बिरामी चाँडो निको हुनुमा नर्सको भूमिका महत्वपूर्ण हुन्छ (भिडियो)
नर्सहरूले बिरामीहरूसँग धेरै समय बिताएर चिकित्सा सेवा प्रदान गरिरहेका हुन्छन् । जसका कारण उनीहरुसँग बिरामीको स्थिति निगरानी गरेर समस्यालाई सही ढंगले सम्झने क्षमता पनि हुन्छ ।
बिरामीको उपचारको प्रगति र समीक्षा गरेर चिकित्सकलाई नर्सहरुले बताउँछन्। उनीहरूले बिरामीलाई उपचारमा केही समस्या आए यस सम्बन्धमा तुरुन्तै चिकित्सकलाई जानकारी गराएर उपचारमा परिवर्तन गराउन मद्धत गर्दछन् ।
बिरामीको चेतना, उपचारमा सहभागिता, र उच्च गुणस्तरको चिकित्सा सेवा प्रदान गरी नर्सहरूले बिरामी चाँडो निको हुनमा महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् ।
नर्सहरूले बिरामीहरूसँग सद्भावको व्यवहार गरि उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहयोग गरिरहेका हुन्छन् । नर्सहरूको जिम्मेवारी बहुमुखी छ र उनीहरूले सोही अनुरुप स्वास्थ्यसेवा प्रवाह गर्दछन् । यसरी सम्मानित र संवेदनशील रहेको नर्सिङ पेशाप्रति नेपालमा बेलाबखत नकरात्मक धारणाहरु प्रस्तुत हुने गरेको छ ।
यतिमात्रै होइन विभिन्न बाधा अवरोधको सामना गर्दै नर्सिङ शिक्षा पास गर्यो त्यसपछि जागिर पाउनै मुस्किल पर्दछ । स्वास्थ्य संस्थाहरुले नर्सको आवेदन माग्दा सबैभन्दा धेरै पिसिएल नर्सको माग गरिएको हुन्छ तर आवेदन दिनका लागि योग्य हुन अनिवार्य कामकोे अनुभव भएको हुनपर्ने सर्त तोकिदा भर्खरै पिसिएल पास गरेकाहरु बेरोजगार हुन परिरहेको र बिएन, एमएन गरेका नर्सहरुको पिसिएल नर्सको पोष्टमा काम गर्नपर्ने बाध्यता सृजना भएको व्यापक गुनासो आउने गरेको छ ।
नेपाल नर्सिङ काउन्सिलकी रजिस्ट्रार शुक्ला खनाल भर्खरै पिसिएल नर्सिङ पास गरेकाहरुलाई उनीहरुको योग्यता अनुसार जागिर खान अनिवार्य अनुभवको मापदण्ड तोकिनु कानून सम्वत नरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘स्नातक, स्नातकोत्तर गरेका नर्सहरुका सवालमा अनुभव माग्नु राम्रो हो तर भर्खरै नर्सिङ पास गरेकाहरुलाई जागिरका लागि आवेदन माग्दा कामको अनुभव अनिवार्य माग्नु उचित होइन ।’
‘नर्सिङ शिक्षा व्यवहारिक एवं प्राविधिक शिक्षा हो । उनीहरुलाई कक्षामा पढाउँदा देखिर्न वार्डदेखि आइसियुसम्मका बिरामीको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा सीप सिकाइएको हुन्छ । पिसिएल शिक्षादेखिनै उनीहरुलाई बिरामीको रेखदेख,औषधि उपचारबारे शिक्षा दिइन्छ । औषधि, उपचारबारे बिरामीलाई विश्वास दिलाउनसक्ने गरि कुरा गर्न सक्ने क्षमताको विकास पनि गराइएको हुन्छ,’ उहाँले प्रष्ट पार्नुभयो ।
साथै नर्सलाई हेप्ने, कार्यक्षमता साँघुरो रहेको लगायतका गुनासो पनि छ । नर्सको काम, कर्तव्य र जिम्मेवारीबारे गरिएको प्रश्नमा उहाँले एक नर्सको जिम्मेवारी डाक्टरले प्रिस्क्राइव गरेको औषधि समयमा औषधि खुवाउनेदेखि, बिरामीको अवस्था हेरि डाइपर फेरिदिने, रोगअनुसारका खानपीनका बारेमा बताउने, सरसफाइ, बिरामीसँग कुरा गर्ने लगायतका व्यवहारसम्म रहेको बताउनुभयो । बिरामी चाँडो निको हुनमा नर्सको भूमिका धेरै रहन्छ ।
उहाँका अनुसार फरक - फरक वार्डमा, फरक - फरक रोगका र उमेरअनुसार बिरामीसँग गर्ने व्यवहार पनि फरक हुन्छ । बिरामीलाई औषधि र उपचारप्रति विश्वास दिलाउन उनीहरुको भूमिका अतुलनीय रहन्छ ।
हामीले नर्सको काम, कर्तव्य जिम्मेवारी, जागिरका लागि आवश्यक पर्ने मापदण्ड लगायतका विषयमा नेपाल नर्सिङ ङ काउन्सिलकी रजिस्ट्रार शुक्ला खनालसँग कुरा गरेका छौं । उहाँसँग गरिएको कुराकानी हेल्थपाटीको युट्युव च्यानलमा भिडियोमा हेर्नसक्नुहुनेछ ।
तपाईँको अभिमत