डढेलोबाट धन्न बच्यो आनन्दवन अस्पताल, अझै खतरा ! (भिडियो)
कुष्ठरोगीको उपचार गर्दै आएको ललितपुरको आनन्दवन अस्पताल आगलागीबाट बालबाल बचेको छ।
गोदावरी क्षेत्रका वनमा करिब एक सातादेखि डढेलो फैलिइरहेको छ । उक्त ढडेलो सोमबार रातिदेखि आनन्द वनमा फैलिएको थियो ।
मंगलबार बिहान डढेलो अस्पताल वरिपरि आइपुगेपछि कोकोहोलो भएको थियो । आगो अस्पताल नजिकै आएको थाहा पाएपछि अस्पताल प्रसाशनले स्थानीय तह तथा जिल्लाका अधिकारी, प्रहरी, सेना, दमकल लगायतलाई गुहारेको थियो । बिहानैदेखि अस्पतालका कर्मचारी आगो नियन्त्रणमा खटिएका थिए ।
अस्पतालका प्रशासन प्रमुख शेरबहादु गुरुङका अनुसार केही दिनदेखि वरिपरिका वनमा आगो लागेको देखेपछि अस्पतालको चारैतिर अग्निरेखा बनाइएको थियो । तर वनमा लागेको ठूलो आगोलाई अग्निरेखाले रोकेन ।
आगोले अस्पतालको माथिल्लो भागमा रहेको भवनको छानामा समान्य क्षति बनाएपनि अन्य क्षति हुनबाट जोगिएको छ ।
अस्पतालका प्रशासन प्रमुख गुरुङले दिनुभएको जानकारी अनुसार माथिल्लो भागको भवनमा ८० बेड भएको बिरामी राख्ने वार्ड थियो । त्यहाँ ६५ जना बिरामी थिए । अस्पतालका भान्सा पनि त्यही ठाउँमा थियो । त्यो भन्दा ठ्याक्कै माथि बंगुरहरु राखिएको टहरो थियो । उक्त टहरोको छानासम्म आगो आइसकेको थियो ।
आगो नजिकै आएपछि बिरामीलाई तलको सुरक्षित भवनमा सारिएको थियो । माथि रहेका सामान समेत हतार–हतार तल सारिएको थियो।
वन क्षेत्रको जमिन पतकर, सल्लाका पात, सिम्टालगायतले भरिएकाले आगो तीब्र गतिमा फैलिएको स्थानीयले बताएका छन् ।
प्रशासन प्रमुख गुरुङका अनुसार अस्पतालको भवन तथा संरचनामा आगो सल्किन नदिन सम्पूर्ण निकायको सहयोग रहेको थियो । नगर प्रमुख तथा वडाध्यक्षलगायतले दमकलको व्यवस्था गरेको, सुरक्षा निकायका प्रहरी र सेनाले आगो निभाउन सहयोग गरेका थिए । त्यस्तै स्थानीयवासीले पनि आगो निभाउन सहयोग गरेको गुरुङले बताए ।
अस्पतालमा आगलागीको जोखिम अझै टरेको छैन । बुधबार बिहान पनि अस्पताल वरपर मंगलबार आगो निभाइएको ठाउँमा धुवाँ पुतपुताइ रहेको थियो । वरपरका जंगल अहिले पनि दनदनी बलिरहेका छन् । त्यो आगो फेरि अस्पतालको अर्को क्षेत्रबाट प्रवेश गर्ने हो कि भन्ने त्रास कायमै छ ।
अझै जोखिम कायमै रहेकाले बिरामीलाई पहिलेकै भवनमा नफर्काइएको प्रशासन प्रमुख गुरुङले जानकारी दिए । वरिपरि लागेको सबै डढेलो निभेर जोखिम नहुने सुनिश्चित भएपछि मात्रै पहिलेको स्थानमा बिरामीलाई राख्ने उनकाे भनाइ छ ।
तपाईँको अभिमत