क्यान्सर रोगका बिरामीले उपचारका लागि घर जग्गा बेच्नुपर्ने अवस्था
नेपालमा क्यान्सर रोगको उपचारका लागि बिरामीले घर जग्गा बेच्नुपर्ने अवस्था रहेको एक अध्ययनले देखाएको छ ।
सूर्तिजन्य पदार्थको प्रयोगका विरुद्ध आवाज उठाइरहेको एक्सन नेपालले सन् २०१९ मा गरेको ‘सुर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान उपचार सेवा लिन आउने सेवाग्राहीहरुको आर्थिक भार सम्बन्धी अनुसन्धान’ले यस्तो देखाएको हो ।
अध्ययन १०३ जना क्यान्सर बिरामीहरुमा गरिएको थियो । जसमध्ये १६ प्रतिशतले घर जग्गा बेचेर क्यान्सर रोगको उपचार गर्ने गरेका छन् ।
अध्ययनका अनुसार एक क्यान्सर बिरामीले रोगको पहिचान र उपचारमा ९ लाख ८१ हजार ३ सय ७० रुपैंया खर्चने गरेका छन् ।
यो खर्चमा मेडिकल खर्च, क्यान्सर पत्ता लगाउन र उपचार गर्न लाग्ने खर्च, उपचारका लागि यातायात, खाना तथा बास खर्च र क्यान्सरको कारणले बिरामी तथा बिरामीको आफन्तको गुमेको आय समावेश रहेको जनाइएको छ ।
अध्ययनले नेपालमा क्यान्सर रोगको उपचार गराउनेमध्ये झण्डै ४३ प्रतिशत बिरामीले आफ्नो प्रमुख आय कृषि भएको बताएका छन् । यस्तै व्यापार –२२.३ प्रतिशत, दैनिक ज्याला मजदुरी ११.७ प्रतिशत, सरकारी सेवा ८.७ प्रतिशत र बैदेशिक रोजगारीमा सहभागी ८.७ प्रतिशत रहेका छन् ।
यसैगरी २७.२ प्रतिशत बिरामीले घरायसी बचतबाट उपचार खर्च ब्यहोर्ने र ६० प्रतिशत बिरामीले आफन्तबाट ऋण लिई खर्च व्यहोर्ने गरेको पाईयो ।
मंगलबार अनुसन्धान प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नेपालमा सूर्तिजन्य पदार्थको प्रयोगले हुने क्यान्सरको आर्थिक भार अत्याधिक रहेको बताउनुभयो ।
सरकारले क्यान्सरको उपचारका लागि १ लाख रुपैया अनुदान दिने व्यबस्था गरेपनि त्प्रत्यक्ष त्यो मेडिकल खर्चको एक चौथाई भन्दा पनि कम रहेको उहाँले बताउनुभयो ।
बिमा सुबिधाले क्यान्सरको उपचार खर्च नसमेट्ने गरेकाले सरकारले बिरामीलाई राहत पुग्ने गरी अनुदानको रकम बढाउनु पर्ने सुझाव चन्दले दिनुभयो । उहाँका अनुसार हाल नेपालमा सूर्तिजन्य पदार्थमा लाग्ने करको दर ३३ प्रतिशत भन्दा तल रहेको र यो कपडा र प्रशोधित खाद्याान्नमा लाग्ने भन्दा कम रहेको हो ।
विश्व स्वास्थय संगठनले सूर्तिजन्य पदार्थमा लाग्ने करको दर कम्तीमा ७५ प्रतिशत हुनु पर्ने भनि सिफारिस गरिसकेकाले सोही अनुसार करको दायरा बढाउनपर्ने सुझाव अध्ययनमा उल्लेख गरिएको छ ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भएका तथा डिस्चार्ज भएका १०३ जना बिरामीलाई अध्ययनमा छनोट गरिएको एक्सन नेपालले जानकारी दिएको छ ।
अनुसन्धानमा सहभागी अर्का एक सदस्य भरतविक्रम शाहले अनुसन्धानमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका ४९ जना बिरामी, भक्तपुर क्यान्सर अस्पतालका २८ जना बिरामी र नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका २६ जना गरी १०३ जना बिरामी सहभागी गराइएको जानकारी दिनुभयो ।
अध्ययन्ले सूर्तिजन्य पदार्थको प्रयोगले हुने क्यान्सर रोगका बिरामीको औषत उमेर ५३.५ वर्ष रहेको देखाएको छ। एक चौथाई सुर्तीजन्य पदार्थको प्रयोगबाट भएको क्यान्सर बिरामीहरु ५५–५९ उमेर समुह अन्र्तगत रहेको भेटियो ।
यस्तै अध्ययन्ले झण्डै ४६ प्रतिशत बिरामीहरु निरक्षर पाईए भने १.९ प्रतिशत बिरामी उच्च शिक्षा हासिल गरेका पाईए । निरक्षर व्यतिहरुमा सूर्तिजन्य पदार्थको प्रयोगले गर्दा हुने क्यान्सर बढि भएको पाइयो । यसैगरी बढि खर्च गर्ने क्षमता भएका बिरामीले कम खर्च गर्ने क्षमता भएका बिरामीको तुलनामा झण्डै ४ गुणा बढि उपचारमा खर्च गर्ने गरेको पाईयो । प्रत्यक्ष मेडिकल खर्च अन्र्तगत सबै भन्दा बढि खर्च केमोथेरापीमा हुने गरेको पाईयो, जुन २८ प्रतिशत रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत