स्वस्थ्य शिशु, समृद्ध जीवन
बच्चा जन्माउनु जीवनको अदभुत आत्मतृप्तिको अनुभव पाउनु हो । सन्तानबाट जीवनमा आइपर्ने कुनैपनि दुख:को सोच नराखी आमाबाबु सन्तान जन्मको आनन्द लिन उत्साहका साथ तत्पर हुन्छन् । जन्म भनेको एक शिशु नयाँ संसारमा आउनु मात्र हैन, आमाबाबु समेत खुसीको नयाँ संसारमा प्रवेश गर्नु हो ।
यति बहुमूल्य मानिएको शिशु कुनै कारणबाट गुम्नगए आमाबाबु तथा परिवार मर्माहत हुन्छन् । त्यसैले हरेक गर्भवती र उनका परिवारले समस्यारहित प्रसूति र स्वस्थ्य बच्चा जन्मको आशा राखेका हुन्छन । यो पाउनु उनीहरुको नैसर्गिक अधिकार पनि हो ।
बच्चा र आमाको स्वास्थ्य विश्वभर सार्जजनिक स्वास्थ्यको एजेन्डा बनेको छ । किनकी नवजात शिशुको स्वास्थ्य अर्को पुस्ताको समृृद्धिसँग जोडिएको हुन्छ । जन्म आफैँमा जोखिमपूर्ण हुन्छ । जीवनको पहिलो मिनेट, पहिलो दिन, पहिलो हप्ता र पहिलो महिना शिशुका लागि क्रमशः जोखिमपूर्ण रहन्छ । यो समय आमाका लागि पनि संवेदनशील हुन्छ । त्यसैले जन्मलाई सुरक्षित बनाउन प्रसव अवस्था देखि नै गुणस्तरीय स्याहार अति आवश्यक हुन्छ ।
नेपालमा हरेक वर्ष ६ लाख शिशु जन्मन्छन् ती मध्ये ६००० मृत जन्मन्छन् । जन्मेको पहिलो दिन ६५०० शिशु मर्ने गरेको तथ्यांक छ । नेपालमा १७% शिशु जन्मेको पहिलो घण्टामा, ५७% शिशु जन्मेको पहिलो दिनमा र ७९% जन्मेको पहिलो हप्तामा मर्छन् ।
शिशु कम तौलको जन्मनु, जन्मदा निसासिनु, शिशुमा संक्रमण हुनु नवजात शिशु मृत्युका प्रमुख कारण हुन् । तर यी जोखिम उपचार तथा विधिबाट रोकथाम गर्न सकिने हुन्छन् । आमा बन्ने महिला शिक्षित भएमा, उमेर २० वर्ष पूरा भएपछि मात्र गर्भवती भएमा, बाल्यकालदेखि नै आमाले पोषिलो खाना खान पाएको भएमा जन्म दिने शिशु कम तौलको हुने सम्भावना कम हुन्छ ।
नवजात शिशु स्वस्थ राख्नका लागि गर्भवतीले अस्पतामा गुणस्तरीय सेवा प्रप्त गर्न पाउनुपर्छ । करिब एक दशक अघिसम्म नवजात शिशुको मृत्युको मुख्य कारण अधिकाशं महिला घरमै असुरक्षित तरिकाबाट सुत्केरी हुनु थियो।
हाल ६० प्रतिशत सुत्केरी प्रसूति अस्पतामा हुने गरेको तथ्यांक छ । यो संख्या सन् २००१ को तुलनामा चौगुणा वृद्धि भएको हो । यति ठूलो संख्यामा महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने भएपनि शिशु मृत्युदरमा भने सोचे अनुरुपको कमी आउन सकेको छैन ।
यसो हुनुको मुख्य कारण अस्पतालमा प्रवाह हुने मातृ तथा शिशु सेवाको गुणस्तरमा कमी नै हो । हरेक आमाले स्वास्थ्य संस्थमा प्रसव तथा प्रसूतिका बेला तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सेवा, आपतकालिन अवस्थामा व्यवस्थापन, सहयोगी वातावरण, स्वास्थ्यकर्मीबाट सकारात्मक र सम्मानजनक व्यवहार पाउनु जरुरी छ ।
गर्भवती अवस्था तथा सुत्केरी अवस्थाको स्याहरका लागि प्रसूति कक्षका स्वास्थ्य सेवा प्रदायकको ठूलो भूमिका हुन्छ । स्वास्थ्य संस्थामा प्रसूतिका बेला दिइने सेवामा सुधार नगरी मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउन सम्भव छैन।
गर्भावस्था तथा प्रसूतिलाई सामान्य रुपमा लिने चलन हाम्रो छ । तर हरेक गर्भ र प्रसूति अवस्था विशेष हुन्छ । नवजात शिशु तथा आमाको स्वास्थ्य रक्षाका लागि सोचमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ । स्वस्थ आमा, सुरक्षित जन्म, अत्यावश्यक शिशु स्याहार सेवा, माया दिने परिवार, सफा स्वच्छ घरको वातावरणले नवजात शिशुको स्वास्थ्यमा सकारात्मक योगदान पुर्याइरहेका हुन्छन् ।
सुरक्षित किसिमले जन्मन पाउनु, स्वस्थ भई बाँच्न पाउनु, तथा दुर्व्यवहार र भेदभावरहित सेवा पाउनु हरेक शिशुको जन्मसिद्ध अधिकार हो।
यिनै कुरालाई सम्बोधन गर्नका लागि नेपालमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । सुसार कार्यक्रम त्यस मध्येको एक हो ।
सुसार कार्यक्रमको मुख्य उद्देश्य मातृ तथा नवजात शिशु स्याहरको गुणस्तरमा सुधार ल्याउनु हो । गुणस्तरीय सेवा सुधार अन्तर्गत अस्पतालहरुमा प्रसूति वार्डका स्वास्थ्यकर्मीलाई मातृ तथा शिशु स्याहार सम्बन्धि ४ दिने तालिम प्रदान गर्दछ। यस तालिमले स्वास्थ्यकमीको ज्ञान तथा सीप अभिवृद्धि गरी शिशुको मृत्युदर कममा सहयोग पुर्याउँछ ।
प्रसव र नवजात शिशु स्याहारको गुणस्तर अभिवृद्धि गर्न सुसार कार्यक्रम अन्तरगत ‘मोयो’ तथा ‘नियोबिट’ नामक उपकरण प्रयोगमा ल्याइएको छ । मोयो गर्भको भ्रुणको ढुककढुकी जाँच गर्ने आधुनिक उपकरण हो । यसले भ्रुणको मुटुको चालबारे जानकारी लिन मद्दत गर्छ । स्वास्थ्यकर्मीलाई आमा र पेटमा रेहेको शिशुको स्वास्थ्य सुरक्षाका लागि समयमै सही निर्णय लिन मद्दत गर्दछ ।
साथै भ्रुणमा अस्वाभाविक मुटुको चाल देखिएमा भए सो को जानकारी अलार्म बजेर दिन्छ । जुन पिनार्डको प्रयोगले दिन सक्दैन ।
त्यस्तै नियोबिट शिशुको मुटुको ढुकढुकी पत्ता लगाउने उपकरण हो। यसको प्रयोगले जन्मनासाथ रुन नसकेका वा निस्सासिएका शिशुको शिघ्र उपचार तथा व्यवस्थापन गर्न सहयोग पुग्छ। यसका साथै बच्चा मृत जन्मिएको हो वा मुटुको चाल बाँकी छ भनी छुटाउन नसक्ने अवस्थामा यसले सही जानकारी दिइ अगाडि बढन सहयोग गर्दछ ।
मातृ तथा शिशुसेवा कक्षमा गुणस्तर सुधारका लागि सुसार अन्तर्गत अस्पतालका स्वास्थकर्मीले योजना-कार्य अध्यन तथा कार्यान्वयन बैठक आवधिक रुपमा गर्छन् ।
यी बैठकहरुमा स्वास्थ्यकर्मीले आफ्नो कामको स्वअध्ययन गरी समस्या पत्ता लगाउने र समाधानका उपाय निकाल्छन् र नवजात शिशु स्याहारको गुणस्तरीय सेवालाई कुनै बाधा बिना निरन्तरता दिन्छन् । तर गैरसरकारी संस्थाबाट सञ्चालन हुने यस्ता महत्वपूर्ण फलदायी कार्यक्रमले लामो समय निरन्तरता नपाउनु दुखको कुरा हो ।
आधानुनिक प्रविधिको विकासका कारण मानिसको औषत आयू दिनानुदिन बढदो छ । अबको ३०, ४० वर्षमा नेपालमा वयस्कको भन्दा वृद्धहरुको संख्यामा निक्कै नै बढी हुनेकुरा प्रष्ट छ।
संख्याको हिसाबले कम रहेका उत्पादनशील वयस्कहरुबाट ठूलो संख्यामा रहेका वृद्ध वृद्धाहरुको रेखदेख गर्नुपर्ने अहिलेको समयमा शिशु अवस्थादेखि नै गुणस्तरीय स्याहार सुसार गरी उनीहरुको मानिसिक शाररीक तथा वृद्धि विकासको अवस्था तन्दुरुस्त राख्न जरुरी छ । शिशुहरुको स्वास्थ राम्रो नभए राष्ट्रले ठूलो बोझ बोक्नुपर्ने कुरा स्पष्ट छ।
अन्त्यमा,
जन्म क्षतिपूर्ति हुन नसक्ने तथा फिर्ता गर्न नसकिने परिवर्तन वा उल्टाउन नमिल्ने पूर्वनिर्धारित अमूल्य उपहार हो । यो उपहार गुमाउनुको पीडा आमाबाबुका लागि असह्य हुन्छ । हरेक गर्भवतीले आफू बसोबास गरेको ठाउँ, आर्थिक अवस्था, परम्परागत संस्कृति स्वास्थ्य संस्थाको पहुँच आदिका कारण भिन्नरुपले सेवा पाइरहेका हुन्छन् ।
जो जहाँ रहेपनि गर्भवतीले गुणस्तरीय प्रसूति सेवा पाउन र जन्मेका शिशुले सेवाको अभावमा जीवन गुमाउन नपरोस् । यस विषयमा सरकार तथा स्थानीय अधिकारीको ध्यान पुर्याउनुका साथै स्वास्थ्य सेवामा लगानी गर्न अति आवश्यक छ । यसो भएमा मात्र स्वास्थ्य शिशु सम्मृद्ध जीवनको परिकल्पना साकार हुनसक्छ ।
हेल्थपाटी
तपाईँको अभिमत