स्वास्थ्य अवस्था सुधारका लागि जन्तेढुङ्गा गाउँपालिकाले के गर्दैछ ?
खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिकाले नियमित स्क्रिनिङ मार्फत् गाउँपालिकावासीको स्वास्थ्य अवस्था बुझ्ने गरेको स्वास्थ्य शाखा प्रमुख सूर्यबहादुर कार्कीले जानकारी दिनुभयो । पालिकाले हरेक वर्ष विभिन्न किसिमका रोगहरूको स्क्रिनिङ तथा खोजपड्ताल गरेर उचित स्वास्थ्योपचारका लागि कदम चाल्ने गरेको उहाँले बताउनुभयो ।
हेल्थपाटीसँगको कुराकानीमा प्रमुख कार्कीले क्षयरोग सङ्क्रमण, पाठेघरको मुखको क्यान्सरलगायतका रोगहरूको अवस्था थाहा पाउन स्क्रिनिङका कार्यक्रम गर्ने गरेको बताउनुभयो । उहाँले गर्भवतीहरूको स्वास्थ्य अवस्था बुझ्न प्रत्येक वडामा पुगेर भिडियो एक्स–रे गर्ने गरेको पनि जानकारी दिनुभयो । ‘क्षयरोग, पाठेघरको मुखको क्यान्सरलगायतका रोगको अवस्था पत्ता लगाउन स्क्रिनिङको कार्यक्रम प्रत्येक वर्ष गर्ने गरेका छौँ’, उहाँले भन्नुभयो, ‘प्रत्येक वडामा भिडियो एक्स–रे मेसिन बोकेर लगेर गर्भवती महिलाको गर्भको अवस्था हेर्ने गरेका छौँ ।’ यद्यपि पछिल्लो समय भने एक्स–रे गर्ने कार्य स्थगित भएको उहाँको भनाइ छ ।
प्रमुख कार्कीका अनुसार जन्तेढुङ्गा गाउँपालिकाभरका ज्येष्ठ नागरिकलाई वडा नं. ६, दिप्लुङमा विशेष व्यवस्था गरी स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । ६० वर्षदेखि माथिका ज्येष्ठ नागरिकको रोगको पहिचान तथा उचित उपचारको व्यवस्था गर्ने गरिएको हो ।
पालिकामा क्षयरोग सङ्क्रमित केही व्यक्ति भेटिएको उहाँले बताउनुभयो । स्क्रिनिङ गर्दा नभेटिए पनि शंकास्पद व्यक्तिलाई रिफर गरेर सुविधा सम्पन्न अस्पताल पठाउँदा क्षयरोग पुष्टि भएको हो । ‘सबै अवस्थामा क्षयरोग पत्ता लाग्छ भन्ने होइन’, उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ आमाबुवाहरूले भित्री खकार दिन सक्नुहुन्न, र्याल मात्र दिनुहुन्छ । त्यसले गर्दा क्षयरोगको कीटाणु देखिदैन । त्यस्तै कतिपयले औषधि प्रयोग गरिरहनुभएको हुन्छ, त्यसले गर्दा पनि कीटाणु देखिदैन । तर शंकास्पदलाई तराई पठाउँदा एक/दुई जनामा क्षयरोग पुष्टि भएको छ ।’
यसैगरी विगतका वर्षमा पाठेघर खसेका महिलाको उपचार अन्यत्र लगेर निःशुल्क गरेको प्रमुख कार्कीले जानकारी दिनुभयो । पाठेघर खसेका महिलाको अप्रेसन विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा यातायात खर्च, कुरुवा खर्चसहित निःशुल्क उपचार गराइएको उहाँले बताउनुभयो ।
पालिकाको समग्र स्वास्थ्य अवस्था सुधार भइरहेको प्रमुख कार्कीले दाबी गर्नुभयो । यद्यपि कतिपय परिवार अशिक्षा र गरिबीका कारण स्वास्थ्य सेवा पाउनबाट बञ्चित बनिरहेको उहाँले बताउनुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत