चिनियाँ खोप आज नेपाल आइपुग्दै, यस्ता छन् खोपका विशेषता
चीनले नेपाललाई उपलब्ध गराउने कोरोनाभाइरस विरुद्धको खोप सोमबार नेपाल आइपुग्ने बताइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार चीनबाट ८ लाख मात्रा (डोज) खोप नेपाल आउन लागेको हो।
काठमाडौंस्थित चिनियाँ दूतावासले शनिबार फेसबुकमार्फत् नेपाललाई प्रदान गरिने खोप चीनको राजधानी "बेइजिङ आइपुगेको र चाँडै नेपालमा आउने" जनाएको थियो।

सोमबार नेपाल आइपुग्ने ठानिएको उक्त खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने अधिकारीहरूले सङ्केत गरेका छन्। विश्व स्वास्थ्य सङ्गठनले चीनको उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उसको निर्णयपछि मात्र खोप लगाउन सुरु गर्ने तयारीमा अधिकारीहरू रहेको बुझिएको छ।
यद्यपि नेपालले उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ।
चिनियाँ खोपका विशेषता
चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोपलाई अक्सफर्ड/आस्ट्राजेनेकाले उत्पादन गरेको कोभिशील्डको जस्तै तापक्रममा भण्डारण गर्न सकिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्रवर गौतमले जानकारी दिनुभयो।
उहाँका अनुसार सिनोभ्याकको खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ।
यो खोप दुई मात्रा लगाउनुपर्छ। पहिलो मात्रा लगाएको २१ देखि २८ दिनभित्र अर्को मात्रा लगाउनुपर्ने बताइएको छ।
विभिन्न परीक्षणहरूमा चिनियाँ खोप कोभिशील्डभन्दा बढी प्रभावकारी देखिएको गौतमले बताउनुभयो। तर खरिद गर्दा भने यो खोप कोभिसिल्डको तुलनामा महँगो पर्ने बताइएको छ।
चिनियाँ खोप कसले लगाउन पाउँछन्?
सहप्रवक्ता अधिकारीले खोप आइसकेपछि मन्त्रालयले कुन समूह र कहाँका व्यक्तिलाई कसरी खोप लगाउने भन्ने तय गर्ने जानकारी दिनुभयो।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार सरकारले चाँडै नै उक्त खोपबारे निर्णय गर्नेछ। त्यस्तो निर्णय गर्नका लागि राष्ट्रिय खोप सल्लाहकार समितिका सुझावहरूलाई समेटिने उहाँले बताउनुभयो।
अधिकारीहरूका अनुसार अहिले नै ठूलो सङ्ख्यामा खोप उपलब्ध नभइसकेकाले सकेसम्म बढी संवेदनशील र खोपको आवश्यकता भएको समूहका व्यक्तिहरूलाई उक्त खोप दिइनेछ।
(बीबीसीबाट)
हेल्थपाटी
तपाईँको अभिमत