कोरोना खोप : नेपालमा खोप खेर जाने दर १ प्रतिशतभन्दा कम

काठमाडौं । हाल नेपालमा पहिलो चरणमा कोरोना विरुद्धको खोप अभियान सकिएको छ । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.झलकशर्मा गौतमले पहिलो चरणमा ४ लाख १५ हजारलाई खोप लगाइसकिएको जानकारी दिनभुयो ।
उहाँका अनुसार खोप अभियान चलिरहँदा खोप खेर जाने दर अत्यन्तै न्यून रहेको छ । सावधानी र सचेतता अपनाउँदा अहिलेसम्मको अवस्था हेर्दा कोरोनाको खोप खेर जाने दर १ प्रतिशतभन्दा कम रहेको उहाँले बताउनुभयो ।
‘विश्वमा अन्य देशरुमा पनि खोप अभियान चलिरहेको छ । ती देशहरुको तुलनामा नेपालमा खोप अभियान व्यवस्थित रहेको विभिन्न ग्राफहरुले देखाइरहेका छन्, गौतमले भन्नुभयो,‘हाम्रो देशमा खोप खेर जाने दर एक प्रतिशत भन्दा कम रहेको छ जुन अन्य देशको भन्दा धेरै राम्रो अवस्था हो ।’ यसअघि नेपालमा खोप खेर जाने दर १० देखि १५ प्रतिशत रहेको थियो ।
खोप अभियान अन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, शव व्यवस्थापक, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयम्सेविका, कैदी, बृद्धाश्रममा रहेका व्यक्ति र उनीहरुको हेरचाहमा खटिएका व्यक्तिहरुलाई दिइएको थियो ।
दोस्रो प्राथमिकतामा पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, जनप्रतिनिधि, सरकारी कर्मचारी, बैंकका कर्मचारीहरुलाई खोप दिइयो । अब ५५ वर्षभन्दा माथिका व्यक्ति, जोखिम तथा अग्रपंक्तिमा रहेका दर्ता भएका औषधि पसलमा कार्यरत र प्रयोगशालामा काम गर्ने अन्य कर्मचारी तथा सफाइकर्मी,महाविद्यालय तथा विद्यालयका प्राध्यापक,शिक्षक तथा कर्मचारीहरु, सार्वजनिक यातायातमा चालक तथा सहचालकलाई पनि खोप दिने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ ।
फागुन २३ गतेदेखि दोस्रो चरणमा प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप दिइनेछ । त्यसका लागि सरकारले भारतसँग २० लाख मात्रा कोभिशिल्ड खरिद गरिसकेको छ जसमध्ये १० लाख मात्रा नेपालमा ल्याइसकिएको छ ।
अबको खोप कार्यक्रममा ४० लाखभन्दा बढीलाई खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । माघ १४ गतेबाट पहिलो चरणको खोप अभियान सुरु गरेको नेपालमा दोस्रो मात्रा लगाउन चैतको तेस्रो हप्तादेखि कार्यक्रम सुरु गर्ने तयारी छ ।
तपाईँको अभिमत