हुनुभन्दा अगाडि पनि महिनावारी गराउन सकिन्छ । हर्माेन धेरै दिएर बीचमा छोड्यौँ भने रगत बग्छ र त्यसलाई महिनावारी भन्छौँ ।
महिनावारी हुने समयलाई पछाडि सार्न पनि त्यसैगरी हर्माेन दिनुपर्छ । प्रोजेस्टोरोन हर्माेन राम्रो र सुरक्षित नै छ । तर कुनैपनि औषधि, पारासिटामोल नै किन नहोस् शरीरमा प्रवेश गरिसकेपछि केही न केही असर पुर्याइहाल्छ । कुनै-कुनै औषधि मिर्गाैला, कलेजोेले निकाल्नुपर्ने हुन्छ । त्यसले शरीरमा नराम्रो असर गर्छ ।
मुख्य कुरा भनेको अनावश्यक औषधिमा किन जोड गर्नुपर्यो ? औषधि, अपरेशन र डाक्टर भनेको चाहियो भने मात्रै प्रयोग गर्ने हो ।
हेल्थपाटी
तपाईँको अभिमत