जब स्वास्थ्य मन्त्री यादव ‘वीर अस्पतालको डाँडो' चढे (भिडियो)
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले सञ्चालन गरेको भक्तपुरको दुवाकोटस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा सोमबार बिहानैदेखि विशेष चलहपहल थियो।
स्वास्थ्य केन्द्रअगाडि स्थानीयले ब्याटमिन्टन खेल्ने ठाउँमा टेन्ट हालिएको थियो। केन्द्रमा कार्यरत कर्मचारीहरू बिहान ७ बजेतिरै कार्यालयको पोशाक लगाएर खडा भएका थिए। वरिपरि केही स्थानीयहरू पनि जम्मा भएर केन्द्रको चहलपहल नियालिरहेका थिए।
बिहान ८:३० बजे स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव आउने खबरपछि केन्द्रमा फरक चहलपहल देखिएको थियो।
‘जो आए पनि केही हुँदैन यस्ता मन्त्री कति आए कति गए’, स्थानीयहरू भन्दै थिए। वीर अस्पताल तथा न्याम्सका अन्य अधिकारी, कर्मचारी पनि आउनेक्रम चलिरहेको थियो।
करिब साढे ८ बजेतिर न्याम्सका उपकूलपति डा. भूपेन्द्र कुमार बस्नेत, शिक्षाध्यक्ष डा.लोचन कार्कीको पनि प्रवेश भयो। केही समयपछि वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल पनि झुल्किए। प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, स्थानीय सर्वसाधारण पनि जम्मा भएरहेका थिए। करिब ९ बजेतिर स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप यादव आइपुगे।

विस्तारित वीर अस्पतालका लागि भनेर न्याम्सले पाएको जग्गा हेर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री दुवाकोट पुगेका थिए।
वीर अस्पतालको स्वास्थ्य केन्द्रबाट केही माथि डाँडा चढेर मन्त्री यादवले वरिपरिको जग्गा नियाले। वीर अस्पतालको स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारी र केही स्थानीय मन्त्री यादवलाई भन्दै थिए– यसअघि आएका मन्त्रीले तपाईँले जस्तो डाँडा चढ्नुभएको थिएन, आउनुभयो तलैबाट फर्किनुभयो। ‘आएपछि त डाँडामै चढेर हेर्नुपर्यो नि’ उकालो उक्लिँदै मन्त्री यादव भन्दै थिए।

सबैले उत्साहका साथ दिएको जग्गा अलपत्र पारिएको मन्त्री र न्याम्सका पदाधिकारीसमक्ष स्थानीयले गुनासो पोखे। यहाँका स्थानीयहरू पटक मन्त्रीलाई स्वागत गर्दागर्दा वाक्क भएको तर काम केही नभएको उनीहरूको गुनासो थियो।
स्थानीय कुमारी तामाङले मन्त्री र भिसी, रेक्टरहरू आउने र आश्वासन दिएर जाने मात्रै काम भएको गुनासो गरिन्। स्वास्थ्य केन्द्रमा सामान्य सेवा समेत नभएकाले स्थानीयलाई कुनै राहत नमिलेको उनले बताइन्। यहाँ सेवा नसुधार्ने, कुनै काम नगर्ने भए झिटीझ्याम्टा बोकेर जान भन्दै तामाङले आक्रोश पोखिन्।
वीर अस्पतालका निर्देशक सन्तोष पौडेलले यस ठाउँमा छिट्टै योजना सुरु गर्ने दावी गरे। यस परियोजनाका लागि धेरै काम भइसकेको र अब मुख्य योजना सुरु गर्ने बेला भएको पौडेले बताए। यसै वर्षबाट यहाँ एमबीबीएस कक्षा सञ्चालन हुने दावी उनले गरे।

न्याम्सका उपकूलपति डा.भूपेन्द्र कुमार बस्नेतले पनि एमबीबीएस कार्यक्रम सञ्चालनका लागि तुरुन्तै प्रिफ्याब भवन बनाइने बताए। बेसिक साइन्सका लागि भवन बनाएर यसै वर्षबाट एमबीबीएस कक्षा सुरु गर्ने डा.बस्नेतले पनि दोहोर्याए।
अहिलेका स्वास्थ्य मन्त्रीसँग धेरै आस रहेकाले अब स्थानीयहरू निराश हुनु नपर्ने उपकूलपति बस्नेतले बताए। आगामी २ वर्षमा ५०० बेडको अस्पताल समेत निर्माण गरिसक्ने दावी बस्नेतको छ।
स्थानीय समेत रहेका प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले वीर अस्पताल विस्तारका लागि आफूसहित यहाँका स्थानीयले सक्दो सहयोग गरिरहेको र अबका दिनमा पनि गर्ने प्रतिवद्धता जनाए।
जग्गा दिँदा जुन उत्साह थियो त्यो अनुसार काम नभएर स्थानीय निराश भएको श्रेष्ठले सुनाए। वीर अस्पतालले समयमा काम नगर्दा आफूले स्थानीयको गाली खाइरहेको पनि उनले गुनासो गरे।

यसै आर्थिक वर्षमा प्राप्त ८ करोड बजेटबाट जग्गाको सीमाना यकीन गरेर वरिपरि तारबाट लगाउने काम सुरु भइसकेको न्याम्सका पदाधिकारी तथा कर्मचारीहरूले जानकारी दिए।
आफूले जे बोल्यो त्यो गरेर छाड्ने मन्त्री यादवले बताए। वीर अस्ताललाई आफूले विशेष प्राथमिकतामा राखेको र छुट्याएको बजेटअनुसार दुवाकाेटमा काम छिट्टै सुरु हुने उनले जानकारी दिए।
वीर अस्पतालले सुरु गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा सुधार गर्न मन्त्री यादवले निर्देशक दिए। त्यसमा मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। यहाँ राम्रो सेवा दिन नसक्ने भए प्राथमिक स्वास्थ्य केन्द्र बन्द गर्न यादवले भने।

त्यसको सट्टा बरु स्थानीय स्वास्थ्य चौकीको स्तरोन्नति गरे स्थानीयलाई राम्रो सेवा दिन सकिने उनले बताए। संस्थाका अधिकारीहरूले काम नगर्दा गाली चाहिँ मन्त्री, सांसदले खानु परिरहेको मन्त्री यादवले गुनासो गरे।
तारबारको काम सुरु भए नभएको हेर्न आफू एकसाता १० दिनमा फेरि आउने उनले जानकारी दिए।
मन्त्रीलाई विदा गरिसकेर न्याम्स तथा वीर अस्पतालका अधिकारीहरूले तारबारको काम सुरु गर्ने तथा प्राथमिक स्वास्थ्य केन्द्रको सेवा सुधार गर्ने विषयमा छलफल गरेका थिए।
यहाँ कुनै परियोजना सुरु हुन्छ र स्वास्थ्य केन्द्रको सेवा सुधार हुन्छ भन्नेमा स्थानीयले भने विश्वास गरिरहेका थिएनन्। 'आज एकदिन रमझम हो। यस्तो कति पटक भयो-भयो केही हुनेवाला छैन', एक स्थानीय भन्दै थिए।

केदार गौतम
तपाईँको अभिमत