जलवायु परिवर्तनले न्यून आर्थिक अवस्था भएको जनसंख्या बढी मारमा छ : स्वास्थ्यमन्त्री यादव
जलवायु परिवर्तनले जनजीवनमा प्रतिकूल असर परेको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताउनुभयो । विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य सेवा विभागले गरेको कार्यक्रमलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्नुहुँदै जलवायु परिवर्तनले विशेषगरी निम्न आय भएको वर्ग बढी मारमा परेको बताउनुभयो ।
‘जलवायु परिवर्तन र अन्य प्रदूषणले गर्दा सफा हावामा स्वास लिन पाउने अधिकारबाट वञ्चित हुने अवस्था आएको छ’, उहाँले भन्नुभयो, ‘आर्थिक रूपमा पिछडिएका व्यक्ति, जोखिममा रहेका समुदाय, अपाङ्गता भएका व्यक्ति अल्पसंख्यक तथा अन्य विविध आवश्यकता भएका जनसंख्या बढी मारमा पर्ने गरेका छन् ।’
यस्तो अवस्थामा नेपालको संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने व्यवस्था सान्दर्भिक भएको मन्त्री यादवले बताउनुभयो । विभिन्न किसिमका चुनौतीहरूको सम्बोधन गर्न उहाँले सरोकारवालासँग सबै पक्षसँग आग्रह समेत गर्नुभयो ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेल आधारभूत स्वास्थ्यका बारे सबैलाई जानकारी दिन आवश्यक रहेको बताउनुभयो । जनचेतनामूलक कार्यक्रम गरी यसबारे जानकारी दिनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘हामी स्वास्थ्यका सबै विषय जान्न खोज्छौँ । तर आधारभूत स्वास्थ्य हामीलाई थाहा हुँदैन’, उहाँले भन्नुभयो, ‘यो कुरा शिक्षक अनि हामी जस्तालाई पनि सिकाउने कि हैन ?’
उहाँले सरकारले गरेका राम्रा कार्यक्रमहरूका जानकारी दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । बीमा कार्यक्रम, आधारभूत स्वास्थ्य सेवा, निःशुल्क औषधि लगायतका कार्यक्रमबारे जनतालाई जानकारी दिन नसक्दा प्रभावकारी कार्यान्वय हुन नसकेको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रकै व्यक्तिलाई जानकारी दिएर नहुने भन्दै अन्य क्षेत्रका आम मानिसलाई यसबारे जानकारी दिन मातहतका निकायलाई निर्देशन दिनुभयो । ‘अब हामी स्वास्थ्यका मान्छेलाई पढाएर भएन’, उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रका मानिस भन्दा बाहिर जानुपर्यो ।’

कार्यक्रममा सूचना विभागकी महानिर्देशक डा. सङ्गीता मिश्राले स्वास्थ्य सेवा समानतामा नभई समातामूलक पहुँच हुनुपर्ने बताउनुभयो । ‘समानता भनिरहेका छौँ । यो समानता होइन’, उहाँले भन्नुभयो, ‘समतामूलक हो । समानता शब्द नै छोड्नुपर्छ ।’
कार्यक्रममा ‘फेसबुक रिल’ प्रतियोगिताका उत्कृष्ट तीन जनालाई पुरस्कार प्रदान गरिएको थियो । रामानन्द चौधरी, रमेश धामी र करिश्मा केसी पुरस्कृत भएका हुन् ।
विश्व स्वास्थ्य दिवसका अवसरमा ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ नारामा आधारित जनचेतनामूलक रिल भिडियो प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा ३० जनाले सहभागिता जनाएका थिए ।
हेल्थपाटी
तपाईँको अभिमत