हामीलाई प्रहरी लाएर रोक्ने सरकारले गृह प्रशासन प्रयोग गरी चिकित्सा आयोगको निर्णय लागू गर्न किन सक्दैन ? : अध्यक्ष डा. कार्की

फाइल तस्बिर ।
चिकित्सकलाई प्रहरीले स्वास्थ्य मन्त्रालय जना रोकेको छ । बिहीबार बिहान मन्त्रालय घेराउ गर्न माइतीघरमा जम्मा भएका चिकित्सकलाई प्रहरीले मन्त्रालयतर्फ जान रोकेको हो ।
प्रहरीले जान रोकपछि नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले प्रहरी लगाएर रोक्न नपर्ने बताउनुभयो । ‘हामीलाई प्रहरी लगाउनु पर्दैन, हामी आफैमा सेतो कोट लगाउने प्रहरी हो’, उहाँले प्रश्न गर्नुभयो, ‘स्वास्थ्य मन्त्रालयमा पनि डाक्टरलाई छिर्न नदिने कस्तो अवस्था हो । हाम्रो देश कतातिर जाँदैछ ?’
आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता निजी अस्पतालहरूले पनि दिनुपर्ने निर्णयको कार्यान्वयनका लागि दबाब दिन नेपाल चिकित्सक संघले मन्त्रालय घेराउ गर्ने कार्यक्रम तय गरेको थियो । त्यस्तै आजै काठमाडौं बाहिर देशभरका जिल्ला प्रशासन घेराउ गर्ने कार्यक्रम संघले आयोजना गरेको थियो ।
चिकित्सा शिक्षा आयोगले २५ माघमा बसेको १६औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् । उनीहरूले यथास्थितिमा सो निर्णय कार्यान्वयन गर्न नसकिने बताउँदै आएका छन् । आफूहरूले घाटा खाएर त्यति निर्वाह भत्ता दिन नसक्ने बताइरहेका छन् ।
नाफा कमाउने उद्देश्यका साथ एमबीबीएस, बीडीएसको सिट र शुल्क बढाउनका लागि चलखेल गरिरहेको आरोप उनीहरूमाथि लागिरहेको छ ।
संघका अध्यक्ष डा. कार्कीका अनुसार शिक्षण अस्पतालहरू कुनै पनि हालतमा घाटामा नजाने दाबी गर्नुभएको छ । उहाँले आफूहरूलाई प्रहरी लगाएर स्वास्थ्य मन्त्रालयसम्म छिर्न नदिने तर आयोगको १६औं बैठकको निर्णय गृह प्रशासन लगाएर कार्यान्वयन गर्न नसक्ने भन्दै सरकारमाथि प्रश्न गर्नुभयो ।
चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यावन्यन नहुनु र आयोगले शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानमा एकैपटक म्याचिङ प्रक्रिया नगराइकन यो अवस्था आएको संघको ठहर छ ।
निजी मेडिकल कलेजहरुले आयोगले कायम गरेको निर्वाह भत्ता नदिएपछि २८ दिनयता सडकमा उत्रिएर चिकित्सक आन्दोलन गरिरहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत