बाथरोग सम्बन्धी तीन मिथ्या र तथ्य (भिडियो)
बाथरोगका बिरामी पछिल्लो समय वृद्धि भइरहेको छ । बाहिरी ब्याक्टेरिया वा कुनै भाइरसबाट नभई शरीरभित्र रहेको प्रतिरोधात्मक प्रणालीमा हुने गडबडीका कारण बाथ हुन्छ ।
विशेषज्ञहरूका अनुसार बाथ विभिन्न किसिमका हुन्छन् । बाथ भएपछि नियन्त्रण गर्नुपर्ने हुन्छ । नेशनल बाथरोग सेन्टरका अध्यक्षसमेत रहनुभएका बाथरोग विशेषज्ञ डा. विनित वैद्यका अनुसार बाथरोगसम्बन्धी बिरामी तथा आम जनमानसमा तीन वटा भ्रम रहेका छन् ।
यहाँ ती भ्रम र तथ्य प्रस्तुत गरिएको छ :
मिथ्या १ : बाथरोगको औषधि खानु हुँदैन— कतिपय बिरामीमा बाथरोगको औषधि खान नहुने भ्रम रहेको डा. वैद्य बताउनुहुन्छ । उहाँका अनुसार बाथरोगको औषधिले मिर्गौला बिगार्ने भनेर विश्वास बिरामीहरूमा रहेको छ ।
सत्य १ : बाथरोगले अङ्गमा खराबी गर्छ— बाथरोगको औषधिले मिर्गौला तथा अन्य अङ्ग बिगार्दैन । बरु बाथरोगले चाहिँ लामो समयसम्म नियन्त्रण नगर्दा मिर्गौला जस्ता अङ्गहरू खराब गर्ने डा. वैद्यको भनाइ छ । यद्यपि औषधि खाँदा बाथकै औषधि सेवन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । पेनकिलर वा अन्य त्यस्तै किसिमका औषधि सेवन गर्दा बाथ नियन्त्रण हुँदैन ।
मिथ्या २ : खाना बारेर बस्ने— कतिपय बिरामीले चिकित्सकसँग परामर्श नलिई आफ्नै तवरले खाना बारेर बसेको पाइएको छ । ‘डा. साव मलाई फलना खानेकुरा खानै हुँदैन, खायो कि बिसाइहाल्छ’ भनेर बिरामीहरूले भन्ने गर्नुभा’छ’, डा. वैद्य भन्नुहुन्छ । कतिपयले दही, गेडागुडी खाँदा दुख्ने गरेको बताउने गरेको उहाँको भनाइ छ ।
तथ्य २ : युरिक एसिडमा मात्र खाना बार्नुपर्छ— पुरुषहरूमा हुने युरिक एसिडको बाथमा चाहिँ कोक, फेन्टा तथा गुलियो चिज नखान विज्ञहरूको सल्लाह हुने गर्छ । पछिल्लो समयमा युरिक एसिडमा गेडागुडी, दाल वा यस्ता खानेकुरा बार्नु नपर्ने डा. वैद्य बताउनुहुन्छ । दीर्घकालीन खानेकुरा बार्दा हड्डी, मांसपेशी कमजोर हुन्छ ।
मिथ्या ३ : ठिक भएपछि औषधि छाड्न मिल्छ— बाथरोग दीर्घरोग हो । यद्यपि कतिपयले बाथरोगका कारण हुने दुखाई निको भएपछि औषधि सेवन गर्न छाड्दा हुने विश्वास रहेको छ । यो विश्वास भ्रम रहेको डा. वैद्य बताउनुहुन्छ ।
सत्य ३ : बाथरोगमा औषधि दीर्घकालीन खानुपर्ने हुनसक्छ— बाथको प्रकार हेरेर जीवनकालभर औषधि सेवन गर्नुपर्ने हुन्छ । आफ्नो शरीरभित्रकै समस्याका कारण हुने समस्या भएकाले अन्य दीर्घरोग जस्तै औषधि छाड्न हुँदैन ।
हेल्थपाटी
तपाईँको अभिमत